काठमाडौँ– प्रजातान्त्रिक आन्दोलनका प्रेरणा पुरुष पीएल सिंहको निधन भएको छ । उनको फोक्सोमा समेत समस्या देखिएको थियो भने गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो । पूर्वमन्त्री तथा काठमाडौँका पूर्वमेयर पीएल सिंह समेत रहेका ८८ वर्षीय सिंह अल्सर लगायत रोगबाट लामो समयदेखि पीडित रहेका थिए । काठमाडौँको चाक्सीबारीमा पुस १ गते वितेको राति १ बजे निधन भएको हो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहँदा उनले पटक–पटक जेल जीवन व्यतीत गर्नुका साथै भारतमा निर्वासनसमेत हुनुपरेको थियो ।
आज बिहान चाक्सीबारीस्थित निवासमा उनको निधन भएको थियो । श्रद्धाञ्जलीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका नेताहरू चाक्सीबारी पुग्नु भएको थियो ।
सानेपामा कांग्रेस सभापति शेरबहादुर देउवाले सिंहको पार्थिव शरीर माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका छन् । त्यस्तै पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेतागणले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यसअघि उनको पार्थिव शरीर चाक्सीबारीमा राखिएको थियो ।
सिंह २०४९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भई तत्कालीन काठमाडौँ नगरपालिकाको मेयर बनेका थिए । पिएल मेयर हुँदा सुधारका धेरै काम भएका थिए । उनकै नेतृत्वमा काठमाडौं नगरपालिकालाई २०५२ मंसिर २९ गते महानगरमा रूपान्तरण गरिएको थियो । त्यसैले महानगरले दुई दिनअघि आफ्नो ३०औं स्थापना दिवस मनाउँदा उनै पूर्वमेयर सिंहलाई राजनीति र समाजसेवातर्फ सम्मान गरेको थियो । मेयर बालेन शाहसहित जनप्रतिनिधिहरू चाक्सीबारी पुगेर सिंहलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलन एवम् कांग्रेसको राजनीतिमा महत्त्वपूर्ण भूमिका निभाउनु भएका उनले गणेशमान सिंहसँग निकट रही काम गरेका थिए । यद्यपि, २०६३ पछि भने उनी कांग्रेसको सक्रिय राजनीतिबाट टाढा रहदै आएका थिए ।
पिएल सिंह गणेशमानलाई साथ दिन चाक्सीबारी पुगेथें :
आफ्ना विचारमा अडिग रहेकैले नेपाली कांग्रेसका तत्कालीन नेता सिंहलाई लौहपुरूष भनिन्छ । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर थिए– गणेशमान सिंह । आन्दोलनका सर्वोच्च नेता गणेशमान भए पनि नेपथ्यमा उनका सहयोगी थिए– पिएल सिंह । उनकै दरिलो साथले गणेशमान सर्वोच्च नेता बन्न सफल बनेका हुन् ।
काठमाडौंको ठमेलस्थित चाक्सीबारीमा रहेको गणेशमानकै घरआँगनबाट उद्घोषण भएको २०४६ को जनआन्दोलनले पञ्चायत ढालेर बहुदलीय प्रजातन्त्र पुनस्थापना भएको हो ।
‘म सफाइको राजा हो’ : पिएल सिंह
