लमजुङमा सुन्दर प्राकृतिक सौन्दर्यताको भूगोल छ । पूर्वमा चेपे नदी र पश्चिममा रुदी र मादी, बिचमा बग्ने मिदिम, खुदी, ङादी र दोर्दी । मनाङदेखि बग्दै आउने मस्र्याङदी नदी यी सबै नदीहरू हिम नदीहरू हुन । लमजुङको उत्तरी भेगमा लमजुङ, अन्नपूर्ण र मनास्लु हिमाल पर्दछ । लमजुङमा धेरै हिमताल र पोखरीहरू छन । धेरै ताल र पोखरीहरूको नामाकरण भएको छैन र त्यति चर्चामा पनि आउन्न । अहिले लमजुङमा पर्यटनका लागि चर्चामा आउने पोखरीहरू मध्ये चेपेको शिरको दुध पोखरी, दोर्दी गाउँपालिकामा पर्ने मिमे पोखरी, बाह्रपोरी अर्थात बराह पोखरी र इलमपोखरी, मनाङ, कास्की र लमजुङको सिमानामा पर्ने क्व्होलासोथार गाउँपालिकाको दुध पोखरीहरू हुन् ।
पूर्वी लमजुङको दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकाको सीमानामै पर्ने इलम पोखरी ऐतिहासिक, धार्मिक एवं प्राकृतिक सौन्दर्यले सिगार दिएको छ । पर्यटकहरूले घुम्नको लागि नयाँ ठाउँ खोज्दछन । नयाँं ठाउँको ऐतिहासिक र पुरातत्विक स्थल धार्मिक, सांस्कृतिक परम्पराहरू र नयाँ खानपान पर्यटकहरूको रुचिको बिषय हुन्छ । पर्यटनको महत्वका कारण अहिले पर्यटकहरूले पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक स्थलहरूको खोजी गर्न थालेका छन । लमजुङमा पर्ने इलमपोखरीमा परापूर्वकालदेखिनै हरेक वर्षको चैत पूर्णिमामा मेला लाग्ने गर्दछ । मेलामा लमजुङ, तनहुँ, गोरखा लगायतका गाउँ ठाउँबाट ग्रामीण पर्यटकहरू पुग्ने गर्दछन । इलमपोखरीमा रहेको सातकन्या देवीको मन्दिरमा तीर्थाटन गरी रातभर जाग्राम बस्ने र मौलिक ठाडोभाकाको गीत गाउने तीर्थाटनका पर्यटकहरू रमाइलो गर्ने प्रचलन छ । सातकन्या देवीको मन्दिरमा चैत पूर्णिमाको दिन ठूली एकादशीका दिन अर्थात कार्तिकमा विशेष पूजा आजा गरिनुका साथै मेला समेत लाग्ने गर्दछ । पहिला इलमपोखरीमा सात दिन सात रातसम्म पनि मेला लाग्ने र ठाडोभाकाको गीतमा पर्यटकहरू रमाउने गर्दथें ।
इलमपोखरीको सातकन्या देवी मन्दिर र पोखरी रहेको स्थान दोर्दी गाउँपालिका– ५ को पाचोक क्षेत्रमा र मेला लाग्ने मैदानी भाग दूधपोखरी गाउँपालिका– ३ र ४ वडाको भूगोलमा पर्दछ । वरपर रमणीय उच्च लेकको मैदानी समथर भूमि । पाचोक, भालस्वाँरा, ठूलोकाभ्रे र फुलुङगिरी गाउँको शिरमा सातकन्या देवीको मन्दिर । मन्दिरको छेउमै रहेको इलमपोखरीले पर्यटकहरूको मनै लोभ्याउछ । इलमपोखरीको चारैतिर हरियाली जंगलले घेरेको छ । चराचुरुङ्गीको चिरबिर आवाजले पर्यटकहरूलाई मन्त्रमुग्ध गराउछ । इलमपोखरी धार्मीक र सांस्कृतिक थलो पनि हो । त्यहाँ सशस्त्र द्वन्द्वकालमा इलमपोखरीमा माओवादीले सैनिक तालिमको सेल्टर राखेका थिए । द्वन्द्वकालमा माओवादीले लगाएको तारबार समेत अहिले पनि देख्न सकिन्छ । परापूर्वकालमा इलमपोखरी ठूलो थियो । पोखरी वरपर मानिसहरूको बसोबास थियो । इलमपोखरीको सातकन्या देवी मन्दिर आसपासमा बस्ती रहेको भग्नाबशेषसमेत देखिन्छ । इतिहासमा रुचि राख्न पर्यटकहरूले बस्तीका घरका भग्नाबशेषहरू घरका पर्खाल, ढिकी, जाँतो, कोल, ढुंगा विछयाइएको बाटो आदि रुचिपुर्वक अवलोकन गर्दछन । इलम पोखरीको बस्ती हैजाको महामारीबाट मानिसहरू मर्न थाले पछि बाचेकाहरू त्यस गाउँबाट पलायन भएका थिए ।
इलमपोखरीदेखि उदगम भएर किसेती खोला बग्दछ । किसेती खोला पाचोक र श्रीमन्ज्याङको बिच हँुदै सेरा बजारमा पुगेपछि दार्दी खोलामा मिसिन्छ । किसेती खोलाको माच्छा पूर्वी लमजुङमा प्रख्यात छ । इलमपोखरीको आसपासमा अन्य पोखरी पनि छन । जसमा कुनै पनि रुखका पात खसेर पोखरीमा तैरिएको हुँदैन । पोखरी वरपर छुट्टै प्रजातीको चरा छ । जुन चराले पोखरीमा खसेको पात टिपेर पाखामा लगेर फयाँक्ने काम गर्दछ र पोखरी सधैं सफा हुन्छ । पर्यटकहरू यो दृष्यले दङ्ग पर्दछन । इलमपोखरीमा सातकन्या देवी मन्दिरको स्थापना बारेमा अनेकौ लोककथा पाइन्छ । सत्ययुगमा देवीले बास बसेको, देवीले निंगालोको लौरो टेकेर आएको, विहान उठेर देवी हिड्न खोज्दा निंगालोको लौरोमा त हाँगा पलाएको जस्ता प्रशङ्ग भेटिन्छन । त्यसपछि देवीले इलमपोखरीमा आफ्नो बासस्थान रोजिन र त्यही निंगालोलाई देवीको शक्ति मान्दै गाउँलेहरुले पूजा गर्न थालेका हुन । अर्को कथन खरीमा लोप्चन र शेर्पा जातिका दुई छोरी खेल्न गएका रहेछन । ती दुवैको उमेर सात वर्षको रहेछ । खेल्ने क्रममा दुईबीच झगडा भएछ धकेल्दा दुवै पोखरीमा डुबेर मृत्यु भएछ । पछि दुई बालिकाले देवीको रुप धारण गरेको विश्वास पनि गरिन्छ । दुवै कन्या सात वर्षका भएको हुँदा मन्दिरको नाम सात कन्या राखिएको मान्यता छ । मन्दिरको बीचमा निंगालाको गाँज छ र निंगालाको गाँजले मन्दिरको छाना छेडेर माथि गएको छ । निंगालोको गाँज भएको भागमा मन्दिरमा छाना राखिएको छैन । निंगालाको गाँज पनि ठूलै देखिन्छ । त्यो दृष्य देख्दा पर्यटकहरू नऔठो मान्दछन । अर्को आश्चर्यको कुरा के छ भने मन्दिरको वरपरको क्षेत्रमा निंगालो घारी वा निंगालाका बोटहरू पनि देखिदैन । मन्दिरमा तीर्थाटनका पर्यटकहरूले आफ्नो मनाकामना पुरा भएपछि पञ्चबली समेत चढाउने गर्दछन ।
