बेसीशहर– लमजुङ अस्पतालमा सञ्चालन गरिएको दुई दिने निःशुल्क आँखा शिविरमा ७० जनाको मोतिविन्दूको शल्याक्रिया गरिएको छ । लमजुङ अस्पताल र हिमालय आँखा अस्पताल पोखराको संयुक्त आयोजनामा सो निःशुल्क शिविर सञ्चालन गरिएको हो । शिविरको समापनमा हिमालय आँखा अस्पताल पोखराबाट आएको डा.को टिमलाई एक कार्यक्रममा बीच कदरपत्र प्रदान गरी भदौ १६ गते विदाई गरिएको हो ।

लमजुङ अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष हरिजङ तामाङ र लमजुङ अस्पतालका नि. प्रमुख डा. अमृत अधिकारीले संयुक्त रुपमा खदा र कदरपत्र प्रदान गनु्भएको हो । सो अवसरमा अध्यक्ष तामाङले आफ्नो समितिले अस्पतालको व्यवस्थापन सम्हाल्न थालेपछि पहिलो पटक यस्तो शिविर गर्ने मौका पाएको र अबका दिनमा यसलाई निरन्तरता दिने बताउनु भयो । उहाँले सबैभन्दा बढी सफल हुने भनेकै आँखाको शिविर रहेछ उहाँले अनुभव सुनाउनु भएको थियो ।
लमजुङ अस्पतालका नि. प्रमुख डा. अमृत अधिकारीले मोतिविन्दूले मानिसको दिनचर्यामा नै फेरबदल ल्याउने गर्छ भन्दै यस्तो पुनित कार्यले अबका दिनमा पनि निरन्तरता पाइरहने उल्लेख गर्नुभयो ।

सो अवसरमा हिमालय आँखा अस्पताल पोखराका संयोजक सुभास नेपालले अन्धोपन निवारण जस्तो पुण्यकाम अर्को नभएको दावी गर्दै दृष्टिविहीन हुनु भनेको मृत्यु पछिको अर्को पहिलो पीडा हो भनिन्छ त्यसैले पनि यो पवित्र काममा हामी जुटिरहेका छौं यो अवसरका लागि लमजुङ अस्पतालको सहयोग अविस्मरणीय छ भन्नुभयो ।
सो शिविरमा पाँच दिन अघिदेखि ५१३ जनाको आँखाको परीक्षण गरी मोतिविन्दूको शल्यक्रियाका लागि ८० जना छनौट गरिएको थियो । तीमध्ये ७० जनाको शल्यक्रिया सफल रुपमा सम्पन्न भएको र अन्यको प्रेसर सुगर बढेका कारणले रोकिन गएको लमजुङ अस्पतालका नेत्रज्योति सहायक दीप गुरुङले बताउनु भयो । उहाँका अनुसार सो शिविरको नेतृत्व हिमालय आँखा अस्पताल पोखराका आँखा रोग विशेषज्ञ डा. कृष्णा गुरुङले गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘उहाँ एक्लैले ती सबै बिरामीको शल्यक्रिया गर्नु भएको हो ।’

शिविरको पहिलो दिन ३७ जनाको र दोस्रो दिनमा ३३ जनाको शल्यक्रिया गनै सफल भएको डा. कृष्णा गुरुङले बताउनुभयो । उहाँका अनुसार तीमध्ये पहिलो दिन १७ जना महिला हुनुहुन्थ्यो भने दोस्रो दिन १९ जना महिलाको शल्याक्रिया गरिएको थियो । उहाँ हिमालय आँखा अस्पतालमा पछिल्लो पाँच वर्षदेखि नेत्ररोग विशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ ।
नेत्रज्योति सहायक दीप गुरुङले भन्नुभयो, ‘सो शिविरमा सबैभन्दा बढी ९० वर्षीय उमेर र कान्छो ३५ वर्षका व्यक्तिको शल्यक्रिया गरिएको छ ।’ ९० वर्षीय मर्स्याङदी गाउँपालिका– २ का नन्दकाशी गुरुङ हुनुहुन्छ भने कान्छो उमेरका बेसीशहर नगरपालिका– ७ का फ्रेमबहादुर गुरुङ हुनुभएको उहाँले जानकारी दिनुभयो ।

एक दिनमा मोतिविन्दू भएका ५७ जनासम्मको आँखाको शल्यक्रिया गरेको आफ्नो अनुभव रहेको डा. कृष्णा गुरुङले बताउनु भयो । उहाँका अनुसार त्यो अवसर पनि लमजुङमै प्राप्त गरेको चार महिना अघिको अनुभव हो । उहाँले भन्नुभयो, ‘त्यो शिविर भोटेओडारमा भएको थियो ।’
प्रकाशित मिति २०८१ भाद्र १८, मंगलवार ०७:४१ गते