राजनीतिमा न्याय–अन्याय छुट्याउन सक्नुपर्छ भन्ने मान्यता राख्ने पीएल सिंहले स्नातकसम्मको अध्ययन गरेका थिए । उनी प्रजातन्त्र पुनस्थापनालगत्तै भएको स्थानीय निकाय चुनावबाट काठमाडौंको ०४९–२०५४ अवधिमा मेयर निर्वाचित भएका थिए । मेयर रहेका बेला पिएल काठमाडौंमा प्रिय थिए । धनीदेखि गरिबसम्मको सम्पर्कमा रहने उनले कसैलाई विभेद गरेनन् । मेयर जितेपछि उनले ‘म सफाइको राजा हो’ भन्थे ।
‘उहाँ आफूलाई किङ अफ द स्वीपर भन्नुहुन्थ्यो, चुनावमा पनि स्वच्छ हराभरा काठमाडौं भन्ने उहाँको एजेन्डा थियो, उहाँले काम पनि त्यसैअनुसार गर्नुभयो ।’
प्रधानका अनुसार ‘सत्ता र सुविधाको लोभ पिएलमा कहिल्यै देखिएन ।’ उहाँ त्याग एवम् आदर्शका पर्याय हुनुहुन्थ्यो ।’
पिएल मेयर रहँदा नगर परिषद सदस्य थिए, चिनीकाजी महर्जन । उनी अहिले पनि काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष छन् ।
महर्जनले भन्नुभयो, ‘राजनीतिक तथा सामाजिक पृष्ठभूमि भएका सबै उमेर समूहका व्यक्तिहरूसँग मेयर हुँदा पिएल सिंह घुलमिल हुने र कुराकानी गर्ने गर्नुहुन्थ्यो, म मेयर हुँ, ठूलो पदमा पुगेँ भन्ने उहाँमा घमन्ड थिएन । भुइँ मानिसजस्तो हुनुहुन्थ्यो, दुःख गरेर आएकाले पनि हो कि !’ नगरपालिकाले सामान्य सरसफाइ र प्रशासनिक जिम्मेवारी मात्र निर्वाह गर्दै आइरहेको अवस्थामा पिएलले नगरपालिकालाई महानगरमा रूपान्तरण गरेको उहाँले उल्लेख गर्नुभयो । पिएल मेयर हुँदाका काम सम्झिँदै महर्जनले भन्नुहुन्छ, ’उहाँसँग त्यस बेलाको सरकार र जनता तथा फरक पार्टीसँग मिलेर काम गर्न सक्ने खुबी थियो ।’
त्यसबेला काठमाडौंमा ऐतिहासिक, व्यापारिक क्षेत्र निर्धारण गर्ने काम भएको र खुला स्थान चाहिन्छ भनेर खुलामञ्च र सुन्धारा क्षेत्रका पसल हटाएर वैकल्पिक स्थान भृकुटीमण्डपमा सार्ने काम पनि भएको महर्जनले जानकारी दिनुभयो । ‘‘सम्पदालाई माया गर्ने र आधुनिकतामा पनि लगाव भएका मेयर हुनुहुन्थ्यो त्यसबेला उहाँको कार्यशैलीमा सायद प्रश्नसमेत उठेन ।’ महर्जन भन्नुहुन्छ, ‘राजनीतिक र सामाजिक रूपमा संकुचित र सीमित त्यसबेलाको समाजमा प्रजातन्त्र आउनेबित्तिकै जिम्मेवारी लिएर पिएल सिंहले सुधारका काम गर्नुभयो । अंग्रेजी भाषामा उत्तिकै दखल राख्ने, क्षमतावान र सक्षम तथा गणेशमान सिंहजीको समिपमा रहेकाले अन्तर्राष्ट्रिय निकायमा उहाँले कुरा राख्न सक्नुभयो, महानगरलाई चिनाउनुभयो ।’
विएलको अर्को विशेषताका बारेमा प्रकाश पार्दै महर्जन भन्नुहुन्छ, ‘विपक्षीका कुरा पनि मेयरले सुन्नुपर्छ र सम्बोधन गरेर जानुपर्छ भन्ने पिएलबाट सिक्नुपर्छ ।’ ती दिन सम्झदै महर्जन भन्नुहुन्छ, ‘चिया खाएर किन नहोस् उहाँले विपक्षीका कुरा सुन्नुहुन्थ्यो, समस्या समाधान गरेर अघि जाने उहाँको शैली थियो, उहाँले काम र बोलीले नै सबैलाई खुसी पार्नुभयो ।’
