
गोरखा– यहाँको एक क्याम्पसका प्रमुखले ‘कथित जनयुद्ध मुर्दावाद’ भन्ने स्टाटस सामाजिक सञ्जालमा लेखेपछि कर्यकक्षमै कुटपिट भएको छ । गोरखाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दवाडीमाथि फागुन २ गते हातपात भएको हो ।
जनयुद्धको सन्दर्भमा दवाडीले सामाजिक सञ्जालमा पोष्ट गरेको अभिव्यक्तिलाई लिएर अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइका विद्यार्थीहरूले बिहान उहाँको कार्यकक्षमै गएर उहाँमाथि हातपात गरेका हुन् ।
दुवाडीले ‘कथित जनयुद्ध शब्दलाई वैधानिक दृढता गर्ने वर्तमान सरकार मुर्दावाद’ भन्ने अभिव्यक्ति दिएको भन्दै १२ घण्टाभित्र सार्वजनिक रुपमा माफी माग्न माग गरेका विद्यार्थीले क्याम्पस प्रमुखकै कार्यकक्षमा प्रमुखमाथि हातपात गरेको बताइएको छ ।
सो क्याम्पसका इकाई अध्यक्ष अनिष अर्याल नेतृत्वमा क्याम्पसमा पुगेका केही युवाहरूले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेको टेबलसमेत तोडफोड गरेको क्याम्पस प्रशासनले बताएको छ ।
सो घटना बारेमा प्रतिक्रिया दिदै क्याम्पस प्रमुख दवाडीले भन्नुभयो, ‘म एउटा द्वन्द्व पीडित, मैले सामाजिक संजालमा क्याम्पस प्रमुखको हिसाबले भन्दा पनि आफ्नो निजी विचार राखेको थिए, त्यही विषयलाई लिएर उनीहरूले म माथि आक्रमण गरे ।’
उहाँका अनुसार इकाइ अध्यक्ष अर्यालसँग आएका अन्य युवाहरू क्याम्पसका विद्यार्थी होइनन् ।
दुवाडीले सामाजिक सञ्जालमा पोष्ट गरेको अभिव्यक्तिको विरोधमा अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइले अघिल्लो दिन राती विज्ञप्तिसमेत जारी गर्दै विरोध गर्दै माफी माग्नु पर्ने उल्लेख गरेको थियो ।
प्रकाशित मिति २०७९ फाल्गुन ३, बुधबार ०६:१० गते