
काठमाडौं– लमजुङे धर्ती पुत्र स्रष्टा जगदीश्वर पोखरेलले संघीय राजधानी काठमाडौंमा तहल्का मञ्चाउनु भएको छ । एकसाथ १५ कीर्तिको लोकार्पण गरी नेपाली साहित्यमा अतुलनीय योगदान गर्दै मंसिर ३० गते उहाँले त्यस्तो कार्य गर्नु भएको हो ।
नेपाल प्रज्ञा प्रज्ञाप्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा आयोजित भव्य लोकार्पण समारोहमा भाषाविद् प्राडा माधवप्रसाद पोखरेलको प्रमुख आतिथ्यता तथा प्रकाशक संस्था पेज टर्नरका अध्यक्ष कवि भूवनहरि सिग्देलको सभाध्यक्षतामा आयोजित समारोहमा उक्त कृति लोकार्पण गरिएको हो ।
प्रमुख अतिथि डा. पोखरेलद्वारा एकैपटक लोकार्पण गरिएका काव्यकृति क्रमश १) पद्यमञ्जरी, २)पद्यहार, ३) शार्दूललालित्य, ४) अक्षराङ्कुर, ४) पद्यकुञ्ज, ५) पद्यमालती, ६) पद्यपल्लव, ७) पद्यमाला, ८) शब्दस्पर्श, ९) शब्दांश, १०) शब्दतरङ्ग, ११) भावमञ्जरी, १२) सुन्दर देश नेपाल, १३) सारङ्गीको धुन र, १५) पाउँदीका गीत रहेका छन् ।
लोकार्पित कृतिहरू मध्ये ७ वटा वटा कृतिको समीक्षात्मक टिप्पणी डा. जीवन अधिकारीले गर्नुभएको थियो भने ३ वटा कृतिको समीक्षात्मक टिप्पणी पुरुषोत्तम सिग्देलले गर्नु भएको थियो । यसैगरी, अन्य गीतिलयका ३ वटा कृतिको समीक्षत्मक टिप्पणी नरनाथ लुइँटेलबाट भएको थियो । एउटा कृतिको समीक्षा हरि खनालले गर्नु भएको थियो । समीक्षकहरूले स्रष्टा जगदीश्वर पोखरेलका कृतिका विलक्षण विशेषताहरू केलाउँदै उहाँलाई बधाइ ज्ञापन गर्दै स्रष्टा पोखरेलको अबको यात्रा महाकाव्य सिर्जनातर्फ हुनुपर्नेमा जोड दिनु भएको थियो ।
प्रमुख अतिथि डा. माधवप्रसाद पोखरेलले यी कविताकृतिमा अभिव्यञ्जित जगदीश्वरको सिप साधनाको प्रशंसा गर्दै अब कविताको आख्यानात्मक बृहत संरचनातर्फ केन्द्रित हुन जाँगर लगाउनु पर्दछ भन्नेमा जोड दिनु भयो ।
कार्यक्रमका अध्यक्ष भूवनहरि सिग्देलले जगदीश्वर लोभलाग्दो साधनाले अझै उचाई प्राप्त गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै खण्डकाव्य र महाकाव्य भएन भए अबको यस्तो कार्यक्रममा उपस्थित नहुने बताउँदै त्यसका लागि शुभकामना दिन चाहन्छु भन्नु भयो ।
पछिल्लो समय छन्द साधनामा तल्लीन कवि पोखरेलले १ अक्षरदेखि ३० अक्षरसम्मका लामा छन्दसम्म अभ्यास गर्दै मौलिक कविता सिर्जना गरेका छन् । उनका यिनै साधना र सिर्जनाको उपज भएर १५ कृति एकैसाथ लोकार्पण भएका हुन् । ६० को दशकदेखि निरन्तर छन्द साधना र लेखनमा तल्लीन पोखरेलका यसअघि शार्दूलका पाइला, सुसाउँदो मस्र्याङ्दी, फूलसरिको जीवन छन्द संरचनाका ३ वटा कवितासङ्ग्र्रहहरूको पनि उहाँले एकसाथ विमोचन गर्नु भएको थियो ।
लोकार्पित कृति पेज टर्नर प्रा.लि. काठमाडौं, अनुपम सिर्जना प्रतिष्ठान कलंकी र कर्मदा सिर्जना मञ्च नेपाल लमजुङले प्रकाशित गरेका हुन् । सबै कृतिको विक्रीवितरणको जिम्मा पेज टर्नरले लिएको छ । यी कृतिको डिजाइन तथा लेआउट सम्पादन हाउसले गरेको हो ।
स्रष्टा भवानी खतिवडाले कर्णप्रिय ढङ्गबाट सहजीकरण तथा सञ्चालन गर्नुभएको लोकार्पण समारोहमा उहाँले विमोचित कृतिबाट गीत तथा कविता पंक्ति वाचन गर्नु भएको थियो । सो अवसरमा साहित्यानुरागी, छन्दप्रेमी, लब्धप्रतिष्ठित सजर्कहरूको घनिभूत उपिस्थित रहेको थियो ।
कवि जगदीश्वर संक्षिप्तमा :
लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका– ७ को जिल्लाको प्रवेश नाकामा रहेको पाउँदीबजारको किसान परिवारमा कवि जगदीश्वर पोखरेलको जन्म भएको हो । आधुनिक सभ्यताको हावासम्म नचलेको युगमा जन्मिनु भएका कविले जीवनजन्य प्रवृत्तिमा लाग्न समयले बाटो देखायो । जिजीविषाका धामा सहज थिएनन् । बाल्यकाल गार्हस्थ्यका गोरखधन्दामा बित्यो । आवश्यकताले बोझ थप्दै गयो । जीवन सहज बाटोमा चल्दैन भन्ने बोध भयो । युवाकालमा प्रवेश गर्दै जागिर खाने सपना देखे तर पढाइमा ठूलो योग्यता थिएन । गाउँकै जनजागृति मिडिल स्कुल र छिमेक अर्थात तार्कुघाटमा रहेको वीरभक्ति माध्यमिक विद्यालयबाट छ कक्षासम्म पढ्नुभयो । त्यसपछि उनले २०२८ सालमा कष्टपूर्वक लोकसेवा आयोगको परीक्षा पास गरेर जागिर खाने अठोट गरी हुलाकी पदको परीक्षा दिनपुग्नु भयो । भाग्यले साथ दियो । त्यसमा सफलता प्राप्त भयो । हुलाकीको जागिर मिल्यो । २०३४ सालमा प्राइभेटबाट एसएलसी पनि उत्तीर्ण गर्नुभयो । २०३७ सालमा उहाँको पद महालेखा नियन्त्रक कार्यालयको सहलेखापालमा स्थापित भयो । त्यो जागिरको डोरीले काठमाडौँतिर तान्यो । त्यो सानो जागिरबाट काठमाडौँ बसाइ सम्भव थिएन । मनमा चस्का पस्यो, अतिरिक्त काम नगरी यहाँ बाँच्न सकिन्न ।
त्यसपछि उहाँले डेरामै तान राखेर परिवारलाई समेत कपडा बुन्न सिकाउनु भयो । रातमा थोरै सुतेर आफू पनि त्यो तानमा व्यस्त रहन थाल्नु भयो । कपडा बुन्ने सीपसँगै तेस्रो आँखा खुल्यो, साधारण लुगामात्र बुनेर हुन्न । पश्मिना कसरी बुन्ने ? त्यसको बजार कहाँ छ ? भन्नेतर्फ ध्यान दिनु भयो ।
त्यो सोच र खोजले उहाँलाई नेपाली पश्मिनाको विश्व बजारमा धेरै माग छ भन्ने जानकारी दियो । त्यसपछि उहाँ त्यही काम तल्लीन रहनु भयो । त्यो व्यवसायले उहाँको आर्थिकस्तर पनि केही उकास्न सघायो पनि । जागिर सानै पदको थियो तैपनि त्यसलाई माया गरेर पेन्सन पाउने हदसम्म पूरा गरी साथमा बिएसम्मको अध्ययन पनि गर्नुभयो । त्यो बीचमा काठमाडौँको कलङ्कीमा घडेरी जोड्नु भयो र घरको निर्माण काम पनि पुरा भयो । त्यो घरलाई पश्मिना कारखानामा परिणत गरी पश्मिना बुन्ने कामलाई निरन्तरता दिइनै रहनुभयो । तीन छोरालाई पनि त्यही काममा निवृत्त गरे । कामजति छोराहरूलाई जिम्मा दिएर आफू सिर्जना कर्ममा समय खर्चिन थाल्नु भयो ।
उहाँको उमेरले साठीको नेटो काट्न लागेपछि छन्दमा कविता लेख्ने मोह जागृत भएको हो । साहित्यमा व्यस्त हुन थालेपछि व्यवसाय परिवारलाई जिम्मा लगाएर उहाँ सिर्जनामा रम्न थाल्नु भयो ।
यस प्रकार हुलाकी, हल्करा, बहिदार, मुखिया, सहलेखापाल र स्वावलम्बी हुँदै साहित्याकाशमा समेत उज्ज्वल नक्षत्र बनी चम्किन उहाँ सफल हुनु भएको छ । मलाई लेख्न आउँदेन, जान्दिन, बुढो– बुढी भएँ भन्नेहरूको लागि उहाँ गतिलो झापड, जवाफ एवम् प्रेरणापुञ्ज हुनुहुन्छ ।
कवि जगदीश्वर पोखरेलका लगायत १५ वटा कृतिहरूको एकसाथ लोकार्पण भएको छ । वटुकहरूले शान्ति स्वस्ति वाचनसँगै प्रमुख अतिथि प्रा डा माधव पोखरेल र सभापति कविवर भुवनहरि सिग्देलबाट सबै कृतिको फोटोको कभरको पर्दा तानेर सिद्धिचरण कक्ष नेपाल प्रज्ञाप्रतिष्ठानमा लोकार्पण गरिएको हो ।
कार्यक्रममा कवि जगदीश्वर पोखरेलले कविताबाटै स्वागत र सम्बद्ध सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बियोगी बुढाथोकी, रामप्रसाद पन्त, ठाकुर शर्मा, डा बमबहादुर जिताली, शान्ति शर्मा, ललिता दोषी, भाग्यशाली अधिकारी, अनुपम प्रतिष्ठान कलङ्कीका संस्थापक महासचिव एवम् वरिष्ठ पत्रकार नवराज पहाडी, ठाडोभाका लोककला प्रतिष्ठान नेपालका सल्लाहकार रमेशचन्द्र अधिकारी लगायतका साहित्यकार तथा लमजुङका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।
प्रकाशित मिति २०८० पुष ४, बुधबार १०:४१ गते