दिवंगत परिवारजनलाई वैतर्णी तार्नका लागि गाईजात्रा प्रदर्शन

दिवंगत परिवारजनलाई वैतर्णी तार्नका लागि गाईजात्रा प्रदर्शन

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ ५ गते बुधबार ०८:२९

यो जात्रा नेपाल सम्बत अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

बेसीशहरमा तीन परिवारबाट गाईजात्रा निकालियो, टाकटुके नाच सहित बजार परिक्रमा

बेसीशहर(लमजुङ)– गाईजात्रा पर्वका अवसरमा गाईजात्रा प्रदर्शन गरिएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ यहाँ पनि मनाइएको छ । बेसीशहर नेवाः खलको आयोजनामा बाजागाजाका साथमा गाईजात्रा भदौ ४ गते प्रदर्शन गरिएको हो ।
यो जात्रा नेपाल सम्बत अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । आफ्ना दिवंगत भएका परिवारजनको सम्झना र उनीहरूलाई बैतर्णी तार्नका लागि गाई पुजा गरी गाईजात्रा प्रदर्शन गर्ने प्रचलन छ । गाईजात्राका साथमा टाकटुके नाच र देविदेवताका स्वरुप सिगांरेर राम सीता समेत बनाइको थियो ।
बेसीशहरमा एक वर्ष भित्र दिवंगत भएको ३ वटा परिवारले गाइजात्रा निकालेर बेसीशहर बजार परिक्रममा गरेका थिए । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यस प्रकार नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
गाईजात्राका अवसरमा टाकटुके नाच विगतको ३ वर्षदेखि सँगै प्रदर्शन गर्न लागिएको बेसीशहर नेवाः खलका सचिव विमल श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार बेसीशहर बजारमा हरेक वर्ष नेवारी परम्परा अनुसार गाईजात्रा र साथमा टाकटुके नाच प्रदर्शन गर्ने कार्यलार्य अबका दिनमा नियमित गर्ने निर्णय भएको छ ।
गाईजात्राको इतिहास :
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हांस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू समेत गाउने गरिन्छ ।
सुरुका वर्षहरूमा गाईजात्रा (नेवारीः सापारु) काठमाडौँ उपत्यकामा मात्र देखाउने गरिएकोमा पछि नेवारी वस्ती विस्तार हुँदै गएपछि देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइने पर्व मध्ये एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाइजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ । यस पर्वमा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यस दिन भजन कीर्तन पनि गरिन्छ ।
टाकटुके नाच गाईजात्राको तालसँग मेल खाने भएको हुँदा प्रदर्शन गर्न थालिएको नेवा दवुका सचिव बालकृष्ण श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार सापारु भनेर मनाउने यस पर्व नेवारहरूको मौलिक पर्व हो ।
हिन्दुधर्म अनुसार यस पर्वका बारेमा पद्मपुराणमा उल्लेख छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा सापारु निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख छ । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

प्रकाशित मिति २०८१ भाद्र ५, बुधबार ०८:२९ गते
हजुरको प्रतिक्रिया