सुन्दरबजारमा रामसीता विवाह उत्सव भव्य

सुन्दरबजारमा रामसीता विवाह उत्सव भव्य

विराट न्यौपाने/अन्तरङ्ग

@antaranganews

२०८० पुस २ गते सोमबार ११:०८

अतिथि तथा उपस्थित सम्पूर्ण भक्तजनहरूलाई सालको पातको टपरी र दुनामा प्रसाद बितरण गरिएको दृष्य निकै रोचक देखिन्थ्यो ।

मौलिक कला, धर्म संस्कृतिको संरक्षणसंगै रामजानकी मन्दिरको प्रचारप्रसार गर्ने उद्धेश्य

सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपालिका– ७ को सुन्दरबजारको मुटुमा रहेको राम जानकी मन्दिर परिसरमा धुमधामका साथ राम सीता विवाह उत्सव भव्य रुपमा मनाइएको छ । लक्ष्मीनारायण संरक्षण विकास समिति र विश्व हिन्दु महांसंघ सुन्दरबजारको समन्वयमा रामसीता विवाह पञ्चमीका अवसरमा रामसीता विवाह उत्सव धुमधामका साथ पुस १ गते मनाइएको हो ।
रामसीता विवाह उत्सवमा सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा भएको हो ।
उहाँले हाम्रा मौलिक कला, परम्परा, सँस्कृति जोगाउन जरुरी रहेको बताउनुभयो । मेयर कोइरालाले कला, परमपरा, संकस्कृति जोगाउन सकेमा मात्रै हाम्रो मौलिक पहिचान र नेपाली हुनुको अस्तित्व रहने उल्लेख गर्नुभयो ।
बिशेष अतिथी एवम् प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले समितिले कला, संस्कृतिको संरक्षणको लागि आयोजना गरेको उत्सवले समाजमा सकरात्मक सन्देश दिएको बताउनु भयो ।
सो अवसरमा सुन्दरबजार नगरपालिका– ७ का वडाध्यक्ष जयराम रेग्मीले राम जानकी विवाह उत्सवले मौलिक कला, धर्म, संस्कृति, भेषभुषाको जगेर्नामा टेवा पुर्याएको उल्लेख गर्दै यसलाई आगामी दिनमा पनि निरन्तर दिइने जानकारी दिनुभयो ।
विगत केही वर्षदेखि यस मन्दिरमा रामसीता विवाह पञ्चमीको अवसरमा रामसीता विवाह उत्सव सञ्चालन हुँदै आएको छ । सोही पर्व एवम् मेलालाई निरन्तरता दिने र मौलिक कला, धर्म संस्कृतिको संरक्षणसंगै रामजानकी मन्दिरको प्रचारप्रसार गर्ने उद्धेश्यले मेलाको सञ्चालन गरिएको रामजानकी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर अधिकारी माइला दाइले बताउनुभयो । उहाँका अनुसार मौलिक कला, धर्म, संस्कृति संरक्षणका साथै यस मन्दिरको प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले रामसीता विवाह उत्सव धुमधामका साथ मनाइएको बताउनुभयो ।
मन्दिर व्यवस्थापन समितिका सचिव रामबाबु श्रेष्ठकाअनुसार राम सिता बिबाह उत्सव २०८० को अवसरमा स्थानीय समाजसेवी बिष्णुभक्त अधिकारी, पूर्वशिक्षक रामचन्द्र घिमिरेको नेतृत्वमा विद्याज्योति माध्यामिक विद्यालय खहरेका विद्यार्थीहरूले कथा बस्तुमा आधारित रहेर प्रवचनको साथसाथै रामसीता बिबाहलाई नाटकीय रुपमा प्रस्तुत गरेका थिए ।
यसैगरी, सो अवसरमा सयपत्री आवासीय माध्यामिक विद्यालयका विद्यार्थिहरूले मौलिक लोकभजन, खैजेडी सहित नगर परिक्रमा गरेको झाँकी र्यालीमा सहभागी भएका थिए भने अतिथिहरूलाई स्वागत गर्दै भजन नृत्य प्रस्तुत गरेका थिए ।
जिबजिबे आमा समुह, मनकामना आर्य समाज सुन्दरबजार– २ का समुहहरूले पोशाक सहित र्यालिमा सहभागी भएका थिए।
कार्यक्रममा १ हजार ८ स्वामी डा. केशव प्रपन्नाचार्यबाट धार्मिक कथा वाचन गर्नु भएको थियो ।
अतिथि तथा उपस्थित सम्पूर्ण भक्तजनहरूलाई सालको पातको टपरी र दुनामा प्रसाद बितरण गरिएको दृष्य निकै रोचक देखिन्थ्यो ।
आयोजक समितिका उपाध्यक्ष आनन्दराज श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको सो कार्यक्रमको सञ्चालन समितिका सदस्य सुरेन्द्र घिमिरेले गर्नु भएको थियो । उहाँका अनुसार उत्सवमा चारसय जना भन्दा बढी भत्तजनहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८० पुष २, सोमबार २३:०८ गते
हजुरको प्रतिक्रिया