दुराडाँडा कला साहित्य प्रतिष्ठानको तेश्रो साधारण सभामा विविध कार्यक्रम

दुराडाँडा कला साहित्य प्रतिष्ठानको तेश्रो साधारण सभामा विविध कार्यक्रम

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण १८ गते आईतबार ०६:२५

कवि साहित्यकार एवम् बुद्धिजीवी यस संस्थाकी वरिष्ठ आजीवन सदस्य शान्ता अधिकारी घिमिरेले पुरस्कार को सौजन्य गर्नुभएको थियो । उहाँ हाल अमेरिकामा रहनु भएको छ ।

७२ वर्ष सम्मका जेष्ठनागरिक तथा कलिलो उमेरका बालबालिकाले पनि कविता सुनाएका थिए ।

दुराडाँडा– लमजुङको ऐतिहासिक थलो यहाँ स्थित दुराडाँडा कला साहित्य प्रतिष्ठानको तेस्रो साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । डाक्टर विजयराज न्यौपाने प्रमुख आतिथ्यतामा फागुन १६ गते सो सभा गरिएको हो ।
कार्यक्रममा विशेष अतिथिमा सुन्दरबजार नगरपालिका– ३ का वडाध्यक्ष अमृत न्यौपाने साहित्यकार युवराज घिमिरे हुनुहुन्थ्यो । उक्त साधारण सभामा प्रावि तथा माविस्तरीय कविता प्रतियोगिता, पुस्तक विमोचन, शुभकामना मन्तव्य व्यक्त लगायतका कार्यक्रम समेत गरिएको थियो ।
सभाको उदघाटन गर्नु हुँदै प्रमुख अतिथिले ७२ वर्ष सम्मका जेष्ठनागरिक तथा कलिलो उमेरका बालबालिकाले पनि कविता सुनाएकोमा खुशी लागेको बताउनु भयो ।
सो अवसरमा अध्यक्ष दिपेन्द्र घिमिरेको ‘धरोहर’ नामक पुस्तक प्रमुख अतिथि डाक्टर विजयराज न्यौपानेबाट लोकार्पण भयो । साहित्यकारबाट उक्त पुस्तकको एक कविता पण्डित तोयनाथको स्मृतिमा शीर्षक भएको कविता साहित्यकार शारदा विश्वरालले वाचन गर्नुभएको थियो ।
कार्यक्रम सर्वोदय माविको र सुन्दरबजार नगरपालिका– ३ को सहयोगमा सुसम्पन्न भएको हो । आयोजक संस्था दुराडाँडा कला साहित्य प्रतिष्ठान, सहआयोजक सुन्दरबजार नगरपालिका– ३ चन्द्रेश्वर र सहयोगी संस्था सर्वोदय माविले गरेको उक्त कार्यक्रममा १३० जनाको सहभागिता थियो । कविता प्रतियोगितामा प्रावि र मावि गरी सात विद्यालयका विद्यार्थीहरू भाग लिएका थिए ।
‘दुराडाँडाको सान कला साहित्यको पहिचान’ भन्ने शीर्षकमा गरिएको माविस्तरीय कविता प्रतियोगितामा संस्कृति सदन माविकी छात्रा सुजना भुजेल पहिलो भइन् । दोस्रो हुनेमा सर्वोदय माविकी आयुषा केसी थिइन् । त्यस्तै, तेस्रो पुरस्कार आदर्श मावि सुन्दरबजारकी छात्रा अपेक्षा गौलीले जितिन् । यसैगरी सान्त्वना स्थान हासिल गर्नेमा पाणिनी संस्कृत माविका उब्जन भट्टले जितेको निर्णायक समितिका संयोजक युवराज घिमिरेले बताउनु भयो । उहाँका अनुसार सोही अवसरमा गरिएको प्राविस्तरीय कविता प्रतियोगितामा शिक्षा सदन प्राविकी दिव्या घिमिरेले पहिलो, शान्ति सिर्जना प्राविका राजीव खनाल दोस्रो तथा पाणिनी संस्कृत माविका कविराज दाहाल तेस्रो भए भने सर्वोदय माविकी सुजिता जैरुले सान्त्वना स्थान हासिल गरी पुरस्कृत भए । प्रतियोगिताका विजेता मावितर्फ पहिलोलाई एक हजार पाँच सय, दोस्रोलाई एक हजार, तेस्रोलाई छ सय रुपैयाँ तथा सान्त्वना स्थान हासिल गर्नेलाई दुई सय रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै, प्रावितर्फ पहिलोलाई एक हजार दुई सय, दोस्रोलाई आठ सय, तेस्रोलाई पाँच सय रुपैयाँ तथा सान्त्वना स्थान हासिल गर्नेलाई दुई सय रुपैयाँ प्रदान गरिएको आयोजकको भनाइ छ ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष एवम् साहित्यकार युवराज घिमिरेको संयोजकत्वको निर्णायक समितिमा साहित्यकार लक्ष्मीप्रसाद मिश्र र शारदा बिसुराल सदस्य हुनुहुन्थ्यो ।
कवि साहित्यकार एवम् बुद्धिजीवी यस संस्थाकी वरिष्ठ आजीवन सदस्य शान्ता अधिकारी घिमिरेले पुरस्कार को सौजन्य गर्नुभएको थियो । उहाँ हाल अमेरिकामा रहनु भएको छ । पुरस्कारका लागि उहाँले सात हजार पाँच सय यस संस्थालाई हस्तान्तरण गर्नु भएको हो । उक्त पुरस्कार रकम उहाँकै दाजु नारायण अधिकारीको हातबाट वितरण गरिएको थियो ।
सो अवसरमा सर्वोदय माविका पूर्वप्रधानाध्यापक वासुदेव खनियाले पनि कविता वाचन गर्नुभएको थियो । यसैगरी, प्रतिष्ठानका संस्थापक शिवराज कोइराला, पुष्पराज अधिकारी, कमला दुरा लगायतले कविता तथा गीत सुनाएर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष दिपेन्द्र घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरू ठाकुर तिवारी, जगन्नाथ न्यौपाने, महेन्द्र अधिकारीका अतिरिक्त प्रतिष्ठानका पदाधिकारीहरू बुद्धिजीवीहरू लगायत उपस्थिति थियो । वडाका सम्पूर्ण प्रतिनिधिहरूकोसमेत उपस्थिति थियो भने धेरै शिक्षक तथा विद्यार्थीहरूको सहभागिता थियो ।
सोही विद्यालयका पूर्वशिक्षक जगन्नाथ न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको सञ्चालन सर्वोदय माविका शिक्षक सुकराम विकले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ फाल्गुन १८, आईतवार १८:२५ गते
हजुरको प्रतिक्रिया