पूर्वी लमजुङको इलमपोखरीमा प्रत्येक वर्षको चैत पूर्णिमाको अवसरमा ठूलो मेला लाग्ने गर्दछ । मेलाको इतिहास खोज्ने हो भने बाइसे चौविसे राजाहरूको पाला देखिनै मेला लाग्दै आएको पाइन्छ । इलमपोखरीको मेलामा प्राय दोर्दी र दुधपोखरी क्षेत्रका गुरुङ गाउँका मानिसहरू मात्र होइन गोरखा जिल्लाका अजिरकोट, सिरानचोक र सुलिकोटदेखिका आन्तरिक पर्यटकहरू पुग्ने गर्दछन । सडक सञ्जाल जोडिएपछि अहिले अन्य जिल्लाका तीर्थाटनका पर्यटकहरू पनि पुग्ने गर्दछन ।
इलमपोखरी मेलाको आकर्षण भनेको सातकन्या देवीको दर्शन गर्ने, छेलो हान्ने र लोकप्रिय ठाडोभाकाको गीत गाउने र सुन्ने हो । इलमपोखरीको मेलामा नपुगेको र ठाडोभाकाको गीत नसुनेमा पर्यटकहरूलाई अनौठो लाग्दछ । लोकप्रिय ठाडोभाका गीतको उदगमस्थल लमजुङ हो । गुरुङहरूको पुख्र्यौली थलो पनि लमजुङ हो । करिव डेढसय बर्ष अगाडिदेखि पश्चिम लमजुङको बर्धन गाउँ, खजेगाउँ, तुर्लुङकोट, भाँगु, मकैस्वाँरा, ठूलोस्वाँरा, कानेश्वाँरा, बासपानी, नेटा, कुन्छा, तान्द्राङ वरपरका गाउँघरमा गाइने ठाडोभाकाका गायक देउबहादुर दुरा मानिन्छन् । अहिले ठाडोभाका लमजुङ, गोरखा, तनहूँ, कास्की तथा स्याङजा जिल्लामा प्रचलित छ । तर, ठाउँ अनुसारमा गीतको लयमा केही स्थानीय भेदहरू भेटिन्छन् ।
इलमपोखरीको मेलामा बिभिन्न गाउँहरूबाट आएका युवा युवतीहरूको समूहबाट दोहारोे ठाडोभाकाको गीत सुन्दा र नाचेको देख्दा पर्यटकहरू रमाउछन् । त्यो दृश्यले कतिपयलाई आफै नाच्न मन लाग्छ र नाच्छन् पनि । ठाडोभाका गीतमा अन्त्यानुप्रास मिलाएर भन्नु पर्दछ । जति गीतका टुक्काहरू हुन्छन प्रायः प्रकृतिसंग जोडिएर माया र पिरतीमा टुङगीने गर्दछन । जस्तै हा … ऐलेकोमा साल भनु पानी नपर्नाले, उमार बिग्रो टारको जौ …., माछाखाने ओत दुःखी छोरा म त, धरतीलाई धसी, पन्चैखालमा बसी, भोटे राजा चिन भनु आजुकोमा दिन, दोर्दीखोला तरी, मै आउदा खेरी भेट हुनलाई भयो धौ … । ठाडोभाकामा दोहोरी हुन्छ । विशेष गरेर ठाडोभाका दुरा र गुरुङ जातिको मौलीक गीत मानिन्छ । ठाडोभाकामा गाँउका, दुःखका, वेदनाका, प्रेमका वा समाज, वातावरण लगायतका सवै कुराहरूलाई समेटेर गीत गाउने गरिन्छ । जस्तै हा … हा … हो … जन्मदिने आमा, स्वर्ग तार्ने लामा, कर्म दिने कुटुम्व … । हा … हा … धाउनेचरी धाइच, धन सम्पती भन्दा पनि माया ठूलो रैच, नदी जागर तर्यो, मन नलगाए पनि छोडीजान पर्यो, गाठो पर्यो मुटुमा … । त्यहि गीतलाई जव सवाज जवाफ वा दोहोरो तर्फबाट गाइन्छ त्यस बखत दोहोरी गीत भनिन्छ ।
