बेसीशहर– यो देशमा कथित राजनीति गर्ने र तीन तहको सरकार हाँक्नेहरू कवि नभएकै कारण देश भ्रष्टाचारको दलदलमा फसेको ठोकुवा लमजुङका वरिष्ठ पत्रकार एवम् साहित्यकार नवराज पहाडीले गर्नु भएको छ । प्याब्सन लमजुङको आयोजनामा यहाँ सञ्चालन गरिएको जिल्लास्तरीय मावि कविता प्रतियोगिताको समापन मन्तव्य व्यक्त गर्दै पहाडीले त्यस्तो साउन १२ गते बताउनु भएको हो ।
नेपाली साहित्यको श्रीबृद्धिमा निजी विद्यालय अर्गनाइजेसन(प्याब्सन) लमजुङले नयाँ दिशा दिने जमर्को गरेकोमा मुक्तकण्ठले प्रशंसा गर्दै उहाँले यस्तो सराहनीय कार्यको मूल्यांकन भोलिका दिनमा अवश्य नै हुनेछ भन्नुभयो । आफ्नो संक्षिप्त र सारगर्भित मन्तव्यका क्रममा पहाडीले कविता एवम् साहित्यको महत्वलाई नेताहरू नबुझेर साहित्यलाई अनुत्पादक हो भन्ने र भौतिक निर्माणलाई मात्र विकास ठान्ने प्रबृत्तीका कारण देशमा भ्रष्टाचार मात्र बढेको छैन, आत्महत्याका घट्नाले समेत विकराल रुप लिदै गरेको उहाँले उल्लेख गर्नु भयो । उहाँले कवि साहित्यकार आफैमा अनुशासित, नैतिकवान र इमान्दर हुने हुन्छन् त्यसैले नेताहरू कवि हुने हो भने भ्रष्टाचारसमेत कम हुन्छ भन्नुभयो ।
प्रतियोतिगामा भाग लिन आएका छात्रछात्राहरूको साहस, लेखनशैली, कवितामा व्यक्त भावनाको समेत प्रशंसा गर्दै पहाडीले साहित्य लेखक कार्यमा निरन्तर लागि रहन आग्रह गर्नु भयो । तपाईहरूको भविष्य उज्वल छ, लमजुङमा राष्ट्रियस्तरका कार्यक्रम विरलै हुन्छन् तर पनि आफूले त्यो प्रयास गरेको र आफूले नेतृत्व गरिआएको ठाडोभाका लोककला प्रतिष्ठान नेपालले यसै वर्षदेखि राष्ट्रव्यापी कविता प्रतियोगिताको आयोजना गर्ने भएको जानकारी दिदै, त्यो प्रतियोगिता सकेसम्म वर्षै पिच्छे र त्यो हुन नसकेमा एक वर्ष विराएर निरन्तर गरिने छ योजना छ, ती कार्यक्रममा वितरण हुने पहिलो दोस्रो पुरस्कार जित्नेगरी आजैदेखि तयारीमा रहनका लागि पनि आग्रह गर्दछु भन्ने त्यसका लागि पनि तपाईहरूले लेखनलाई निरन्तरता दिन जरुरी छ र निरन्तर लेख्नु होला भन्दै सहभागीहरूलाई उत्प्रेरित गर्नु भएको थियो । उहाँले आमाका बारेमा धेरै लेखिएको छ, तर बाबाका बारेमा कमै लेखिएको पाइन्छ हामीले त्यो काम किन नगर्ने भनेर ‘मेरो बाबा’ शीर्षक चयन गरेका हौं भन्दै यति राम्रो काम गर्ने प्याब्सन लमजुङ बधाईको पात्र छ र यो कार्यको जत्ति प्रशंसा गरेपनि थोरै हुन्छ, यो कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सबैमा कृतज्ञता अर्पण गर्दछु पहाडीले भन्नुभयो । उहाँले प्रतियोगितामा सबै एकसे एक कविता भएका कारणले मूल्यंकन गर्न आफूहरूलाई निकै कठिन भयो, .५ र एक अंकले मात्र फरक परेको जानकारी दिँदै नतिजा समेत घोषणा गर्नु भएको थियो ।
