
दाङ– लुम्बिनी प्रदेशकी पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी नेतृ विमला वलीले पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ । पार्टीले आफूलाई न्याय नदिएको भन्दै उहाँले पार्टी परित्यागको घोषणा एकसाता अघि गर्नु भएको हो ।
उहाँले माओवादी केन्द्र दाङका संयोजक सुवास पुनलाई राजीनामा पत्र बुझाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी गत माघ २४ गते दिनु भएको हो ।
उहाँले आफ्नो राजीनामा पत्रमा लेख्नु भएको ‘पार्टीले मूल्याङ्कन नै गर्न सकेन, केन्द्रीय कमिटीको त कुरै छाडौँ जिल्ला कमिटीमा समेत राखिएन । यस्तो अवस्थामा पार्टीमा बसिरहन उपयुक्त देखिनँ, अब कुनै पार्टीमा पनि लाग्दिनँ ।’
गुनासो शैलीमा उहाँले राजीनामा पत्रमा लेख्नु भएको छ, ‘मैले लुम्बिनीमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउन ठूलो भूमिका खेलेँ । तर पार्टीले मलाई सापट दिएको पैसा माग्न जाँदा राज्यमन्त्रीबाट राजीनामा दिन बाध्य गरायो ।’
माओवादी केन्द्रले केन्द्रीय र वैकल्पिक केन्द्रीय समितिसहितको सूची टुङ्गो माघ २२ गते लगाएको थियो । त्यसमा मात्रै नभएर जिल्ला कमिटीमा समेत आफूलाई नराखिएको उहाँको तिब्र गुनासो छ ।
उहाँका श्रीमान् तत्कालीन सांसद उत्तरकुमार वलीको निधनपछि सोही ठाउँमा भएको उपनिर्वाचनमा नेकपाका तर्फबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित हुनु भएको हो । दाङ ३ ‘ख’ बाट निर्वाचित हुनु भएकी उहाँ नेकपा विघटनपछि माओवादी केन्द्र रोज्नु भएको थियो ।
उहाँले माओवादी रोजेपछि शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको थियो । त्यसपछि माओवादी नेतृत्वमा सरकार बनेको थियो । उहाँ माओवादी केन्द्रका कुलप्रसाद केसी नेतृत्वको सरकारमा राज्यमन्त्री बन्नु भएको थियो । राज्यमन्त्री हुँदा उहाँ विवादमा तानिनु भएको थियो । घरभित्र पसेर कुटपिट गरेको आरोप उहाँउपर लाग्यो । त्यसपछि उहाँलाई राज्यमन्त्रीबाट हटाइएको थियो ।
उहाँले आफ्नो राजीनामा पत्रमा माओवादीले ठूला अपराधमा संलग्न भएकालाई संरक्षण गरे ता पनि आफूले सापट दिएको रकम माग्दा राजीनामा गराएको भन्दै असन्तुष्टिसमेत व्यक्त गर्नु भएको छ ।
प्रकाशित मिति २०७९ फाल्गुन १, सोमबार १९:२७ गते