कांग्रेसबाट उम्मेदवार भएर २०४९ मा चुनाव जितेर मेयर बनेका पिएल सिंहले दोस्रो कार्यकाल मेयरका लागि उम्मेदवार हुन टिकट मागेनन् ।
सिंह २०५६ सालको चुनावमा काठमाडौं– ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । पीएल २०५८ साउनमा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा जनसंख्या तथा वातावरण मन्त्रीसमेत बनेका थिए ।
कांग्रेस केन्द्रीय सदस्य रहेर पनि बिस्तारै पार्टी राजनीतिबाट पाखा पर्दै गएका थिए ।
विद्यार्थी युनियन नेताका रुपमा देशको प्रतिनिधित्व :
तत्कालीन राजा महेन्द्रले आजकै दिन अर्थात् ०१७ पुस १ गते जननिर्वाचित सरकार र जननिर्वाचित संसदमाथि ‘कू’ गर्दा पीएल युरोपमा सोसलिष्ट इन्टरनेशनल बैठकमा सहभागी हुँदै थिए । उनले विद्यार्थी युनियन नेताको हैसियतमा देशको प्रतिनिधित्व गरेका थिए ।
उनी युरोपबाट फर्किँदा तत्कालीन राजा महेन्द्रले गणेशमानलाई जेल पर्याइसकेका थिए । प्रकाशमान सिंहसहित गणेशमानका छोराछोरी सानै थिए । चाक्सीबारीबाट उनीहरू निकालिएका थिए । उनीहरू भाडाको घरमा बस्नु परेको थियो । त्यसबेला गणेशमानका परिवारको सहारा उनै पीएल बन्न पुगे ।
भमसेनदास ती दिन सम्झदै भन्नुहुन्छ, ‘गणेशमानजी त जेल पर्नुभयो, सर्वस्वहरण पनि भयो । परिवारका सदस्यहरू समस्यामा परे, त्यसबेला पीएल दाइले साइकलमा अण्डा बेचेर खर्चको जोहो गर्नुभएको थियो ।’
२०२५ मा गणेशमान सिंह जेलबाट बाहिर आएपछि भारतमा निर्वासित जीवन सुरू भयो । त्यसपछि पनि त्यो परिवारको अभिभावक मंगलापछि उनै पीएल बनेका थिए । गणेशमान सिंहको राजनीतिबाट प्रेरित पीएलले उनैको राजनीतिक लक्ष्यमा आफ्नो सम्पूर्ण जीवन समर्पण गरे । फलस्वरूप विवाह र घरबारबारे सोच्न पाएनन्, आजीवन अविवाहित रहे ।
गणेशमानका तर्फबाट आफैँ खटनपटनदेखि कार्यकर्ता व्यवस्थापनसम्म गर्दै आएका पीएल गणेशमान र मंगलादेवीको निधनपछि ‘टुहुराजस्ता’ भएका थिए ।
चाक्सीबारीप्रतिको घट्दो राजनीतिक आकर्षणसँगै उनको व्यक्तिगत प्रभाव पनि घट्दै गयो । त्यसपछि उनी चाक्सीबारीबाट बाहिरिएर आफ्नै भाइको परिवारसँग बस्न पुगेका थिए ।
अण्डा बेचेर गणेशमान परिवारको खर्च धान्ने पीएल सिंह :
सर्वस्वहरण भएपछि साइकलमा अण्डा बेचेर गणेशमान परिवारको खर्च धान्थे पीएल सिंह ।
०१५ सालमा गणेशमान सिंह संसदीय चुनाव लड्नुअघि चाक्सीबारी प्रवेश गरेका सिंह वर्षौंसम्म त्यहीँ रमाए । गणेशमान सिंहको भेटघाटदेखि कार्यकर्ता व्यवस्थापनसम्म उनैले गर्थे । ०१५ सालदेखि गणेशमान सिंह र मंगलादेवीको निधन नहुँदासम्म पीएल चाक्सीबारीमै बसे ।
