लमजुङ– हिजो पञ्चायतकालमा जिल्ला पञ्चायतको सभापति भएका, पटक पटक माननीयका लागि चुनाव लडेका व्यक्ति पनि ‘महान जुवाडे’को सूचिमा अंकित थिए । आजका केही नेताबाट पनि त्यस्तो सिको हुँदै आएको छ । त्यस्तै हिजोआज पनि केन्द्रमा भ्रष्टाचार वा तस्करी मुद्दामा के कस्तो विधि र प्रक्रियाबाट मुद्दा चलाउने गरिएको छ । यो जिल्लाको प्रहरीले त्यस्तो कार्यमा नक्कल गर्यो त के विरायो ? भन्ने प्रायः हरेक काण्डमा सुन्ने र आंकलन गर्ने गरिन्छ । तर पुष्ट्याइँको आधार भने खासै भेटिदैन । आशंकाका आधार भने प्रशस्त भेटिन्छन् ।
लमजुङमा प्रहरीले साउन १९ गते (त्यो दिनको कार्यालय समय सकिएको) पनि किनै बेर पछि(पत्रकारहरू प्रहरीबाट आधिकारिक सूचना नआउने भो ! भन्ने एकिन गर्दै आफ्नो स्रोत उपयोग गर्दै धमाधम समाचार बनाएर अन्तिम रुप दिदै गर्दा प्रहरीको सूचना प्राप्त) सार्वजनिक गरेबाट लमजुङको प्रहरी के कति पारदर्शी छ भन्ने आंकलन गर्न कठिन हुँदैन । पाठक वर्गलाई थाह भइसकेको छ कि त्यो काण्ड हो– जुवा ।
घट्नास्थल समेत फरक बताउन पर्नुको कारण ? :
प्रहरीले जुवा खालको रकम मात्र गोलमाल गरेको नभई घट्नास्थल समेत फरक बताउने काम गरेको छ । घट्ना स्थल मर्स्याङदी गाउँपालिका– ९ सिम्पानी क्षेत्र(पामचोक) हो, घनपोखरा त वडानं– २ मा पर्छ तर प्रहरीले जुवाको घट्ना स्थल ‘मर्स्याङदी गाउँपालिका– ९, घनपोखरा’ उल्लेख गरेको छ किन ?
नेपाल प्रहरीले कालोलाई सेतो र सेतालाई कालो बनाउन पञ्चायतकालमै दक्षता हासिल गरेको हो । उसको त्यो सीपमा सशस्त्र द्वन्द्वकालले झनै मलजल गर्ने मौका दियो । आजका दिनमा पनि प्रहरी त्यस्ता घृणित कार्यबाट बिमुख हुन सकेको छैन । आजका दिनमा पनि प्रहरीकोमा पहुँच बिनाका सर्वसाधारण मानिसका कुरा सुनुवाई हुने वातावरण बन्न नसकेको बेलाबखत हामीले लेख्दै आएका छौं, कति घट्ना त हामीसम्म पनि आउँदैनन् ।
हिजो सार्वजनिक घट्नामा जुवाडेहरू किन झुक्किए र जनप्रतिनिधि किन उम्किए ? त्यो प्रश्न पनि निकै पेचिलो छ । अन्यथा जुवाडेहरू पनि पुलिसको आँखा कान छल्न सिभिल पुलिस जस्तो ठाउँ ठाउँमा आफ्ना मान्छे अर्थात सुराकी नखटाउने गर्दैनन् र त्यो दिनमा पनि नखटाएका पनि होइनन् । तर हुने हुनामीलाई कसैले टार्न सक्दैन भनिन्छ ।
त्यो जुवाको खालको तामझाम तथा संख्याले पनि त्यहाँ खालमा पाँच लाख रुपैयाँ मात्र थियो भन्ने भुक्तभोगीहरू पत्याउँदैनन् । सो खालका एक प्रत्यक्षदर्शीले नाम नछाप्ने सर्तमा भने, ‘१५ लाख र केही हजार रुपैयाँ त पटक पटक गनिएको थियो । तर, प्रहरीले त एक तिहाई मात्र देखायो, यतिसम्म पनि गर्दो रहेछ प्रहरीले ! यसअघि यस्तो गरिन्छ भन्ने सुनेको थिएँ, ऐले त आफ्नै आँखाले देखें ।’
हुन त यसअघिका जुवाका यस्ता घट्नामा पनि खालमा भेटिएका सबै पैसा सार्वजनिक हुने नगरेको जुवाडेहरूले पटक– पटक बताउने गरिआएका छन् ।
