
काठमाडौं– गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको मुद्दामा पूर्वसांसद इच्छाराज तामाङलाई ३ वर्ष जेल सजाय तोक्दै एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ बिगो र बिगो बराबरको जरिवाना पनि तोकेको छ । तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई एक अर्ब तीन करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ १० पैसा बिगो र बिगो बराबरको जरिवाना तथा एक वर्ष छ महिना जेल सजाय माघ २१ गते तोकिएको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उक्त सजाय निर्धारण गरेको हो । इच्छाराज तामाङ, श्रीमती सिर्जना र छोरीहरू प्रतीक्षा र प्रतिष्ठा तथा केशव र मिना श्रेष्ठको नाममा रहेको सम्पत्ति पनि जफत हुने फैसला भएको छ ।
यस प्रकरणमा इच्छाराजकी पत्नी सृजना शाक्य तामाङविरुद्ध एक अर्ब तीन करोड ५ लाख, छोरीहरू प्रतिक्षाविरुद्ध छ करोड २२ लाख र प्रतिष्ठाविरुद्ध एक करोड ८९ लाख बिगो कायम गरी मुद्दा चलाइएको थियो ।
यसैगरी, सो सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठको हकमा २५ करोड ६५ लाख ८६ हजार एक सय २४ रुपैयाँ ३७ पैसा बिगो, बिगो बराबर जरिवाना तथा एक वर्ष ६ महिना जेल सजाय भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताउनु भयो ।
सम्पत्ति शुद्धीकरणमा माघ ७ गते दोषी ठहर भएका तामाङलाई विशेष अदालतले तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवानाको सजाय हिजो सुनाएको हो । उनले सवा तीन अर्ब रुपैयाँभन्दा धेरै सम्पत्ति शुद्धीकरण गरेको अदालतको ठहर छ ।
प्रतिवादी इच्छाराज तामाङलाई सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ को दफा ३०(१) (क) बमोजिम बिगो रकम एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ बराबरको जरिवाना सुनाएको उपरजिष्ट्रार एवं प्रवक्ता धनबहादुर कार्कीले बताउनु भयो । उहाँका अनुसार तामाङलाई तीन वर्ष कैद सजाय समेत सुनाएको छ ।
प्रवक्ता कार्कीले भन्नुभयो, ‘इच्छाराज, सिर्जना, केशवलाल, मिना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत गर्ने फैसला भएको हो ।’
सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठविरुद्ध २६ करोड ६१ लाख रुपैयाँ विगो दाबी गरिएको थियो ।
सहकारीको बचत रकम इच्छाराजले निजी कम्पनीमा लगानी गरेका थिए । त्यहीकारण सहकारीमा जम्मा भएको ाढे ५ अर्बभन्दा धेरै बचत पनि डुबेको थियो ।
नेकपा एमालेका पूर्वसांसदसमेत रहेका उनीविरुद्ध तीन अर्ब ३१ करोड ८५ लाख बिगो कायम गरी १६ भदौ ०७९ गते मुद्दा चलाइएको थियो ।
इच्छाराज तामाङले ठगी गरेको उजुरी परेपछि केन्द्रीय अनुसन्धान व्युरोले अनुसन्धान गरेको थियो । अनुसन्धान गरी उनी लगायतले ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ ठगी गरेको भन्दै ब्युरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो ।
यसमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दा आकर्षित भएपछि विभागले पनि अनुसन्धान थालेको हो। उनीहरूले आर्जन गरेको सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, छल्ने, हस्तान्तरण र रूपान्तरण समेतका निषेधित कार्य गरी सम्पत्ति शुद्धीकरण कसुर गरेको विभागको ठहर थियो ।
यसअघि ठगीको आरोपमा पक्राउ परेका पूर्वसांसद तामाङ र सिभिल सहकारीका वर्तमान अध्यक्ष श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले २०७८ पुस १४ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
सिभिल सहकारी प्रकरणमा इच्छाराजकी श्रीमती सिर्जना र केशवलाल हाल कारागारमा छन् ।
प्रकाशित मिति २०८० माघ २२, सोमबार २१:३९ गते