विकास भनेको परिवर्तन हो । विकास गतिशील प्रक्रिया पनि हो । विकासका भौतिक संरचना निर्माण भएको ठाउँमा नागरिकहरूले निर्माण भएका सडक, पुल र अन्य स्रोतसाधनको प्रयोग गर्न पाउनु पर्दछ । यस्तो विकासले समाजमा सकरात्मक परिवर्तन हुन्छ । समाजका सबै नागरिकहरूले परिवर्तन अर्थात सुधारको अपेक्षा राखेका हुन्छन । विकास एक वहुआयायिक विषय पनि हो । भौतिक विकासको परिवर्तनमा ऐतिहासिक पुरातात्विक सम्पदाको बिनास पनि हुन्छ । विकास र बिनास एक आपसका परिपुरक पनि हो । विकास एउटा गतिशील क्रिया हो । विकास गतिशील, वहुआयामिक, आवश्यक र अधिकार पनि हो । अर्को तर्फ प्राकृतिक श्रोतलाई साँस्कृतिक श्रोतमा बदल्ने प्रक्रिया पनि हो । त्यसैले पुर्वाधार विकास गर्नुको कारण पनि समाजलाई सामाजिक विकासतर्फ लैजानु नै हो । यी कुरा अहिले प्रायः सबै नागरिकहरूले बुझ्छन । तर भौतिक विकासको नाममा इतिहासनै मेटन भने पाइदैन ।
लमजुङमा मध्यमर्स्याङदी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भै विद्युत उत्पादन गर्न थालेको २५ बर्ष भयो । जलविद्युतले बेसीशहर नगरपालिका– १ र ११ वडाका बिचमा पर्ने फलियासाँघु अर्थात दलालमा मर्स्याङदी नदीलाई बाध निर्माण गरेको छ । यो आयोजनाको पावर हाउस सुन्दरबजार नगरपालिका– ८ सिउँडीबारमा पर्दछ । बाध र पावरहाउस बीचको सुरुङको दुरी झन्डै पाँच किलोमिटरको दुरीमा पर्दछ । सुरुङबाट लगेको पानी सिउँडीबारमा मोटर मार्ग मुनीबाटनै टनेलमा झारेको छ । फलियासाँघु अर्थात दलालमा जलविद्युतको बाध बाधी ७० मेगावाट क्षमताको मध्यमर्स्याङदी जलविद्युत आयोजनाले बाधमा निर्माण गरेको मोटरेवल पुल भने आम नागरिकहरूलाई प्रयोग गर्न दिइएको छैन ।
पुल प्रयोग गर्न नदिना को कारण के हो ? विदेशकम कुरा छाडौं नेपाल भित्रकै कयांै हाइड्रो पावरको बाधमा निर्माण भएका पुलहरूमा मानिसहरूलाई आतेजाते गर्नलाई छुट छ । कतिपय बाधका पुलहरूबाट मोटरहरू गुडेका छन । पृथ्वी राजमार्गको आबु खैरेनीमा मस्र्याङदी पावर हाउस माथीनै गाडीहरू गुड्ने गर्दछन । तर मध्यमस्र्याङदी जलविद्युत आयोजनाको दलालमा निर्माण भएको बाधको पुलबाट यातायातका साधन चल्न नदिने कारण के हो ? आम चितेली जनताहरू आन्दोलनमा उत्रन खोजेका छन ।
अयोजनाले विद्युत गृह, बाँध स्थल, सुरुङ वा नहर तथा जलाशय, प्रसारण, लाइन, वितरण लाइन जस्ता संरचनाहरू निर्माण गर्दा प्रत्यक्ष रुपमा प्रभावित हुने गाउँघरका मानिसहरूको सहमति लिन पर्ने कानुनी प्रावधान छ । तर मध्यमस्र्याङदी जलविद्युत आयोजनाले प्रभावित हुने गाउँका सबै मानिसहरूलाई भेला नगरी केवल वरपरका सामान्य नागरिकहरूलाई भेला गरी जलविद्युतको बाध निर्माण गर्ने काम भयो । त्यसबखत प्रभावित क्षेत्रका नागरिकहरूलाई अयोजनाले