आयोजक संस्थाका अध्यक्ष पहाडीले लायन्सको नाममा कृष्णरुपि भगवानहरू सुधामाको घरमा आएर आफूहरूलाई शिविर सञ्चालनको यो अवसर प्रदान गर्नु भएकोमा खुशी व्यक्तगर्दै सबै सहयोगी दाताहरूको प्रशंसा गर्नु भयो ।
लमजुङमा २५ वर्षपछि पहिलो पटक क्यान्सरको स्क्रिनिङ विशिर सञ्चालन गरिएको हो ।
सुन्दरजवार(लमजुङ)– लमजुङको ग्रामीण क्षेत्रका महिलाहरू आजका दिनमा पनि लाजले रोग पालेर बस्ने तर कसैलाई नभन्ने स्थिति फेला परेको छ । लमजुङको सुन्दरबजार नगरपालिका– ६ मा सञ्चालन गरिएको निःशुल्क दुई दिने क्यान्सर र आँखा शिविरका उपचारका क्रममा आएका महिलामा त्यस्तो समस्या देखिएको हो । शिविरका आउनु भएकी वरिष्ठ स्त्री एवम् क्यान्सर रोग विशेषज्ञ डा. सुशीला वैद्यले त्यस्तो जानकारी मंसिर २२ गते दिनु भएको हो ।
नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा लमजुङको आयोजना, लायन्स इन्टरनेशनल ३२५– ई काठमाडौंको प्राविधिक एवम् औषधि सहयोग तथा HDCS– नमूना सामुदायिक अस्पतालको व्यवस्थापन सहयोगमा सो निःशुल्क दुई दिने शिविर यहाँ स्थित सोही अस्पतालको हातामा सञ्चालन गरिएको हो । दुई दिने शिविरमा गाइनोको समस्या लिएर आउने महिलाको संख्या २४५ रहेको डा. वैद्यले बताउनु भयो । उहाँका अनुसार केही महिलामा आजका दिनमा पनि लाजले आफ्नो जटिल समस्या(रोग) पनि लुकाएर बस्ने तर नभन्ने रहेको पाएँ । ‘त्यसमध्ये एक जना दुर्गम गाउँ दोर्दीबाट आएको करिब ६० वर्ष उमेरकी महिलाको पाठेघर खसेर हिड्न पनि नसक्ने अवस्था रहेछ ।’ उहाँले भन्नुभयो, ‘सुरुमा उनले मलाई पनि भन्न लजाइन्, उनको अप्ठेरो मैले बुझी हालेँ । पाप लाग्छ भन्दै थिइन्, उनलाई सम्झाई बुझाई गरेर रिङ राखेर पठाइदिएँ ।’
ती महिलाको मुत्रासयमा रिङ राख्नका लागि समाजसेवी एवम् अनुसन्धानकर्मी विन्दू शर्माले आर्थिक सहयोग गर्नु भएको आयोजक अर्बुद रोग निवारण संस्थाका कोषाध्यक्ष तैमाया गुरुङले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अझै पनि दुर्गम गाउँघरका पत्यारै नलाग्ने खालाको महिलाहरूले पनि रोग पालेर बसेको देखियो ।’ त्यसैले पनि यस्तो शिविरमा महिला डाक्टर नै चाहिन्छ भनेर हामीले जोड गरेका थियौं, भयो नै यस्तो सेवाको काम गर्न पाउँदा जिन्दगीमा थोरै मात्रामा मिल्ने खुशी धेरै लागेको कोषाध्यक्ष गुरुङ भन्नुभयो ।
लेजरथेरापिष्ट एवम् नेशनल क्यान्सर हस्पिटल जावलाखेलका संस्थापक निर्देशक डा. सुशीला वैद्यले १७ जनाको पोलिप अर्थात पाठेघरमा मासु पलाएको फेला परेको बताउनु भयो । उनीहरूलाई थप उपचारका लागि छिट्टै थप जाँच गर्न सल्लाह दिइएको छ । उहाँका अनुसार गाउँघरमा आँग खस्ने समस्याले ग्रस्त भएका १० जना महिलाहरू उपचारका लागि आएका थिए ।
सो शिविरमा २ सय ४५ जनाको क्यान्सर स्क्रिनिङ र ४ सय ९ जनाको आँखाको उपचार गरिएको अर्बुद रोग निवारण संस्थाका सल्लाहकार एवम् उक्त शिविरको काठमाडौंमा व्यवस्थापन कार्य गर्ने रामबाबु अधिकारीले बताउनु भयो । उहाँका अनुसार शिविरमा आँखाका बारेमा नेत्ररोग विशेषज्ञ विनयकुमार घिमिरे र नेत्र सहायक अर्जुन गुरुङले आँखा परीक्षण एवम् उपचार सेवा दिनु भएको थियो । उहाँले भन्नुभयो, ‘उक्त शिविरमा बिरामीहरूलाई आबश्यक औषधि र चश्मा निःशुल्क वितरण गरिएको थियो ।’ नेत्ररोग विशेषज्ञ घिमिरेले आँखा उपचारका लागि आएका ४ सय ९ जनामध्ये २३ जनाको मोतियाविन्दूको शल्यक्रिया गर्नु पर्ने देखिएको जानकारी दिनु भएको छ ।
उनीहरूको काठमाडौंमा शल्यक्रियाका लागि निःशुल्क प्रवन्ध गरिएको आयोजक संस्थाका उपाध्यक्ष शोभा ठकुरीले जानकारी दिनु भयो । उहाँका अनुसार लमजुङमा २५ वर्षपछि पहिलो पटक क्यान्सरको स्क्रिनिङ विशिर सञ्चालन गरिएको हो । समापनमा प्रशंसापत्र वितरण :
