काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा गएर भेट्नु भएको छ । रविलाई भेटेर स्वर्णिमले ‘एज अफ रिभोल्युसन्स’ पुस्तक उपहार स्वरुप कार्तिक १६ गते साँझ दिनु भएको हो ।
सो पुस्तकमा ‘रविजी, तपाईंले आफ्नो असामान्य साहस प्रमाणित गरिसक्नुभएको छ । यो कठिन परिस्थितिलाई पार गर्न तपाईंसँग पर्याप्त दृढता र रणनीतिक धैर्यता होस् भन्ने कामना गर्दछौं । हामी तपाईंसँग छौँ । सबै कुरा राम्रो हुनेछ ।’ स्वर्णिमले लेख्नु भएको छ ।
उपसभापतिले सभापतिलाई भेटपछि प्रतिक्रिया दिदै स्वर्णिमले भन्नु भएको छ, ‘सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित ८० वटा सामान्य प्रश्नको बयान सकिएको, खासै नयाँ कुरा नआएको र सभापतिको मनोबल उच्च रहेको पाएँ ।’
‘अर्को तीन वर्ष ओली–राणा–देउवाकै सेरोफेरोमा शासन चल्दा देशको के बेहाल हुने होला ? उहाँको यो प्रश्नको उत्तरमा फरिद जकारियाद्वारा लिखित नयाँ पुस्तक एज अफ रिभोल्यसन्स दिन पाएँ,’ आफ्नो सामाजिक सञ्जालमा स्वर्णिमले उल्लेख गर्नु भएको हो ।
यसैबीच, रास्वपाका उपसभापति स्वर्णिमले तिहार–छठपछि सुशासनको बृहत् एजेण्डामा नयाँ शक्तिहरू गोलबद्ध हुनपर्ने देखिएको समेत उल्लेख गर्नु भएको छ ।
प्रकाशित मिति २०८१ कार्तिक १७, शनिबार २०:२६ गते