कृति परिचय : कुमारी ! साहित्यकार डिल्लीजङ गुरुङको आठौँ कृतिको रुपमा प्रकाशित

कृति परिचय : कुमारी !  साहित्यकार डिल्लीजङ गुरुङको आठौँ कृतिको रुपमा प्रकाशित

गोविन्दबहादुर कुँवर

@antaranganews

२०८० असार १० गते आईतबार ०८:०४

उपन्यासको कथामा दुई कुमारी नारी छन् । एउटी अठाह्र वर्षको उमेरमै अर्थशास्त्रमा स्नातकोत्तर गरेकी शिक्षित युवती चम्पा । उनको रजस्वला भइसकेको हुँदा तात्कालीन समाजले उनलाई अस्विकार गरेको कारण कुमारी नै रहन्छिन् ।
र, अर्की सात वर्षकी विधवा जसको विहे भएको केही समय पछि नै उनका वृद्ध पतिको निधन हुन्छ र उनी पनि कुमारी नै रहन्छिन् ।

कुमारी उपन्यासले तात्कालीन समाज व्याप्त अन्धविश्वास, नारी माथिको थिचोमिचो र बाल विवाह, अनमेल विवाह र विधवाहरू माथि समाजले थोपरेको विभेद र कठोर यतनाको दुुरुस्त चित्रण गरेको छ ।

