काठमाडौँ– अखिल (क्रान्तिकारी)ले संगठन भित्र लामो समयदेखि चल्दै आएको विवाद समाधानका लागि विद्यामान केन्द्रीय समितिलाई विस्तार गरी नौ सय ९९ सदस्य आयोजक समितिमा रूपान्तरण गरेको छ । असोज १९ गते क्रान्तिकारीको केन्द्रीय समिति बैठकको निर्णय अनुसार विद्यामान समितिलाई २३ औँ राष्ट्रिय आयोजक समितिमा रूपान्तरण गरिएको परिपत्रमार्फत क्रान्तिकारीले जानकारी कार्तिक ८ गते दिएको हो ।
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीको समानान्तर कमिटी विघटन भएर एउटै कमिटी पुनर्गठन भएको हो । असन्तुष्ट पक्ष पवन समूहलाई समेत समेटेर पदाधिकारी ९९ सदस्य र केन्द्रीय समिति ९९९ सदस्य बनाएको छ । यसअघि २२ औँ सम्मेलनबाट ४१ सदस्य पदाधिकारी चयन भएको थियो । अखिल क्रान्तिकारीको सो विवाद सुल्झाउन ८ बुँदे सहमति गरिएको छ । उक्त बैठकले विद्यामान केन्द्रीय समितिका पदाधिकारी, सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरू स्वतः प्रतिनिधि हुने व्यवस्था खारेज गरी निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने निर्णय गरेको थियो ।
पञ्चा सिंह अध्यक्ष रहेको कमिटीको उपाध्यक्षमा समानान्तर कमिटीका अध्यक्ष पवन कार्की रहनु भएको छ । महासचिवमा दीपेश पुन नै कायम रहनु भएको छ । ९९ जनाको पदाधिकारीसहित २३औँ राष्ट्रिय सम्मेलन आयोजक समिति गठन भएको इन्चार्ज हिमाल शर्माले बताउनु भयो । उहाँका अनुसार आयोजक समितिमा अध्यक्ष एक, उपाध्यक्ष १८जना, महासचिव र कोषाध्यक्ष १÷१ जना तथा उपमहासचिव २१ जना र सचिव ५८ जना तथा सहित ९९९ सदस्यीय बनाइएको छ ।
प्रकाशित मिति २०८० कार्तिक १०, शुक्रबार ०७:४८ गते