सहकारी पीडितले काठमाडौं धर्ना र अनसन

सहकारी पीडितले काठमाडौं धर्ना र अनसन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत २ गते शुक्रबार ०७:४६

उपत्यका र देशभरबाट गरी करिब तीन सय जना सहकारी पीडित काठमाडौंमा भेला भएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका प्रवक्ता पुरुषोत्तम कार्कीले बताउनु भयो ।

एक प्रदर्शनकारीले ‘सहकारीका दोषी नै गृहमन्त्री छन्, हामीले के न्यायको आशा राख्ने?’ भन्न समेत भ्याए ।

काठमाडौं– सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा देशभरिका सहकारी संस्थाबाट ठगीमा परेका पीडितहरू न्याय माग्न यतिबेला काठमाडौंमा भेला भएका छन् । सरकारले भर्खरै मिटरब्याज पीडितको माग पुरा गरेको सुनेका उनीहरू बढी आशावादी हुँदै हाम्रो पनि समस्या सुन्ला कि भनेर सडकमा भेला भएको चैत १ गते बताएका हुन् ।
बचत फिर्ता गर्न र सहकारीका सञ्चालकलाई कारबाहीको माग गर्दै उनीहरूले कालीमाटी, गोंगबु, शंखपार्क, सिफल चौर र जाउलाखेलबाट भृकुटीमण्डपसम्म प्रदर्शन समेत गरेका छन् । प्रदर्शनपछि भृकुटीमण्डपमै कोणसभा गरेका थिए ।
उपत्यका र देशभरबाट गरी करिब तीन सय जना सहकारी पीडित काठमाडौंमा भेला भएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका प्रवक्ता पुरुषोत्तम कार्कीले बताउनु भयो । उहाँका अनुसार सहकारीको समस्या देशभर छ । लाखौं नागरिकको बचत सहकारीमा डुबेको छ । उहाँले भन्नुभयो, ‘अहिलेसम्म छरिएर आन्दोलन गर्दा सरकारले सुनेन, यो आवाज ठूलो बनाउन यहाँ आइपुगेका छौं ।’
देशभरबाट पैदल हिँडेर आएका मिटरब्याज पीडित र लघुवित्तका ऋणीहरूसँग सरकारले वार्ता र सहमति गरिरहेका कारण सहकारी पीडितहरू पनि काठमाडौं आएको कार्कीले बताउनु भयो । प्रवक्ता कार्की भन्नुभयो, ‘सरकारले हामी जस्तै अरु पीतिहरुका कुरा सुन्यो, हामी पनि त्यही समस्या सुनाउन आइपुगेका छौं ।’
सहकारीपीडित सहकारी विभाग जान खोज्दा सुरक्षाकर्मीहरूसँग झडप भएको हो । सहकारीपीडितले सरकारबाट न्यायको आशा मरेको गुनासो पनि गरेका छन् ।
आफ्नो बचत रकम फिर्ता गराइदिन माग गर्दै आन्दोलनरत सहकारीपीडितहरू काठमाडौँको प्रदर्शनीमार्गस्थित सडकमै अनसन बस्ने भएका छन् ।
प्रदर्शनका क्रममा प्रहरीले दमन गरेको भन्दै उनीहरुले सडकमै अनसन बस्ने घोषणा गरेका हुन् । अपराह्न प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको बेला प्रहरीले दुई जनालाई पक्राउसमेत गरेको छ ।
सरकारले ठगी गर्ने सहकारीलाई कारवाही गर्दै आफ्नो बचत फिर्ता गराइदिने आशामा सडकमा आएको प्रदर्र्शनकारीले बताएका छन् । तर एक प्रदर्शनकारीले ‘सहकारीका दोषी नै गृहमन्त्री छन्, हामीले के न्यायको आशा राख्ने?’ भन्न समेत भ्याए ।

प्रकाशित मिति २०८० चैत्र २, शुक्रबार ०७:४६ गते
हजुरको प्रतिक्रिया