तीन जना वरिष्ठ साहित्यकारलाई त्रिमूर्ति पुरस्कार समर्पण गर्ने निर्णय

तीन जना वरिष्ठ साहित्यकारलाई त्रिमूर्ति पुरस्कार समर्पण गर्ने निर्णय

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर २ गते शनिवार ०७:११

सम्मानित हुनुहुने व्यक्तित्वमा प्रा. मुकुन्दशरण उपाध्याय, हरिबहादुर थापा र जय पाण्डे(विराटनगर) हुनुहुन्छ ।

‘ती तीन वटै पुरस्कारका राशि ताम्रपत्रका साथै जनही एक लाख रूपैयाँ रहेको छ ।’

काठमाडौं– तीन वरिष्ठ साहित्यकारलाई त्रिमूर्ति पुरस्कार समर्पण गर्ने निर्णय गरिएको छ । त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको बैठकले सो मङ्सिर १ गते सो निर्णय गरेको हो ।
सम्मानित हुनुहुने व्यक्तित्वमा प्रा. मुकुन्दशरण उपाध्याय, हरिबहादुर थापा र जय पाण्डे हुनुहुन्छ । उपाध्यायलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । उहाँले छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गर्नु भएको हुँदा सो पुरस्कारद्वारा सम्मान गर्ने निर्णय गरेको त्रिमूर्ति निकेतनले जनाएको छ ।
त्यसैगरी, थापालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । थापाले बहुचर्तित मालती मङ्गले नाटकमा मङ्गलेको सफल भूमिकाका अतिरिक्त दर्जनौँ नाटकमा उत्कृष्ट अभिनय गरेर जनप्रियता हासिल गर्नु भएको हुँदा उक्त पुरस्कार उहाँलाई समर्पण गर्ने निर्णय गरेको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ । उहाँका अनुसार पाण्डेलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । पाण्डेले नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि छ दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवद्र्धनमा विशिष्ट योगदान गर्नुका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादनसमेत गरी प्रकाशनमा ल्याउनु भएको छ । पाण्डे विराटनगर निवासी हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘ती तीन वटै पुरस्कारका राशि ताम्रपत्रका साथै जनही एक लाख रूपैयाँ रहेको छ ।’
त्रिमूर्ति निकेतनद्वारा देवकोटाको ११५ औं जयन्ती ः
यसैबीच, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जयन्ती समेत मनाएको छ । सो उपलक्ष्यमा प्राकृतिक चिकित्सक तथा साहित्यकार डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नी’को प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । उक्त अवसरमा पोखरेलका साथै त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईले महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभएको थियो । त्यस अवसरमा उहाँहरूले कविशिरोमणि लेखनाथ पौडयाल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको सालीकमा पनि माल्यार्पण गर्नुभएको थियो ।
सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा आयोजित काव्यसभामा कविहरू ललिता दोषी, यादव भट्टराई, भगवती बस्नेत र रश्मी रिमालले कविता वाचन गर्नुभएको थियो ।
उक्त कार्यक्रमका त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा.महादेव अवस्थी र सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्ति प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भन्नुभएको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ ।
उहाँका अनुसार कविशिरोमणि, नाट्यसम्राट् र महाकविको सम्मानार्थ नइ प्रकाशनको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

प्रकाशित मिति २०८० मंसिर २, शनिबार ०७:११ गते
हजुरको प्रतिक्रिया