मानव जीवन नै एउटा उत्कृष्ट अनुभव हो । यस अनुभव शब्दमा नै आनन्द लुकेको हुन्छ । जस्तै मानिस जन्मन्छ र मर्छ । जन्मदेखि मृत्युसम्म नै मानिसले सबै कुराको अनुभव गर्दै आएको हुन्छ । उदाहरणको लागि एउटा बच्चा जन्मिन्छ, उसले आफ्नो बाल्यकाल किशोर अवस्था आफू बुवा– आमा भएको अवस्था वृद्ध भएको अवस्थाको अनुभव गरेको हुन्छ । सबै प्राणीको आफ्नो भोगाइ र अनुभव हुन्छ । कसैको भोगाइ र अनुभव दुःखको हुन्छ भने कसैको सुखको हुन्छ । धेरैजसो मानिसहरूको भोगाई दुःखबाट सुरु भएर सुखमा अन्त्य हुन्छ । दुःखपछि सुख आउँछनै ।
नेपालको गण्डकी प्रदेश अन्तर्गत लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका– ६ मा स्थित के.सी. परिवारमा जन्मेकी म । बुबा राजकुमार के.सी. र आमाको कृष्णकुमारी के.सी.को जेठी सुपुत्री । हाम्रो जम्मा चार जनाको परिवार छ । हुनत सबैको आफ्नो आफ्नो बाल्यकालको अनुभव हुन्छ । तर मेरो भने छुट्टै खालको अनुभव छ । चार बुवाहरूको सबभन्दा जेठी सन्तानको रूपमा के.सी. परिवारमा जन्मेकी म मेरो वाल्य अवस्था माया– मायामै डुबेर बित्यो । सानो छँदा साथीभाइहरूसँगै खेल्ने डुल्ने रमाइलो गर्ने र सानो हुँदा गरेको राम्रो र नराम्रो कामको यादले अहिले छुट्टै आनन्द र त्यो बेलाको छुट्टै खालको अनुभवको झल्को दिलाउँछ ।
जस्तै साथीभाइहरूसँग गुच्चा खेल्ने, लुकामारी खेल्ने खोलामा जाने, वनभोजमा जाने इत्यादि । बाल्यकालपछि किशोर अवस्थाको अनुभव पनि बेग्लै थियो । छोरी भएकी हुँदा आफूमा आएको परिवर्तनको अनुभव र त्यसबेला आफ्नो आमा– बुवाले दिएको संस्कारको अनुभवको पनि छुट्टै आनन्द थियो । मेरो आमा– बुवाले दिएको संस्कारले गर्दा मैले आफ्नो बाटो कहिल्यै पनि बिराइन र नराम्रो काममा पनि लागिन पनि । आफ्नो पढाइ सँगसँगै आफ्नो व्यवहारिक अनुभव पनि मैले युवा अवस्थामा नै धेरै बटुल्ने मौका पाएकी थिएँ ।
पढाईमा अब्बल दर्जाको विद्यार्थीको दर्जामा नपर्ने म मेरो पढाई फरक खालको थियो । सामाजिक कार्यमा स्नातक तह प्रथम श्रेणीमा उत्तीर्ण गरेँ । यही क्रममा मानवताको मन्दिर (मानवसेवा आश्रम लमजुङ जिल्लाको आश्रममा) जोडिन पुगेको थिएँ । पहिलो चरणमा म मानवताको मन्दिरमा प्रवेश गर्दा साच्चिकै पवित्र मन्दिरमा प्रवेश गरेको जस्तो लागेको थियो । हुनत मन्दिरहरू पवित्र नै हुन्छन् तर यस मानवताको मन्दिर झन् पवित्र तीर्थस्थलको रूपमा अनुभव गरेँ। लमजुङ जिल्लाको एक मानवताको मन्दिरमा एकदम अलग किसिमको थियो, छ । जहाँ मनरोगी बुबा– आमाहरू लक्ष्मीनारायण) आश्रित हुनुभएको थियो ।
मानवताको मन्दिरमा मलाई पहिलोपटक प्रवेश गर्दा एक खालको सकारात्मक प्रभावको अनुभूति हुन गयो । ममा भएका नकारात्मक ऊर्जाहरू नष्ट हुँदै गए । बुवा– आमासँगको (लक्ष्मी नारायण) रमाइलो क्षणको अनुभव मनोमञ्जन गराएको अनुभव, नाचेको र नचाहेको अनुभव बुवा– आमासँग मिठो कुराकानी गरेको र उहाँहरूको जीवनको मीठो र तीतो यथार्थका भलाकुसारी उहाँहरूलाई सेवा गरेको अनुभूति गर्दै मैले मानवसेवा आश्रममा धेरै अनुभव गर्न पाए । यस मानवताको मन्दिरबाट मैले धेरै ज्ञानका कुराहरू पनि सिक्ने मौका पाएँ । जस्तै मानवताको मन्दिरमा ज्ञान हस्तान्तरण कार्यक्रम, personal transformation program, motivational program, महायज्ञहरू इत्यादि कार्यक्रम हुन्छ । जसमा मैले चाहिँ ज्ञान हस्तान्तरण कार्यक्रम, पर्सनल ट्रान्सफर्मेसन कार्यक्रम महायज्ञमा सहभागी हुने मौका पाए र यस्तो राम्रो र पवित्र कामको अनुभव गर्न पाएँ ।
