काठमाडौँ– कुनै दिन काँग्रेसका शक्तिशाली नेता मानिएका पूर्वमन्त्री गोविन्दराज जोशीलाई सर्वोच्चले भ्रष्टाचारी ठहर गरेपछि तोकिएको जेल भोग्ने तयारीमा पुगे पनि अदालतद्वारा फिर्ता
गरिएको छ । गत साउन १३ गते सर्वाेच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेपछि जोशी भदौको पहिलो साता फैसला कार्यान्वयन गर्न भन्दै सर्वाेच्च पुगेका थिए ।
तर फैसलाको पूर्णपाठ तयार नभएका कारण उनलाई सर्वोच्चले फर्काएको हो । त्यसो त जोशी फैसलाको थियो एक महिना नपुग्दै सर्वोच्च पुगेका हुन् । सर्वाेच्चेमा फैसलाको पूर्णपाठ तयार गर्न कम्तीमा ६ महिना लाग्छ भन्ने थाहा हुँदैहुँदै पनि अधिवक्ता समेत रहेका उनी किन एक महिना नपुग्दै सर्वोच्च पुगे ? त्यो भने रहस्यमय छ ।
उनको मुद्दा गत साउन १३ गते सर्वोच्चमा फैसाल भएको थियो । पूर्णपाठ तयार नभएसम्म उनको फैसला कार्यान्वयनको आधार तयार हुन सक्दैन । सोही कारण सर्वाेच्च प्रशासनले उनलाई फर्काउन बाध्य भएको थियो ।
आफूलाई सर्वाेच्चले ९ महिना कैद र बिगोसमेत तोकेर फैसला सुनाएपछि जोशी थुनामा बस्ने भन्दै अदालत पुगेको स्रोतको भनाइ छ । स्रोतका अनुसार जोशीले भदौको पहिलो साता सर्वाेच्च अदालतको मुद्दा फाँटमा पुगेर आफू कहाँ गएर थुनामा बस्ने हो ? भन्ने प्रश्न गरेका थिए ।
विशेष अदालतको फैसला विरुद्ध जोशीले सर्वोच्चमा पुनरावेदन दिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेषले उनलाई दोषी ठहर गरेको थियो । विशेषले आय गणना गर्दा गलत पद्धति अपनाएको भन्दै जोशीले सर्वाेच्चमा पुनरावेदन गरेका थिए ।
विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले २०६९ साउन १० मा जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको थियो । जोशीले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जफत र त्यति नै रकम जरिवाना हुने फैसला भएको थियो ।
तर सर्वाेच्चले जोशीको सोही मुद्दामा ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैदको फैसला सुनाएको छ । जसको पूर्णपाठ आउन बाँकी छ । सर्वाेच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो ।
सर्वाेच्चले विशेषको फैसलामा केही उल्टीसमेत गरेको थियो ।
हालसम्म पूर्ण पाठ नआएको सर्वाेच्च अदालतका प्रवक्ता अच्युत कुईकेलले बताउनु भयो । उहाँका अनुसार दोषी ठहर भएको व्यक्ति अदालत उपस्थित भएकोबारे आफूले टिप्पणी गर्न मिल्दैन । सर्वाेच्चले छिटै पूर्णपाठ सार्वजनिक गर्ने अनि फैसला कार्यान्वयनमा लैजाने उनको भनाइ छ ।
सर्वाेच्चले यतिेबेला जोशीको मुद्दाको पूर्णपाठ तयार कार्यलाई निरन्तरता दिइरहेको छ ।
प्रकाशित मिति २०८१ भाद्र १२, बुधबार ०८:२५ गते