बेसीशहर– पूर्वराजाको पुनस्थानार्थ राजावादीका नाममा गरिएको प्रदर्शनका क्रममा सहभागी समर्थकहरूको अराजक समुहले गराएको हिंसात्मक घटनामा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै लमजुङका पत्रकारहरूले कालोपट्टी बाधेर काम थालेका छन् । महासंघको केन्द्रद्वारा घोषित कार्यक्रमलाई सघाउ पुर्याउने उद्देश्यले जिल्लाका पत्रकारहरूले आ– आफ्नो कार्यकक्षमा कालोपट्टी बाधेर चैत १७ गते काममा खटिएका हुन् ।
पत्रकार रजकको हत्याको विरोधमा उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै पत्रकार महासंघ लमजुङका संस्थापक अध्यक्ष तथा अन्तरङ्ग न्यूजडटकमका अध्यक्ष एवम् अन्तरङ्गका सम्पादक नवराज पहाडी, जिल्ला अध्यक्ष सन्देश पौडेल, रेडियो मस्र्याङदीमा कार्यरत पत्रकार लागयत जिल्लाका पत्रकारहरू सो हत्या काण्डको विरोधमा हातमा कालो पट्टी बाधेर विरोधका उत्रदै आफ्नो दैदिक काममा संलग्न भएका हुन् ।
यसैबीच, नेपाल पत्रकार महासंघको अगुवाइमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोधका कार्यक्रम जारी राखिएको हो ।
शुक्रबार पूर्वराजा समर्थकहरूको समूहले गरेको आन्दोलनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन रजकको शव जलेको अवस्थामा भेटिएको थियो । सो क्रममा पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले पत्रकारको जिउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकारहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले मृतक पत्रकार रजकलाई न्याय दिलाउन महासंघ निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
उक्त विरोध प्रदर्शनमा पत्रकार महासंघका पूर्व अध्यक्षहरू तारानाथ दाहाल, धर्मेन्द्र झा, शिव गाउँलेलगायतको सहभागिता थियो । विरोधका कार्यक्रममा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर नेपालका नेताहरूले पत्रकार रजकलाई न्याय दिन र उनका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नु भएको थियो ।
बदलिएको परिस्थितिमा महासंघ स्थापना दिवसका अवसरमा तगारी गरिएका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको महासंघका केन्द्रिय कोषाध्यक्ष रामकृष्ण अधिकारीले बताउनु भयो । उहाँका अनुसार पत्रकार महासंघको उपलब्ध केन्द्रीय सदस्यहरूको आकस्मिक बैठक बसेर थप संघर्षका कार्यक्रम तय गर्ने र सञ्चार तथा सूचनाप्रविधिमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाउनेलगायका कार्यक्रम महासंघले गर्ने भएको छ ।
महासंघद्वारा हत्याको विरोधमा आन्दोलनका थप कार्यक्रम तय :
बैठकले शनिबार क्षति पु¥याइएका सञ्चारगृहको अनुगमन र घाइते सञ्चारकर्मी र सञ्चार सामग्रीको विवरण संकलन गर्ने, आइतबार कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्ने, सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ज्ञापन–पत्र बुझाउने र सरोकारवाला संगठनहरूसँग छलफल गर्ने निर्णयसमेत गरेको छ ।
यस्तै मारिएका पत्रकार सुरेश रजक सम्बद्ध सञ्चारगृह, उनको परिवारसँग छलफल गरी प्रतिवेदन तयार पार्न उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुली सदस्य रहेको समिति गठन गर्दै आन्दोलनका थप कार्यक्रम अवस्थाको विश्लेषणपछि तय गर्ने उल्लेख गरेको छ ।
र्चैत १५ गते राजावादीको नाममा भएको प्रदर्शनका क्रममा सहभागी अराजक समुहले लगाएको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको, विभिन्न मिडिया हाउसमा आगजनी र तोडफोड गरिएको, पत्रकार घाइते भएको र सञ्चाार सामग्री हराएको घटनाको विरोधमा महासंघले देशव्यापी विरोध प्रदर्शन गरेको हो ।
प्रकाशित मिति २०८१ चैत्र १७, आईतवार १७:०३ गते