त्यसपछि म आफ्नो पढाईलाई निरन्तरता दिनको लागि काठमाडौँ गए । केही समयको अन्तरालपछि म फेरि यस मानवताको मन्दिरमा जोडिन आएँ । पहिला लमजुङमा म स्वयंसेविकाको रुपमा सेवा गरेको थिए भने अहिले कर्मचारीको रुपमा सेवामा जाडिएको छु । सेवाको क्रममा म मानवसेवा आश्रम गोरखा शाखामा सेवाको लागि पुगेको थिए । अन्य शाखाहरू भन्दा छुट्टै गोरखा शाखामा बाबुनानी(बालगोपाल)हरू हुनुहुँदो रहेछ । बुवा– आमासँगको(लक्ष्मीनारायण) अनुभवपछि मैले बच्चाहरूको अनुभव लिन पाएसँगसँगै मैले प्रशासनिक सेवाको पनि अनुभव लिए । बच्चाहरू भनेको जिउँदो भगवान हुन् । जिउँदो भगवानसँग रमाउन पाउँदा मलाई साँच्चिकै भगवानसँग नै छु जस्तो महसुस भएको थियो ।
बच्चाहरूको रुवाई बच्चाहरूको कराई बच्चाहरूको त्यो मिठो बोलीमा पनि झगडा माया त्यो बानीले मलाई छुट्टै अनुभव गराएको थियो । आमा शब्द आफैमा एउटा महान शब्द हो । जसलाई कुनै पनि शब्दले व्याख्या गर्न सकिँदैन । जसमा मैले यो महान शब्द अनुभव गर्न पाए । श्रीकृष्णले भन्नुहुन्छ कि ! जन्मदिने आमाभन्दा कर्म दिने आमा महान हुन् भनेर त्यो अनुभव मैले त्यस पवित्र मन्दिरमा पाए । बच्चा भनेको भगवानको रूप हो । यस्तै बच्चाहरूलाई चोटपटक लाग्दा आफू पठाए मामु भन्दै रुएको र उहाँ उनीहरूको पीडाको आफूलाई पनि अनुभूति भएको अनुभवको छुट्टै हुँदो रहेछ ।
बच्चाहरूको मसँगको मीठो मीठो पलको थोरै मात्र अनुभव छ । आश्रममा सेवा गरुञ्जेल आफूसँग सुत्छु भनेर एकअर्कासँग मीठो झगडा गरेको आफूलाई भने छुट्टै आनन्दको अनुभूति आउँदो रहेछ । उहाँहरूले मप्रति देखाएको माया र आत्मीयताको आनन्द छुट्टै दिँदो रहेछ । हुन त आमाको माया र ममताको तुलना नै गर्न सकिँदैन तर पनि जन्मदिने आमा र कर्म दिने आमा अरुको बीचमा तुलना हुँदो रहेछनै । उहाँहरूलाई गराइएको बालक्रियाकलापले पनि मिठो सम्झना बोकेको छ । उहाँहरूको सहभगिता र सिकाइएको ज्ञानको क्रियाकलाप गराउन पाउँदा मलाई छुट्टै खालको अनुभूति भएको थियो । हुन त बच्चाहरू एकदम जिज्ञासु हुने गर्दछन् तर त्यस मन्दिरको बच्चाहरूमा भएको जिज्ञासाको भावना देख्दा म आफै पनि चकित भएको थिएँ । कसरी किन कहाँ केबाट उनीहरूको जिज्ञासा सुरु हुन्थ्यो र मैले पनि त्यसैगरी उहाँहरूलाई त्यो जिज्ञासाको कुराहरू विस्तारमा बताइदिन्थे ।
मैले त्यस मानवताको मन्दिरबाट धेरै कुराको अनुभव लिन पाएँ । धेरै कुरा पनि सिक्न पाएँ बच्चाहरूसँग कसरी माया र ममताले जित्न सकिन्छ र कसरी बुवा– आमाहरूसँग पनि माया र ममताले जित्न सकिन्छ भन्ने कुराहरूको ज्ञान भयो । भनिन्छ संसारिक माया एक मोह हो भनेर तर मायाबाट नै कति जना मनरोगीहरूको (बुबा–आमा) सुधार भएको छ र कति जनालाई पूर्ण मिलन पनि भएको भने यस मानवताको मन्दिरबाट अनुभव गर्न पाएँ । ‘खुसी खोज्न काहीँ जानु पर्दैन खुसी आफै भित्र छ, आफू खुसी त जगत खुसी ।’ जसको केही छैन त्यसको भगवान छ भन्थे हो रहेछ । माया र ममताको महान शब्दको गहनरूपमा अनुभव गर्न पनि पाएँ । साँच्चिकै मैले यस मानवताको मन्दिरमा जिउँदो भगवानको दर्शन पाएँ ।
जय मानवसेवा ! जय मानवता !!
सुन्दरबजार नगरपालिका– ६, लमजुङ ।
प्रकाशित मिति २०८१ चैत्र २८, बिहीबार २१:०५ गते