उक्त प्रतियोगितामा निर्णायकहरूलाई आयोजकबाट विभिन्न सात शीर्षक दिन भनिएको थियो । ती शीर्षकमा गोलाबाट कविताको शीर्षक छनौट गर्न लगाई प्रतियोतिगामा सहभागी छात्र र छात्रालाई भिन्न– भिन्न शीर्षकमा एक घण्टाको समय दिएर तत्कालै लेख्न लगाइएको थियो । कविता लेख्नका लागि छात्राहरूका लागि ‘मेरो बाबा’ र छात्रहरूलाई ‘मेरो लमजुङ’ शीर्षक परेको थियो । उनीहरू क्रमशः १२ र ११ जनाले भाग लिएका थिए ।
प्रतियोगितामा छात्रातर्फ सदीक्षा घिमिरे अर्थ्ली प्याराडाइज आमावि पहिलो, स्वेततारा गुरुङ भूपू सैनिक आमावि बेसीशहर दोस्रो र सगुन अधिकारी ल्याण्डस्टार आमावि तेस्रो भएका थिए । त्यस्तै छात्रतर्फ पहिलो हुनेमा अमृत गुरुङ भूपू सैनिक आमावि बेसीशहर, प्रतीक अधिकारी मनकामना आमावि दोस्रो र प्रताप घिमिरे हिमचुली आमावि तेस्रो भएका थिए । प्रतियोगितामा सुन्दरबजारदेखि खुदीसम्मका विद्यालयहरू सहभागी थिए भने राइनार नगरपालिका र मध्यनेपाल नगरपालिकाका विद्यालयहरू अनुपस्थित रहेका थिए ।
प्याब्सन लमजुङका उपाध्यक्ष ईश्वर पौडेलको अध्यक्षतामा भएको उक्त कविता प्रतियोगिता उहाँले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु हुँदै व्याब्सनको पात्रो अनुसार बर्षे विदा पछिको पहिलो कार्यक्रम भएको जानकारी दिनुुभएको थियो । प्याब्सन लमजुङका सचिव विमल अधिकारीले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । सो अवसरमा प्याब्सन लमजुङका कोषाध्यक्ष विनोद गुरुङ, सदस्य प्रमोद अधिकारीलगायत विद्याविकास आमावि, भूपूसैनिक आमावि, ल्याण्डस्टार आमावि, न्यूइरा आमावि, मनकामना आमाविका प्रिन्सिपलहरू आफै उपस्थित भएर उक्त कार्यक्रमको गरिमा बढाउने काम गर्नु भएको थियो भने अर्थ्ली प्याराडाइज आमाविसहित केही विद्यालयका सहायक प्रिन्सिपलहरूको सहभागिता रहेको थियो ।
उक्त कविता प्रतियोगिताको निर्णायकमा द्वय वरिष्ठ पत्रकार एवम् साहित्यकार नवराज पहाडी तथा मातृभूमि बहुमुखी क्यापस सहप्राध्यापक एवम् कवि अर्जुन घिमिरे हुनुहुन्थ्यो । कवि घिमिरेले प्रतियोगिताको मूल्यांकन विधिका बारेमा प्रकाश पार्नु भएको थियो ।
प्राविस्तरीय कम्प्युटर टाइपिङ प्रतियोगिता :
यसैगरी, सो अवसरमा प्राविस्तरीय कम्प्युटर टाइपिङ प्रतियोगिता पनि गरिएको थियो । सो प्रतियोगितामा छात्रतर्फ हिमचुली आमाविका सुगम भण्डारी पहिलो, भूपू सैनिक आमावि भोटेओडारका दक्ष गुरुङ दोस्रो र विद्याविकास आमाविका सुलभ अधिकारी तेस्रो भएका थिए । यसैगरी छात्रातर्फको प्रतियोगितामा हिमचुली आमाविका रिकिस कैनी पहिलो, अथर््ली प्याराडाइज आमाविका आरिसा श्रेष्ठ दोस्रो र भूपू सैनिक आमावि भोटेओडारका सुभा घिमिरेले तेस्रो स्थान हासिल गर्न सफल भएको प्याब्सन लमजुङका सचिव विमल अधिकारीले जानकारी दिनु भयो ।
प्रकाशित मिति २०८० श्रावण १४, आईतवार ०६:२६ गते