दुराडाँडा– लमजुङको ऐतिहासिक थलो दुराडाँडाका सामाजिक व्यक्तित्वका धनी सूर्यप्रसाद अधिकारीको निधन भएको छ । पछिल्लो समय पोखरा बस्न थाल्नु भएका उहाँको उपचारका क्रममा ८० वर्षको उमेरमा भदौ २४ गते निधन भएको हो ।
लमजुङ जस्तो दुर्गम जिल्लामा उहाँले अहेबदेखि स्वास्थ्यका विभिन्न स्थान र पदमा रहेर सिनियर हेल्थ असिस्टेन(आठौं तह)मा रही ३० वर्षसम्म सेवा गर्नु भई (२०३०– २०५९ सालमा) निवृत्त हुनु भएको थियो ।
पिता जिमु. नारायणदत्त अधिकारी र आमा सोमाका कान्छा सुपुत्र उहाँको जन्म २००२ सालको बैशाखमा भएको थियो । उहाँका दुई दाजु र तीन जना दिदी मध्ये दुई जना दिदीमात्र जीवीत हुनुहुन्छ ।
तत्कालीन चन्द्रेश्वर गाविस– २, स्वाँरा(उपल्ला गाउँँ) दुराडाँडामा जन्म स्थल भएका उहाँले आफ्ना जवानीका दिनहरू गाउँँ छरछिमेकमै खासगरी स्वास्थ्यका क्षेत्रको सेवामा बिताउनु भएको थियोे । निवृत्त जीवनपछि पनि केही वर्ष उहाँ जन्म गाउँमा नै रहेर स्वास्थ्य सेवामा जुटिरहनु भएको थियोे । दुई छोरीका पिता उहाँ उनीहरूको विवाह पछि आफ्नो पनि स्वास्थ्यमा समस्या देखिन थालेपछि उपचारको सहजताका लागि २०६५ सालदेखि काठमाडौंमा बस्न थाल्नु भएको थियोे ।
प्रकृति प्रेमी उहाँ काठमाडौमा बढ्दो प्रदुषणका कारण प्राकृतिक छटाले युक्त पोखरामा गत वर्षको कार्तिक महिना (करिब एक वर्ष)देखि बस्न थाल्नु भएको थियोे । त्यसो त उहाँकी कान्छी छोरी रीताको अनुरोधलाई समेत स्वीकार गरी उहाँले पोखरामा बसाईँ सार्नु भएको थियो ।
पछिल्ला केही वर्षदेखि पार्केन्सन(स्नायु सम्वन्धि समस्या)बाट पीडित उहाँले सुगर तथा प्रेसरको समेत समस्या झेली रहनु भएको थियो । अन्ततः भदौ २४ गते दिउँसो १२ बजे उहाँले चिर निद्रा ग्रहण गर्नु भएको हो । लामो समयसम्म उहाँको स्वास्थ्य अवस्थालाई सन्तुलनमा राख्नका लागि उहाँकी श्रीमती चन्द्रकलाले गर्नु भएको योगदान उत्तिकै प्रशंसनीय रहेको थियो ।
उहाँको अन्तिम संस्कार पोखरामा गरिएको भएता पनि काजकृया जन्म थलो दुराडाँडामा भदौ २५ गतेबाट थालिएको छ । उहाँका कान्छा भतिज विप्लव अधिकारीले उहाँको काजकृया गरिरहनु भएको छ । त्यस्तै, माहिला भतिज हिरण्यप्रसाद अधिकारीलगायतले काजकृयामा सहयोग गरिरहनु भएको छ ।
स्व. अधिकारीका श्रीमती चन्द्रकला अधिकारी, छोरीहरू रमा ढकाल र रीता आचार्यका साथै दुई नातिनी र तीनजना नातिहरू हुनुहुन्छ ।
प्रकाशित मिति २०८१ भाद्र २६, बुधबार १९:३६ गते