बाधमा पक्की पुल बन्ने र पुलबाट परममरागत आतेजाते गर्नलाई समेत सुबिधा दिने कुरा सुनाए । पहिला जस्तै आतेजातेमा सुबिधा हुने भएपछि प्रभावित क्षेत्रका नागरिकहरुले सहमति पनि दिए । जलविद्युत आयोजनाको काम सम्पन्न भयो । तर अहिले चिति भेगका मानिसहरू जलविद्युत आयोजनाले निर्माण गरिदिएको २ किलोमिटर तल पर्ने रिठ्ठेबगरको पुल र १ किलोमिटरको दुरीमा रहेको चिप्लेटीको झोलुङ्गे पुल तर्नु पर्ने बाध्ययता आइपरेको छ । रिठ्ठेबगरको बाटोसमेत मर्स्याङदी नदीको कटानले गर्दा यातायात ठप्प छ ।
फलियासाँघु अर्थात दलालको साँघु ऐतिहासिक हो । जुन साँघुको सुरुवात आजभन्दा ५३९ बर्ष पहिले राजा कालु शाहका सेनाहरूबाट रुखको फड्के बनाएर सुरुवात भएको थियो । कालु शाह शाहवशंका लमजुङका पहिलो राजा थिए । कास्कीका राजा कुलमण्डलका माइला छोरा कालु शाह लमजुङको पहिलो चौबीसे राज्यका राजा भएका थिए । कालु शाहले शासन गर्दा घेर्मु र घलेगाउँ क्षेत्र घले राजाबाट शासित थियो । घलेराजा र कालु शाहका सेनाहरू बीच बेलाबखत बिवाद भइरहन्थ्यो । लामो समयको विवाद र युद्धपछि बिना हतियार खुदी नजिक भलाम खोलाको किनारमा सम्झौता गर्ने निर्णय भयो । तर घले सेनाहरूले अघिल्लो दिन हात हतियार भलाम खोलाको वालुवामा लुकाई सकेका थिए । निशस्त्र कालु शाहका भारदारहरू सन्धि सम्झौता गर्न भलाम खोलाको वालुवामा पुगे । तर घलेका सेनाहरूले बिबाद चर्काउन थाले । विवाद बढ्दै जाँदा घलेहरूले लुकाएको हतियार झिकि राजा सहित भारदार माथि आक्रमण गर्न थाले ।
घलेहरूको आक्रमणबाट बच्न कालु शाहका भारदारहरू भाग्ने क्रममा अहिलेको मध्यमस्र्याङदीको बाँधस्थल दलालमा पुगे । दलालमा नदीको दुई किनाराको दुरी छोटो भएकोले नदी किनारकै रुख ढालेर फडके पुल तयार पारे । कालु शाहका सेनाहरू रुखबाट पारी तरेपछि सुरक्षित रहन फड्के पुल भत्काए । कालु शाहका सेनाहरूमा एकजना काजी पनि थिए । नदी पारी पुगेपछि काजीले गाउँ र बेसीको बीचमा रहेको समथर र उच्च स्थान कार्कीडाँडा जाने पदमार्गमा पर्ने दारिमडाँडामा दरवार बनाई बसे । काजी कार्की थरका थिए । दारिमडाँडामा दरवार बनाएर बसेपछि दारिमडाँडा र त्यो भन्दा माथीको क्षेत्र कार्कीडाँडा नाम रहन गयो । दारिमडाँडामा दरवार रहेको स्थानमा अझै पनि दरबारको पुरातात्विक अवशेषहरू भेटिन्छन् । आजभोलि दारिमडाँडामा पुरातत्व बिभागले मन्दिर समेत निर्माण गरिदिएको छ ।