उक्त शिविरको अन्त्यमा एक औपचारिक समापन कार्यक्रमका साथ विदाई गरिएको थियो । सो अवसरमा सहयोग दाता संस्थाहरूका साथै सहयोग गर्ने व्यक्तित्वहरूलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख अतिथि चिफ मेम्बरसिप रिटेन्सन लायन विमलेश्वरप्रसाद प्रधान र सभाध्यक्ष एवम् आयोजक संस्थाका सभापति नवराज पहाडीले प्रशंसापत्र वितरण गर्नु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रधानले लायनको मूल नारा र भावना अनुसार सोचेभन्दा राम्रो परिणाम दिने गरी शिविर सम्पन्न गर्न सक्दा गर्वको अनुभव भएको छ भन्नु भयो । उहाँले यस्तो सेवाको उत्कृष्ठ काम तथा सहकार्यले भोलिका दिनमा निरन्तरता दिइने छ भन्नुभयो ।
कार्यक्रमका विशेष अतिथि एवम् अर्बुद रोग निवारण संस्था लमजुङ शाखाका सल्लाहकार रामबाबु अधिकारीले सुन्दरबजारलाई आफूहरूले स्वास्थ्यको हव बनाउनेतर्फ अग्रसर भएको भन्दै गाउँघरमै सम्पन्न भएको जस्तो शिविरका माध्यमबाट यो खालको स्तरीय सेवा उपलब्ध हुनु यस क्षेत्रका लागि गौरवपूर्ण कार्य भएको बताउनुभयो । अधिकारीले भन्नुभयो यसकार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नेहरू सबै धन्यवादका पात्र हुनुहुन्छ । हामी उत्पादन कार्यलाई परिणाम मुखी बनाउने दीर्धकालीन योजनाको खोजीमा आफूहरू रहेको समेत जानकारी उहाँले दिनुभयो ।
अर्बुद रोग निवारण संस्थाका जिल्ला सल्लाहकार एवम् HDCS– नमूना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले लमजुङमा बेलाबखतमा आँखाको शिविर सञ्चालन हुने गरेको भएता पनि क्यान्सरको शिविर २०५५ सालपछि पहिलोपटक सञ्चालन भएको जानकारीमा आएको छ भन्दै शिविर उपलब्धीपूर्ण रह्यो भन्नुभयो । उहाँले सबैको प्रयास र सहयोगमा आफू प्रमुख रहेको यस अस्पतालामा सञ्चालन गरेर शिविर सफल बनाउन पाएकोमा खुशी व्यक्त गर्नु हुँदै सम्बद्ध सबैप्रति आभारी रहेको उल्लेख गर्नुभयो ।
आयोजक संस्थाका सभापति नवराज पहाडीले २६ वर्षको अन्तरालमा लमजुङमा क्यान्सरको पहिलो पटक परीक्षण गरिएको जानकारी दिदै संयोग वा नियति के भनुँ ! त्यो बेलमा पनि आफ्नै नेतृत्वमा शिविर बेसीशहरमा सञ्चालन भएको थियो भने आजका दिनमा पनि त्यो अवसर आफूलाई प्राप्त भएकोमा हर्षित बनाएको उहाँले जानकारी दिनु भयो ।
उहाँले २०५५ सालमा रहरले र आज बाध्यता जस्तो स्थितिमा शिविर आयोजना गरिएको छ भन्दै कारण अर्बुद रोग निवारण संस्था लमजुङ शाखाको सभापतिका नाताले ‘पद काम गर्नका लागि लिनु पर्छ’ भन्ने धारणा रहेको हुँदा काम गर्ने सन्दर्भमा यो शिविरको आयोजना गरिएको हो भन्नुभयो । उहाँले नेपालमा पद लिने तर पद अनुसारको जिम्मेवारी, कर्तव्य र दायित्व भने बिर्सने वा ननिभाउने प्रवृत्तिले गर्दा देश पछि परिरहेको हो भन्दै आफूलाई त्यस्तो प्रवृत्तीलाई दुरुत्साहित गरी अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।
अर्को एक प्रसङ्गमा उहाँले लायन्सको नाममा कृष्णरुपि भगवानहरू सुधामाको घरमा आएर आफूहरूलाई शिविर सञ्चालनको यो अवसर प्रदान गर्नु भएकोमा खुशी व्यक्तगर्दै सबै सहयोगी दाताहरूको प्रशंसा गर्नु भयो । उहाँले सम्पन्न शिविर लमजुङको क्यान्सरको इतिहासका कोशेढुंगा हुने समेत उल्लेख गर्नु हुँदै यो शिविरमार्फत थालिएको सहयात्राको क्रमलाई कार्यक्रमका प्रमुख अतिथि प्रधान र आफ्नो जीवन रहँदासम्म निरन्तरता दिनेछौं भन्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
शिविरमा स्वयम्सेवाका लागि आएका विद्याज्योति मावि खहरेका जुरेसका अनुपम गौलीले दुईदिनसम्म सेवा गर्दा पाएको अनुभव सुनाएका थिए ।
यसैगरी अर्बुद रोग निवारण संस्था लमजुङ शाखाका सल्लाहकार एवम सयपत्री आमाविका प्रिन्सिपल ज्ञानेन्द्र शर्माले धन्यवाद मन्तव्य व्यक्त गर्र्नु भएको शिविरको समापन नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखाका सभापति नवराज पहाडीको अध्यक्षतामा भएको हो ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..