बेसीशहर– लमजुङमा ड्युटीमा रहेका डाक्टरमाथि हातपात गर्ने बेसीशहर नगरपालिका– ७ का वडाध्यक्ष ऋषिराम बस्नेतका विरुद्ध पाँच दिनका लागि अनुसन्धान गर्न म्याद थप भएको छ । उनका विरुद्धमा पिडित डा. सन्दिप अधिकारीले सार्वजनिक स्वास्थ्य ऐन अन्तरगत जिल्ला अदालतमा मुद्दा दायर गरेपछि जिल्ला अदालतले प्रहरीलाई पाँच दिनको म्याद थप पाएको हो ।
मापसे समेत गरेर मातेका बस्नेतले रातीको ड्युटीमा रहेको डाक्टर अधिकारी तथा नर्स स्टाफलाई हात, मुख छाड्ने काम गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । डा. कुटिएको विषयमा ८ गते आंशिक मात्र काम गरेका उनीहरूले ९ गते भने बिहानैदेखि पुरै काम गरेको अस्पताल प्रशासनले जनाएको छ ।
आफ्नी आमाको उपचारका लागि अस्पताल पुगेका वडाअध्यक्ष बस्नेतकी आमालाई डेंगु पुष्टि भएको थियो । अस्पतालले बिरामीलाई भर्ना गरी बेडमा पु¥याई सकेपछि भर्नाको मञ्जुरी नामामा दस्तखत गर्न नर्सहरूले अनुरोध गर्दा बस्नेतले नमाने पछि विवाद बढेको अस्पतालको भनाइ छ । विरामी भर्ना गर्ने मञ्जुरीनामा सही गर्न इन्कार गर्दै बस्नेतले नर्सहरूलाई हतोत्साहित गर्ने खालका बोली, व्यवहार देखाउन थालेछन् । नर्सहरूले गरेको अनुरोध ठीकै हो भन्दै बस्नेतलाई सम्झाउन जमर्को गर्नु भएका ड्युटीमा रहेका डाक्टर सन्दिप अधिकारी माथि वडाअध्यक्ष बस्नेतले ‘मलाई सिकाउने तँ को ?’ भन्दै मोवाइलको झटारो हानेको प्रत्यक्षदर्शीले बताए । त्यसपछि अनियन्त्रित बनेका बस्नेतले नर्सीङ स्टाफ रुममा रहेको हाफ ठोकामा लात्ताले हान्दा त्यसको चुकुल लगाउने छेस्किन घर खुस्किएर ढोका खुलेछ । त्यसपछि सो रुम भित्र पसेका बस्नेतले डाक्टरमाथि त्यहाँ रहेको कुर्सी उचालेर टाउकोमा प्रहार गर्न लाग्दा दुई जना स्टाफले कुर्सी समाउँदै रोकेको हुँदा डा अधिकारी घाइते हुनबाट बचेको लमजुङ अस्पतालका प्रमुख मेडिकल सुपरिटेडेन्ट(मेसु) डाक्टर विशाल तिवारीले बताउनु भयो । मेसु तिवारीका अनुसार अस्पतालमा बिरामी भर्ना गर्दा आफन्त वा बिरामीले मञ्जुरी नामा गर्नुपर्ने प्रावधान छ । यस प्रकारको नियम सबै अस्पतालमा हुन्छ ।
जनप्रतिनिधि रहेका बस्नेतबाट यस्तो घट्ना भएको त्यो अस्पतालमा यो दोस्रो पटक भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनका अनुसार उनले गत साउनमा तत्कालीन मेसु रमेश आचार्यलाई अस्पतालमा विरामी कुरुवाका लागि सुत्ने ठाउँको प्रवन्ध किन नगरेको भन्दै ? दुर्व्यवहार गरेका थिए । त्यो बेलामा बस्नेत जनप्रतिनिधि समेत भएको हुँदा उनको इज्जत बचाउनका लागि अस्पताल प्रशासनले आन्तरिक सहमतिमा माफी माग्न लगाएर छाडेको हुँदा त्यो घट्ना सार्वजनिक नभएको बताइन्छ ।
स्मरणीय छ, बस्नेत नेकपा एमालेबाट विजयी वडाध्यक्ष हुन् ।
प्रकाशित मिति २०८० आश्विन १०, बुधबार ०५:१४ गते