फलिया साघुँको इतिहास खोज्ने हो भने यो पुल कहिलेबाट बनेको हो ? पुल बने पछि कति पटक मर्मत संभार भयो ? र कहिले सम्म फलियासाँघुको अस्तित्व रहन गयो आदि कुराको लिखित इतिहास भेटिदैन । तर पनि इतिहासले के देखाउ छ भने फलियासाँघुमा फलेक अर्थात काठबाट पुल निर्माणको थालनी कालु शाहका सेनाहरूबाट बनाइएको रुखको फड्के नै पहिलो पुल मानिन्छ । मनाङबाट उदगम भएको मर्स्याङदी नदीमा फलियासाँघुमा जस्तो कडा चट्टानमा अर्थात साँघुरो गल्छी अन्त कतै बनेको छैन । यहि साँघुरो गल्छी भएका कारण कालु शाहका सेनाहरूबाट रुखको फडके बनाए जस्तै पछिल्लो पुस्ताहरूले काठबाट पुल बनाएका हुन । फलियासाँघँको पुल करिवन चारसय बर्ष अस्तित्वमा रहेको थियो । पुल बनाउदा ठूला सालका रुख चिति, कार्कीडाडा, रामचोक, चितुवावन, उदिपुर र धिमिरे गाउँहरूको जगंलबाट ठूलै दलबलका साथ घिसारेर पुराउने गरेको कुरा पछिल्लो पुस्ताका मानिसहरूले बताउँछन् । फलियासाँघुको पुल बनेको समयमा मर्स्याङदी नदीमा अन्य ठाउँमा कतै ढुङ्गा र कतै बासको फड्केको माध्यमबाट नदी तर्ने गरेको पाइन्छ ।
फलियासाँघुको काठको पुल ०३५ सालसम्म थियो र त्यसपछि फलियासाँघु भएकै ठाउमा झोलुङे पुल निर्माण भयो । २०५६ सालमा मध्यमर्स्याङदीको काम सुरु गर्दा परियोजनाको बाध फलियासाँघुमा निर्माण भयो । फलियासाँघुको पुल केवल चिति र धिमिरेका मानिसहरूका लागि मात्र नभएर पूर्वी लमजुङ अहिलेको दुधपोखरी र दोर्दी गाउँपालिकाका सबै जनतालाई सदरमुकाम बेसीशहर आउजाउ गर्न सुबिधा भएको थियो । बेसीशहर नगरपालिका– १ र ११ चितिको बीचमा फलियासाँघु अर्थात दलालमा ग्रामीण बजार पनि थियो । चिति, कार्कीडाडा, स्याउत, रामचोक, दुवार, हिले, माझगाउँ, चौर, उदिपुर, धिमिरे लगायत गाउँको व्यापारी केन्द्र थियो । आवश्यक नुन तेल, कपडा सबै फलियासाँघँु बजारले धानेको थियो । २०५६ सालमा मध्यमस्र्याङदी जलविद्युत परियोजनाको काम सुरुवात भए पछि फलियासाँघुको सबै संरचना बिनास भए । फलियासाँघु बजारका मानिसहरूलाई मध्यमस्र्याङदी जलविद्युत परियोजनाले उदिपुरमा बसोवास गराएको छ । दलाल बजारका सबै ब्यापारीहरू बिस्तापित भएका छन् । परियोजनाले बाध निर्माण गर्दा फलियासाघु बजारका पुराना संरचनाहरू अहिले देख्न सकिन्न । मर्स्याङदी नदी उपल्लो भाग ताल बनेको छ भने तल्लो भाग सुक्का मौसममा बगर बन्ने गरेको छ ।
ऐतिहासिक फलियासाँघुको बाधको पुल प्रयोग गर्न नपाउँदा अहिले कार्कीडाडा, माझगाउँ, लाकुरीबोट, चिति गाउँका पनि आधा बासीन्दा र बेसीमा रहेका रुम्टाबेसी, बजार खुट्टा, डाँडाथोक, मगरगाउँ र बुढीकुवाँ÷बरबोट गाउँका बासिन्दाहरूलाई समेत समस्या भएको छ । बाधको पुल प्रयोग गर्न नपाउदा एम्बुलेन्सबाट बिरामी लैजान, विद्यालयमा पठनपाठन गर्न जान र आउन मात्र नभएर दैनिक उपभोग्य सामान ढुवानी गर्न समेत स्थानीय जनताहरूलाई समस्या भएको छ । मध्य मस्र्याङदी जलविद्युत आयोजना समक्ष प्रभावित क्षेत्रका बासिन्दाले विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाउने काम पनि धेरै पटक गरेका छन ।