ऐले केन्द्रमा सुन काण्ड बहुचर्चित छ । त्यो काण्डमा पनि ७५० केजी सुन आएको तर एक सय केजी मात्र बरामद गरिएको भनिएको छ । त्यो सुन चार गाडी(ट्याक्सी)मा ओसारिएको र पछिल्लो ट्याक्सी मात्र पक्राउ परेको भन्ने स्रोतको दावी छ । स्रोत भन्छ, ‘त्यसरी पक्रिएको सुन पनि एक सय केजी भन्ने किटान के कसरी हुन सकेको हो ? सय केजी सुन त्यति छिटो जोखिन्छ ? त्यो ९९ वा १०१ केजी पनि हुन सक्थ्यो नि ! सय केजी नै ठ्याक्कै किन ? त्यसैले पनि त्यो परिणाम हचुवाका भरमा भनिएको हो ।’
आशंकाको घेरामा प्रहरी गतिविधि, समाचार भनेको फेसबुकले दिने सूचना जस्तोमात्र पनि हुँदैन :
लमजुङमा १८ गते साँझ भएको जुवाको त्यो घट्नाका बारेमा एकादुई सञ्चारमाध्यमले सोही दिन समाचार लेख्न भ्याएका थिए । कति सञ्चारमाध्यमले घट्ना थाहा पाएर पनि पुष्टि हुन नसक्दा लेख्न सकेनन् । समाचार भनेको फेसबुकले दिने सूचना जस्तोमात्र पनि हुँदैन । भोलिपल्ट विहान एकपछि अर्को गर्दै दर्जन बढी सञ्चारमाध्यममा त्यो खबर आयो । तर नाम भने कसैले दिन सकेनन् । त्यसको कारण थियो, पक्राउ गरेका केही व्यक्ति पहुँचवाला हुनु र उनीहरूको नाम सार्वजनिक गर्न प्रहरीले नचाहनु ।
प्रहरी प्रमुखको दक्षतामा प्रश्न :
विगतका घटनामा भने यसरी नाम र ठेगाना गोप्य राख्ने प्रचलन थिएन । त्यसैले पनि वर्तमान प्रहरी प्रमुखको दक्षता यस घट्नाबाट थप उजार भएको छ । जुवा(कौडा)
अघिल्लो दिन राती ८ बजे पक्राउ परेका २२ जना जुवाडेको भोलिपल्ट पनि अबेर जिल्ला प्रशासन कार्यालययबाट ७ दिनको म्याद थप गरेपछि मात्र प्रेस विज्ञप्ति पत्रकारहरूलाई पठाउने काम भयो । तर त्यसमा जुवाडेको न ठेगाना छ न त उमेर खुलेको छ । यसअघि त उमेर समेत जनाउने प्रचलन थियो । यस प्रकार उमेर र ठेगाना गोप्य राख्न पर्नु के कारण भने प्रहरीले पुष्टि गरेको छैन । तर अन्तरङ्गले लमजुङका जुवाडेहरूको पालिका र बाहिरका जुवाडेहरूको जिल्ला उल्लेख गरिसकेको छ ।
प्रहरीको विज्ञप्ति अनुसार जुवा खालबाट पाँच लाख ७० रुपैयाँ र १६ थान कौडा बरामद गरिएको उल्लेख छ । सो विज्ञप्तिमा भनिएको छ, ‘पक्राउ पर्नेहरूमा धनबहादुर तामाङ, मिनराज तामाङ, सुजन तामाङ, मेघराज तामाङ, सहदेव गुरुङ, शिव गुरुङ, भरतकुमार श्रेष्ठ, निर्माण घिमिरे, बिरेन्द्र राउत बरै, देबेन्द्र लामा, दान बहादुर कुमाल, राजन सुयल, रामबहादुर गुरुङ, धनबहादुर गुरुङ, राजेश थापा, दामोदर घिमिरे, अखिल रिमाल, बिष्णु बहादुर अधिकारी, नबिन गुरुङ, काले तामाङ, तकबहादुर गुरुङ र सानुबाबु तामाङ रहेका छन् ।’
त्यसो त प्रहरीले उम्काएको भनिएका जनप्रतिनिधिको बारेमा पुष्टि हुन सकेको छैन । तर पनि यो घट्नाले जनप्रतिनिधिले किन आफ्नो पदीय हैसियत वा जिम्मेवारी र कर्तव्यको ख्याल गर्दैनन् ? भन्ने नैतिक प्रश्न भने फेरि उदाङ्गो भएको छ ।
प्रकाशित मिति २०८० श्रावण २०, शनिबार ०६:५२ गते