रास्वपाद्वारा संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

रास्वपाद्वारा संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ साउन ९ गते बुधबार ०८:४०

डा. कार्कीले आफ्नो प्रस्तावमा हुने छलफलमा गृहमन्त्री र स्वास्थ्य मन्त्रीले जवाफ दिनुपर्ने समेत माग गर्नु भएको छ ।

सो प्रस्तावमा रास्वपाका अरू ६ सांसदले समर्थन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. तोसिमा कार्कीले जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराउनु भएको छ । सो प्रस्तावमा रास्वपाका अरू ६ सांसदले समर्थन सहित दर्ता साउन ८ गते दर्ता गरिएको हो ।
प्रतिनिधि सभा(संसद)मा विपद् व्यवस्थापनका सम्बन्धमा गुरूयोजना निर्माण र स्वास्थ्य संकटको पूर्व तयारीका विषयमा छलफलका लागि कार्कीले दर्ता गरेको जरूरी सार्वजनिक महत्त्वको प्रस्तावमा रास्वपाका अरू ६ सांसदले समर्थन गर्नु भएको छ ।
डा. कार्कीले प्रस्तावमा संसदमा पटक पटक विपद्को विषय उठे पनि सांसदहरूको भूमिका हस्तक्षेपकारी हुन नसकेको समेत स्मरण गराइएको छ । सो प्रस्तावमा विपद्सँगै विभिन्न महामारी फैलने गरेको विषय समेत समेटिएको छ । रास्वपाकी सांसद डा. तोसिमा कार्की प्रस्तावक रहेको प्रस्तावमा यसवर्ष जेठ २८ गतेबाट मनसुन भित्रिए यता असार २५ गतेसम्ममा ६८२ वटा विपदका घटना घटेको र ६९ जनाको मृत्यु भएको उल्लेख छ ।
प्रस्तावमा भनिएको छ, ‘विपद् व्यवस्थापनका लागि कानुन, रणनीति, कार्ययोजना, कार्यढाँचा नबनेका होइनन्। यस वर्ष पनि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८९ बनाइएको छ जसमा हरेक प्रदेशमा हुन सक्ने मनसुनजन्य क्षतिको बारेमा आकलन पनि गरिएको छ तर हुन सक्ने क्षतिको लागि सही समयमा तयारी गर्न नसक्दा द्रुत सुविधा, तयारी रेस्क्यू समूह तथा आवश्यक उपकरण र व्यवस्थापनको अभावमा जनता हरेक वर्ष पीडित हुन पुग्छन् ।’
‘यो वर्षको जेठ २९ देखि असार ३१ गतेसम्म १ महिनाको अवधिमा सदनमा सञ्चालित बैठकहरूको १२ वटा बैठकमा आकस्मिक समयमा ५२ पटक बाढी, पहिरो, वर्षा र विपद सम्बन्धित विषयमा माननीयहरूले कुरा उठाउनुभयो भने कयौंपटक शून्य समय र विशेष समयमा पनि यो विषयमा कुरा उठाउनु भएको स्रमण गर्दै प्रस्तावमा भनिएको छ, तर घटनाकाबारे प्रतिक्रिया र जानकारी दिने मात्र भन्दा पनि संसदले आफ्नो पहल कदमीमा एउटा स्पष्ट र प्रभावकारी गुरूयोजना तयार गर्न जरूरी भएका कारण यो विषयको गाम्भीर्यता र आवश्यकतालाई मनन गरी यो जरूरी सार्वजनिक महत्त्वको प्रस्तावलाई संसदको कार्यसूचीमा समावेश गरी बृहत् छलफलमा लैजाने प्रक्रिया अघि बढाउन हुन अनुरोध छ ।’ प्रस्तावमा उल्लेख छ ।
त्यस्तै, सो प्रस्तावमा भनिएको छ, ‘सन् २०१४ मा नेपाललाई पोलियो मुक्त घोषणा गरिएको थियो तर भर्खरै २०८९ जेठ १३ गते काठमाडौंको टुकुचा– बागमती संगम नजिकको ढलमा गरिएको परीक्षणमा Vaccine Derived Polio Virus-VDPV Type 3 देखिएको पुष्टि भएको छ । यसरी उन्मूलन भइसकेका रोगहरूको समेत जीवाणु पुनः देखिनुले देश स्वास्थ्य संकटको चरम जोखिममा रहेको पुष्टि गर्छ, मनसुनजन्य महामारी र स्वास्थ्य जोखिमको बारेमा समेत पूर्वतयारी गर्ने, विपद् व्यवस्थापनमा तालिमयुक्त दक्ष जनशक्ति र्यापिड रेस्क्यू टिम तयार गर्ने, हरेक स्वास्थ्य केन्द्रमा पर्याप्त स्रोत साधन र औषधिको भण्डारण गर्ने, क्षतिको जोखिम पूर्वानुमान गरी आम नागरिकलाई सुसूचित गराउने साथै समयमै पुनःस्थापन र प्रतिस्थापन गर्ने/गराउने लगायतको कामबारे छलफल गर्न अति आवश्यक रहेको हुँदा यो जरूरी महत्त्वको प्रस्ताव पेस गरेको छु ।’
सो प्रस्तावमा रास्वपाका सांसदहरू सन्तोष परियार, विराजभक्त श्रेष्ठ, गणेश पराजुली, असिम शाह, बिन्दवासिनी कंसाकार र चन्दा कार्कीले समर्थन गर्नुभएको छ । डा. कार्कीले आफ्नो प्रस्तावमा हुने छलफलमा गृहमन्त्री र स्वास्थ्य मन्त्रीले जवाफ दिनुपर्ने समेत माग गर्नु भएको छ ।

प्रकाशित मिति २०८१ श्रावण ९, बुधबार ०८:४० गते
हजुरको प्रतिक्रिया