तर पनि जनताको मागलाई आयोजनाले सुनुवाइ भने गर्दैन । अकोतर्फ आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई सामाजिक, आर्थिक तथा वातावरणीय असर पार्दा पनि वेवास्ता गर्दै आएको छ । आजभोलि बर्षातको कारणले बुढीकुवा रिठ्ठेबगरको मोटरमार्ग मर्स्याङदीको बाढीले गर्दा सडकमा मर्स्याङदी नदी बगेको छ । यो समस्या यो बर्ष मात्र नभएर प्रत्यक बर्ष हुने गरेको छ । यस्तो समस्या हुँदा पनि मध्य मर्स्याङदी परियोजनाले जनतासंग भएको सम्झौता किन कार्यान्वयन गर्दैन ? सोचनीय विषय बनेको छ ।
मर्स्याङदी नदीको पानी बाध बाधेर डाइभर्सन गरी विद्युत उत्पान गराउँदा नदीसँग सम्बन्धित सम्पूर्ण परिस्थितिक प्रणालीमा नकारात्मक असर देखिन थालेको छ । नदीले जलीय जीव तथा वनस्पतिको लागि वासस्थान, सन्तान बृद्धि गर्ने ठाउँ र खाना उपलब्ध गराउँछ । त्यस्तै जमिनमा बस्ने केही जनावर तथा चराको खाना नदीमा पाइने माछा तथा अन्य जीव/विरुवामा निर्भर रहन्छन । त्यसैले नदी जैविक विविधताको अति नै महत्वपूर्ण हिस्सा हुन्छ । मर्स्याङदी नदीको पानी विद्युतको लागि सुरुङबाट डाइभर्सन भएर दुइतिहाई पानी लैजादा नदीको किनारमा रहेका खेतहरू पूर्णरुपमा सुक्ने, खानेपानीका मुहान सुक्ने आदि समस्या उत्पन्न भएका छन । जलविद्युत आयोजनाले अर्को तर्फ बिना सूचना बेलाबअत आफूखुसी विद्युत उत्पादन बन्द गरेर पानी आयोजनाको जलाशयबाट छोडदा बाधको तल्लो एरियामा कटान हुने मात्र नभै नदीले धारसमेत परिवर्तन गरी ठूलो क्षति पु¥याउदै आएको छ । आजभोली रिठ्ठेबगरको पुल नजिकै नेपाली सेनाको व्यारेकको अगाडि घुम्तीमा नदीजन्य पदार्थको ढिस्को जम्मा भएर मर्स्याङदीको बहाबले सडक बगाइ दिएको छ ।
लमजुङमा जलविद्युत आयोजनालेको तिव्र विकास हुँदै गएको छ । अहिलेसम्म लमजुङमा साना ठूला गरी १७ ओटा विद्युत आयोजनाबाट कुल ३ सय मेगावाट विद्युत उत्पादन भइरहेको छ । विद्युत विकासको क्रममा यो राम्रो कुरा हो । जलविद्युत आयोजनाले जनतालाई दुःख दिने होइन । मध्य मर्स्याङदी जलविद्युत आयोजनाले अब बाधमा निर्माण भएको पुल सबैको लागि खुल्ला गर्न पर्दछ । स्थानीय जनताको आयोजनाप्रति अपनत्व हुन सकेन भने कुनै पनि आयोजनाको दिगो विकास हुदैन । आयोजनाले अब नयाँ सोच अगाडि ल्याउन जरुरी छ । अहिले आबु खैरेनीमा मर्स्याङदी जलविद्युत आयोजनाको जलाशयमा मोटरबोट सञ्चालन भएको छ । त्यसैगरी इन्द्रसरोवर मानव निर्मित कुलेखानी जलविद्युतको जलाशयमा मोटरबोटहरू सञ्चालनले पर्यटनको विकास भएको छ । मध्य मर्स्याङदी जलविद्युत आयोजनाले पनि बाधको तालमा अब मोटरबाट सञ्चालन गर्न पर्दछ ।
(लेखक : स्वतन्त्र पत्रकार संघ नेपालका निवर्तमान राष्ट्रिय अध्यक्ष हुनुहुन्छ । सं.)
प्रकाशित मिति २०८१ श्रावण २, बुधबार २०:१२ गते