पञ्चैसुब्बा गुरुङ र देउबहादुर दुराले प्रत्युत्पादन गरेको ठाडोभाका गीत पछि भेडीखर्के(दीर्घराज अधिकारी)ले जीवन्त बनाएर लमजुङको सेरोफेरामा गुन्जी रहेको छ । अरुले गाएको सुन्दा कर्णप्रिय र सजिलो लाग्ने ठाडोभाका गीत गाउनेलाई भने सजिलो छैन । लमजुङका प्रायः सबै गुरुङ गाउँ र दुरा बस्तीहरूमा ठाडोभाकामा दोहरी गीत गाएको सुन्न र देख्न पाइन्छ । मेलापात, रोधिं, चौतारी, विवाह र आजभोलि हुने बिभिन्न उत्सवहरूमा युवायुवतीहरू मादल, मुजुरा, बाँसुरी आदि बाजाहरूको तालमा दोहरी गीत गाउने गर्दछन् । तर गाउँ र ठाउँ अनुसार भाका र ठाडोभाकाको रअ(ह)नी भने अल्ली फर मानिन्छ । पुर्वी लमजङ भुम्लीचोक, बिचौर, चारथर अर्थात इलमपोखरी आसपासमा गाइने ठाडोभाका र नौथर गाउँतिर गाईने भाकामा फरक हुन्छ । त्यस्तै गरी दुवार, भंसार, हिले, लाकुरीबोट, भुलभुले, उस्ता हुँदै चिप्लासम्मको भाका छुट्टै मानिन्छ । मर्स्याङदी पश्चिम घनपोखरा, वाग्लुङपानी, घलेगाउँ हुदै भुजुङको सेरोफेरोमा सुनिने ठाडोभाकाका स्वर अल्ली भिन्न हुन्छ । तर ठाडोभाका गीत सबै ठाउँका मानिसहरूले गाउने गर्छन् । यहाँ पूर्वी लमजुङको तस्यो, राइनासकोट र चेपे खोला पारी गोरखा जिल्लाको सिरानचोक तिरका गाउँमा गाइने ठाडोभाका गीतका टुक्काहरू यस्तो हुने गर्दछ ।
केटा– हो …. बाबानै ज्युको त्यो गैरी खेत, हलगोरु जोतनी …… हा …. रातोमाटो खानी, भेट नभएको पनि, पटुकीलाई पयो, धेरै बर्ष भयो, बल्ल भयो भेट नानी हालचाल के छ ? गरौ कि सोधनी …… !
केटी– हो … धानैको वाला हरियोमा भयो, पिपलुको छायाँले ……
हा …. दामपैसा गनी, हालचाल के छ भनी, गाईको नाम त गाजु, सोधनी ग¥यो दाज्यु, मैना चरी त ता, सन्चै छु म ता हजुरको मायाँले …..
केटा– हो …. चितवनको माडी नानी, काठमाडौको खाडी जता हेर्यो सम्मै सम्म …. हा …… मैत परे दंग, हितको बैनीसंग, गाईको नाम त लछी, धेरैसाल पछि, दिनमा खाने खाजा, भेट भयो आज, लाइदेउ माया झ्यामैझ्याम …..
केटी– गोर्खामा पर्यो सिरानचोक डाँडा, लमजुङमा पर्छ कुनछा … हा …..
हा … हिमाल राम्रो हिउले, रामरासी ज्युले, लौ न एकछिन, भेट भा’को दिन, दाम पैसा गन्छ, लगाउ माया भन्छ, त्यसो भए हुनछ ….