साहित्यकार डिल्लीजङ गुरुङको आठौँ कृतिको रुपमा २०७८ सालमा ‘कुमारी’ उपन्यास प्रकाशित भएको पाइन्छ । यसको सम्पादन बौद्धिक व्यक्तित्व उपप्रा ज्ञाननिष्ठ ज्ञवालीले गर्नु भएको छ । यस कृतिको प्रकाशक कविका कनिष्ठ पुत्र मेजर गोपाल गुरुङ हुनुहुन्छ । कृतिको सुन्दर आवरण कला, कलाकार सविज्ञा ज्ञवालीले तयार गर्नु भएको छ ।
पृष्ट : ५५+५ को कुमारी उपन्यसको भौतिक मूल्य रु ११५।– रहेको छ ।
 प्रकाशक कवि पुत्र मेजर गोपाल गुरुङ (एम.बि.इ)बाट पिताश्री
डिल्लीजङ गुरुङ र माता अमलाकुमारी गुरुङमा कृति समर्पित गर्नुभएको छ ।
विद्वान् उपप्रा ज्ञाननिष्ठ ज्ञवालीले ‘मर्मस्पर्शी जीवनको कलात्मक प्रस्तुति शीर्षकको सम्पादकीयमा कृतिको परिचय दिदैँ लेख्नुभएको छ, ‘उपन्यासकार गुरुङद्वारा २०१७ सालमा रचिएको कुमारी गद्यपद्य मिश्रित नारी समस्या प्रधान अध्यात्मकेन्द्रीत उपन्यास हो ।’
उहाँले उपन्यासको बिषयबस्तु र विशेषताको सटिक विश्लेषण गर्नुभएको छ ।
‘प्रकाशकीय’मा कवि पुत्र गोपाल गुरुङले भन्नुभएको छ, … … मैले मेरा स्वर्गीय पिताजी श्रद्धेय डिल्लीजङका  अप्रकाशित कृतिहरू डिल्लीजङ गुरुङ समुच्चय (२०६३) र डिल्लीजङ  गुरुङ समुच्चय (२०७६) प्रकाशन गरेका थिएँ । यति खेर संयोगवश २०७८ भाद्रको कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनमा पिताजीको ‘कुमारी’ उपन्यासलाई छुट्टै प्रकाशन गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको छु ।
‘मेरो भन्नु’मा उपन्यासकार गरुङले ‘कुमारी’ लेखिनुको पृष्ठभूमि बताउँदै भन्नुभएको छ, ‘यदि सामजले दुईटी नारी कुमारीलाई पढेर यत्किन्चित् मात्र भए पनि मनोभावना बदलेर, प्रगतितिर लम्किदिनु भयो भने मेरा काल्पनिक सपना विपना बन्ने छन् । … … किनकि म न्यायको पक्षमा निः स्वार्थ बोलिरहनेछु र लेखिरहनेछु ।’
उपन्यासको कथामा दुई कुमारी नारी छन् । एउटी अठाह्र वर्षको उमेरमै अर्थशास्त्रमा स्नातकोत्तर गरेकी शिक्षित युवती चम्पा । उनको रजस्वला भइसकेको हुँदा तात्कालीन समाजले उनलाई अस्विकार गरेको कारण कुमारी नै रहन्छिन् ।
र, अर्की सात वर्षकी विधवा जसको विहे भएको केही समय पछि नै उनका वृद्ध पतिको निधन हुन्छ र उनी पनि कुमारी नै रहन्छिन् ।
कुमारी उपन्यासले तात्कालीन समाज व्याप्त अन्धविश्वास, नारी माथिको थिचोमिचो र बाल विवाह, अनमेल विवाह र विधवाहरू माथि समाजले थोपरेको विभेद र कठोर यतनाको दुुरुस्त चित्रण गरेको छ ।
पद्य खण्डबाट उद्धृत केही मर्मस्पर्शी पद्यांशहरू–
मृतु तुल्य भै, सड्नु पर्छ, रे !
नियम भ· क्यै गर्नुहुन्न रे !
युग छ यो नयाँ स्वर्ण काल छ,
नव विकाशको मार्ग साफ छ ।
तर सबै अन्धभाव ती,
कदम चाल्दछन् भेदमात्र ली
पुरु जातिकै मात्र न्याय रे !
नियम त्यै अरे धर्म त्यै अरे !
समयको छ रे आज माग यै,
हक छ एउटै आऊ लौ सबै
प्रगति मार्गमा भेद के छ र
अब उठौँ सबै छैन क्यै डर ।।
(३४, ३५, ३६)
नियतिले रचे स्त्री र मर्द यै,
हक छ एउटै छैन भेद क्यै
मुफत गर्दछन् भेदभाव यो,
जड समाजको निच काम हो !
शिशु उमेरमै बिक्तछन् कतै,
वय अमेलमा पुग्दछन् कतै
रज भई भनी दोष दी कतै,
युवति सड्दछन् व्यर्थमा कठै
पति मरी कति बालकालमै,
जुग बिताउँछन् अन्धकारमै
कहीँ त साठीका साथ सातकी,
भइ बिहा कठै मिल्छ आपति
 (४२, ४३, ४४)
हक समान होस् न्याय एक होस्,
नियम धर्ममा भिन्नता नहोस् !
अनि त बन्छ यै स्वर्ग नन्दन,
मधुर प्रेममा वित्छ जीवन ।
रज र वीर्यको पक्क कालमा,
सम वयष्कमा प्रेम भावमा
हुनुविवाह नै जन्म सार हो,
यही समानको मुख्य धर्म हो ।
(७७,  ७८)
(पद्य खण्डमा १०५ श्लोक छन्, उपजाति +इन्दिरा सुन्दरी छन्दमा ।)
कविका प्रकाशित कृतिहरू निम्न छन् :
१. कपिल गीता, २. लाँकुरी ३. प्रेमोपहार ४. तुलसीकृत रामायण ५. डिल्लीजङ गुरुङ समुच्चय ६. डिल्लीजङ गुरुङ समुच्चय (भाग २)
‘लाँकुरी’ कवि डिल्लीजङको चर्चित खण्डकाव्य हो ।
००००००
कवि डिल्लीजङको लागि सरकार तथा सरकारी प्रतिष्ठानबाट कुनै काम भएको मलाई जानकारीमा छैन । जे जति काम भएको छ कविको परिवार र जनस्तरबाटै भएको छ ।
परशुराम धितालबाट त्रि विको शोधपत्रको रुपमा कवि डिल्लीजङ गुरुङको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन भएको थाहा पाउँदा खुसी लाग्यो । (श्रोतः गुगल)
यसलाई थप विस्तार र  परिमार्जसहित प्रकाशनको चाँजो मिलाउन सके ओझेलमा परेका सशक्त कवि डिल्लीजङलाई सबैले चिन्ने अवसर  प्राप्त गर्ने थिए !
यस्तो सार्थक कार्यमा मस्र्याङदी वाङ्मय प्रतिष्ठानको ध्यान जानसके उत्तम हुने थयो । हुन त प्रतिष्ठानका प्राथमिकतामा अरु नै बिषयहरू होलान्, हुन सक्छन् !
वि सं २०४४ सालमा तात्कालीन साहित्यिक संस्था दूधपोखरी प्रतिभा परिवार र कविका परिवार जनहरू समेतको आयोजनामा त्रिभुवन मा.वि. घनपोखरामा भव्य साहित्यिक समारोह भएको थियो, कवि डिल्लीजङ स्मृति समारोहको रुपमा । सो अवसरमा हामीलाई कविका पाण्डुलिपी पनि हेर्ने अवसर प्राप्त भएको थियो । कविले आफ्ना कृतिहरूलाई भूमिका सहित प्रकाशनको तयारी अवस्थामा राख्नु भएको हामीले देखेका थियौँ ।
सो अवसर कवि पत्नी अमलाकुमारी गुरुङ पनि हुनुहुन्थ्यो । कविका ज्येष्ठ पुत्र पूर्व रा.पं.स. मुनिन्द्रजङ गुरुङले समारोहको संयोजन गर्नुभएको थियो ।
प्रकाशित मिति २०८० असार १०, आईतवार २०:०४ गते
हजुरको प्रतिक्रिया