राष्ट्रिय सम्मानका साथ भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको विदाई

राष्ट्रिय सम्मानका साथ भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको विदाई

अन्तरङ्ग न्युज

@antaranganews

२०८० फाल्गुण १६ गते बुधबार ०७:०७

डेढ वर्षको उमेरमा महामारीका कारण बुबा गुमाएपछि करिब तीन दशक आमासँगै भारतको दार्जिलिङस्थित डुवर्समा बिताउनु भएका आचार्यले २०२० सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गर्नु भएको थियो ।

गायक समेत रहेका छोराद्वय सत्यराज र स्वरुपराजले उनको पार्थिव शरीरमा दागबत्ती दिनु भएको थियो ।

काठमाडौँ– वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मानका पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर पशुपति आर्यघाटमा फागुन १५ गते अन्तिम विदाई गरिएको हो ।
अन्तिम संस्कारअघि आर्यघाटमा पुगेका संगीतकर्मीले आचार्यको सम्मानमा उभिएर उनको कालजयी र चर्चित गीत ‘जहाँ छन् बुद्धका आँखा’ गाएका थिए । उनको अन्तिम बिदाइमा आर्यघाटमा संगीतकर्मीदेखि उनका प्रशंसकको बाक्लो उपस्थिति थियो ।
त्यसअघि उहाँको शवलाई सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । अन्तिम श्रद्धाञ्जली गीतसङ्गीत क्षेत्रका हस्ती, कलाकर्मी लगायतको व्यापक उपस्थिति थियो ।
स्वरसम्राट नारायण गोपालका समकालीन गायक उहाँ १९९९ सालमा धनकुटामा जन्मिनु भएको थियो । उहाँको नेपाली सुगम सङ्गीतमा विशिष्ट स्थान छ । लामो समयदेखि बिमारी रहनु भएका आचार्यका झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत रेकर्ड भएका छन् ।
उहाँका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । अन्तिम श्रद्धाञ्जलीपछि उहाँको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आचार्य गायक सत्यराज र स्वरूपराज आचार्यका पिता हुनुहुन्छ ।
आचार्यको उपचार खर्च सरकारले सहयोग गर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्व. भक्तराज आचार्यको उपचारमा भएको खर्चबारे सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री दाहालले सो प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।
प्रधानमन्त्री प्रचण्डले वरिष्ठ गीतकार, संगीतकार भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताउनु भयो । उहाँले स्व. आचार्यले गीत, संगीतको क्षेत्रमा पु¥याएको योगदान अजर अमर रहने बताउनु भयो । उहाँका सिर्जनाहरू कालजयी रहने समेत प्रधानमन्त्रीले बताउनु भएको छ ।
उहाँले भन्नुभयो, ‘शोकको यो घडीमा सबैभन्दा पहिला त म भजन शिरोमणिको रूपमा स्थापित भक्तराज आचार्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । सबै शोकाकुल परिवार र सबै संगीत र कलाको क्षेत्रमा समर्पित व्यक्तित्वहरूलाई पनि समवेदना व्यक्त गर्दछु । हामी सबै शोकमा छौँ र लामो अस्वस्थतापछि आज हामी उहाँको अन्तिम बिदाइ गर्दैछौँ । उहाँको उपचारको सन्दर्भमा भएको खर्चका सम्बन्धमा र आउने दिनमा गर्नुपर्ने अन्य कामहरूको बारेमा म परिवारका अन्य सदस्यहरू जो आफैँ पनि संगीत र कलाको क्षेत्रमा स्थापित हुनुहुन्छ, कुराकानी गरेर जे गर्न सकिन्छ, नेपाल सरकारको तर्फबाट त्यो सहयोग हुने विश्वास व्यक्त गर्दछु ।’
आचार्यको पार्थिव शरीरलाई संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री प्रचण्डका अतिरिक्त एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, संस्कृतिमन्त्री सुदन किराती लगायतले आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।
डेढ वर्षको उमेरमा महामारीका कारण बुबा गुमाएपछि करिब तीन दशक आमासँगै भारतको दार्जिलिङस्थित डुवर्समा बिताउनु भएका आचार्यले २०२० सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गर्नु भएको थियो ।
स्वर परीक्षा पास गरेको दश वर्ष अर्थात् २०३० सालमा रेडियो नेपालको देशव्यापी गीत प्रतियोगितामा प्रथम भइ उनले स्वर्णपदक हात पारेका थिए । योसँगै आचार्यको सा·ीतिक यात्रा अघि बढेको थियो । नेपाली संगीतको लागि उहाँ एउटा तुलना नै गर्न नसकिने पात्र हुनुहुन्थ्यो । संगीतप्रति उहाँको समर्पण र योगदान सधैं अमर रहनेछ ।
भक्तराज आचार्यको पशुपति आर्यघाटमा छोराद्वय सत्य–स्वरुपले दिए दागबत्ती दिनु भएको थियो ।
थुप्रै कालजयी गीत गाउनु भएका ८२ वर्षीय आचार्यले ललितपुरको मेडिसिटी अस्पतालमा २५ गते अपराह्न अन्तिम सास लिनु भएको थियो ।

प्रकाशित मिति २०८० फाल्गुन १६, बुधबार ०७:०७ गते
हजुरको प्रतिक्रिया