दोहरी गीत नेपालीहरूको परम्परा पनि हो । ठाडोभाका पनि दोहारी गीत हो । अझ कतिपयले हिजोआज चल्ने सुगम दोहोरीको जननी नै ठाडोभाका हो भन्नेहरू पनि भेटिन्छन् । तर आजभोलि गाउँघरमा ठाडोभाका मात्र होइन अन्य भाकाका दोहरी गीत गाउने प्रचलनमा कमी हुँदै आएको छ । दोहोरी गीतमा दुई तर्फबाट आएका गीतमा अन्त्यानुप्रास मिलाएर आएका सवाल जवाफ हो । विशेष गरेर दोहोरी गीत भनेको कुनै भाकामा रहेर तत्काल गीत सृजना गरिन्छ । यसरी सृजना गरिने गीतमा प्रकृति भित्र रहेका सबै गाउँठाउँ, नदी झरना, डाडाँकाडा गीतको अन्त्यानुप्रास मिलाउदा जोडिने गर्दछन । ठाडोभाकामा त झनै टुक्कापिच्छे यस्ता शब्द जोडिन्छ । जस्तै हा …. हा …. धरतीलाई धसी, मैले भने पछि, घाँसकाटु कायाँ सुन मेरो माया, गरिवको बचन … । ठाडोभाका यसरी अन्त्यानुप्रास जोड्दै गाउने गरिन्छ । ठाडोभाकाको गीत अन्य दोहरी गीतभन्दा उर्वर मानिन्छ । ठाडोभाकाको गीतमा समसामयिक घटनाको प्रसङ्ग, ऐतिहासिक घटना, सामाजिक प्रवृत्ति तथा बानी व्यहोराको व्यापक चित्रण गरेको पाइन्छ । रागात्मक प्रेम प्रसङ्ग, विरह, व्यथा, वियोग, चिन्ता, पारिवारिक असन्तुलन, अभाव, पीडा, संघर्षको दुःखद परिणाम, आघात, असन्तुष्टि, कुण्ठा आदि पनि ठाडोभाकाको गीतमा अभिव्यक्त हुने गरेको पाइन्छ । ठाडोभाका गीतले मनोरञ्जनका साथै जीवन जगतका घतिला अनुभूति तथा मानवीय आदिम मनोवृत्तिसँग भेट गराएको अनुभुति हुन्छ । पछिल्ला वर्षमा ठाडोभाकाको त्यो क्रेजलाई ठाडोभाका लोककला प्रतिष्ठान नेपालले निरन्तरता दिने जमर्को गरेको छ । 
आजभोलि हिमाल र हिम पोखरी हेर्न पर्यटकहरू लमजुङ पुग्ने गर्दछन । लमजुङ पुग्ने पर्यटकहरूलाई अध्यन अनुसन्धानको लागि महत्वपूर्ण मानिने आदीबासी गुरुङ समुदायको दोर्दी र दुधपोखरी गाउँपालिकाको हिलेटक्सार, दुवार, टापा, बंसार, लप्सीबोट, सिमी, ताजे, कर्दी, किर्तीपुर, फुलुङगिरी, घुम्लीचौर, गौंडा, श्रीमन्ज्याङ, तस्यो जस्ता अति रमणीय गाउँहरू रहेका छन । भूबनोटले पनि सुन्दर अनि गुरुङ समुदायको बाहुल्यता भएको आफ्नै छुट्टै पहिचान भएको गाउँहरुमा गुम्बा, मठ मन्दिर र गुरुङ समुदायको भेष भुषा, चाडपर्बको बिषयमा पर्यटकहरूले रुचि राख्ने गर्दछन । इलमपोखरी जाँदा कतिपय पर्यटकहरू लिपे लेक र दाम्राङ ट्रेकिङमा जान रुचाउँछन । तर, लिपे लेक र दाम्राङ ट्रेकिङमा जान पर्यटकहरूले समूहमा जाँदा राम्रो हुन्छ । इलमपोखरी भन्दा माथि कुनै बस्ती छैन । त्यसैले पर्यटकहरूले ट्रेकिङमा याम्पिङ नै गर्नुपर्ने हुन्छ । पर्यटकहरूले टेन्ट, म्याट्रेस, स्लिपिङ ब्याग, न्यानो कपडा, पकाउने र खाने खानेकुरा एवम् भाँडा, लाइटर, टर्च लाइट, पावर बैंक, पानी, प्राथमिक उपचार सामग्री, लठ्ठी र ड्राइ फ्रुटस साथमा लैजान पर्दछ ।
अहिले दोर्दी गाउँपालिकाले ट्रेकिङमा रमाउन खोज्ने पर्यटकका लागि ट्रेकिङ रुट निर्माण गरेको छ । दोर्दीको नौथरसेराबाट सुरु हुने ट्रेकिङ रुट इलमपोखरी, लिपे लेक हुँदै दाम्राबबाट फेरि नौथरसेरा आउन सकिने ट्रेकिङ रुड चार दिनको हुनेछ । त्यस्तै नौथर शेरा इलमपोखरी, लिपे लेक, नौटाँचे, मुल्मचे, उखण्ड ताँजे हुँदै नौथर शेरा आउने रुट भने ८ दिनको हुनेछ । अर्को रुट भनेको नौथर शेरा इलमपोखरी, लिपे लेक, नौटाँचे, मुल्मचे, उखण्डबाट मेमे पोखरीतिर पुगिने छ । मेमे पोखरीबाट कुम्रोडाँडा, बाह्र पोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिल तर्फबाट बेसीशहर ११ दिनको ट्रेकिङ रुड बनाइएको छ । लिपेको सिधै अगाडि देखिने मिमालचुली हिमाल पनि दोर्दी गाउँपालिकामा पर्दछ । इलमपोखरीदेखि लिपे लेकको फेदीमा प्रायः तेर्सो बाटो भएकाले सहज छ तर फेदीबाट लेक पुग्न भने नाकै ठोकिने ठाडो उकालो हिँड्नुपर्छ । डाँडामा पुग्नै लाग्दा बाटोमा भेडी गोठहरू भेटिन्छन । जब लिपे लेक पुगेपछि पर्यटकहरूले माछापुच्छे्, लमजुङ हिमाल, हिमचुली हिमाल, मनास्लु, गणेश, बुद्ध हिमालको अदभुत दृष्यहरूले छुट्टै अनुभूति गर्न सक्दछन । इलमपोखरी कसरी पुग्ने ?
डुम्रे– बेसीशहर सडकको लमजुङ प्रवेश नाका पाउँदीदेखि दूधपोखरी गाउँपालिका रहेको स्थल प्रैंचेडाँडासम्म २५ किलोमिट र त्यहाँबाट मन्दिरसम्म ६ किमी गरी पाउँदीदेखि कुल ३१ किमीको दुरीमा रहेको छ । दूधपोखरी गाउँपालिकाले मन्दिर स्थलसम्म कच्ची सडक बनाइएको छ । जिप रिजर्भ गरेर पुग्न सकिन्छ । लमजुङ र तनहुँको सीमामा पर्ने पाउँदी बजारबाट दिउँसो साढे २ बजे जोर्ने बजार जाने जिप लाग्छ । भोटेओडार झरेर जिपमा नौथर सेरा भएर श्रीमन्ज्याङ हुँदै जोर्ने पुग्न पनि सकिन्छ । नौथर पाचोक हुँदै सडक सञ्जालको ट्याक जोर्नेसम्म जोडिएको छ ।
(लेखक : पर्यटन लेखनमा विशेष रुचि राख्नुका साथै स्वतन्त्र पत्रकार संघ नेपालको निवर्तमान अध्यक्ष हुनुहुन्छ । – सं.)
प्रकाशित मिति २०८१ बैशाख १७, सोमबार ०९:१२ गते