गणेशमान पत्नी तथा नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहले त पीएललाई आफ्ना छोराहरूसरह चिनाउने गरेकी थिइन् । पीएललाई आफ्नो परिवारभन्दा गणेशमान परिवार र आफ्नो घरभन्दा चाक्सीबारी प्रिय हुने गरेको पीएलसँग निकट भएर काम गरेको कांग्रेस नेता भिमसेनदास प्रधानको स्मरण छ ।
गणेशमान सिंहका प्रमुख सहयोगी :
पिएलले लामो समय गणेशमान सिंहका प्रमुख सहयोगीका रूपमा काम गरेका थिए । उनी गणेशमानसँग किन कसरी जोडिए नयाँ पुस्तलाई जिज्ञासा हुन सक्छ ।
पिएल सिंहको जन्म १९९३ सालमा काठमाडौंको ताम्सिपाखामा भएको थियो । उनमा सानैदेखि राजनीतिप्रति आकर्षण थियो भने उनी समाजसेवामा पनि रूचि थियो ।
कांग्रेस नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले जहानीया राणा शासनविरूद्ध नेपाली कांग्रेसले गरेको २००७ सालको क्रान्तिकै बेलादेखि पिएल गणेशमानसँग निकट रहेको बताउनु हुन्छ । पिएलका मेयर हुँदा सल्लाहकार रहेका प्रधानले ती दिनको स्मरण गर्दै भन्नुभयो, ं‘पिएल दाइको घर चाक्सीबारी नजिकै ताम्सिपाखा हो । त्यहाँका चन्द्रलाल श्रेष्ठका छोरा पिएल किशोरावस्थादेखि नै गणेशमान सिंहसँग निकट रहनुभयो, पिएलका एक भाइ र दुई बहिनी छन् । तर पिएल दाइ किशोरावस्थादेखि नै चाक्सीबारीमै बस्नुभयो ।’
पिएलकै सहयोगका कारण गणेशमान सफल नेता भएको उहाँको जिकिर छ । उहाँले भन्नुभयो, ‘घरायसी मामिलाबाट गणेशमानजीलाई अलग्गै राखेर पूर्ण राजनीतिमा होमिने वातावरण र बन्दोबस्त पिएल दाइले नै गरिदिनुभयो, जसले गणेशमानलाई सफल हुन सहयोग पुग्यो ।’
राजनीतिप्रतिको आकर्षणले डोहो¥याएर गणेशमानसँग पुगेका पिएलको काँधमा बिस्तारै चाक्सीबारीको घर धान्ने र गणेमान सिंहका परिवारको रक्षा गर्ने जिम्मेवारीसमेत थपिन गयो ।
प्रधान भन्नुहुन्छ, ‘चाक्सीबारीको रेखदेख र मंगलादेवीको सुरक्षाका साथै प्रकाशमान लगायतलाई शिक्षादीक्षा दिने काम पनि पिएल दाइले नै गर्नुभएको हो, प्रतिकूल अवस्थामा पनि गणेशमानजीलाई उहाँले भरथेग गर्नुभयो । गणेशमाजीको छोराजस्तै रहेर उहाँले काम गर्नुभयो ।’
पिएल कमर्स क्याम्पसबाट विद्यार्थी नेता पनि भएका थिए । २०१५ सालमा बिपी कोइराला प्रधानमन्त्री बनेपछि एक सम्मेलन गरिएको थियो । त्यसमा क्याम्पस प्रतिनिधिका रूपमा पिएल सहभागी रहेको प्रधान सम्झन्छन् ।
२०१७ पुस १ गते राजा महेन्द्रले शासन हातमा लिएपछि बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई सुन्दरीजल जेल पठाइएको थियो ।
‘गणेशमानजीले सुन्दरीजल जेल जाँदा आफ्नो परिवारका सदस्यहरू पिएल सिंहलाई नै सुम्पिएर जानुभएको थियो । त्यसबेला प्रकाशमान सिंह ५ वर्षका थिए । उनीहरूलाई र घर सम्हाल्ने काम पिएलले नै गर्नुभएको हो,’ प्रधानले ती दिन सम्झदै जानकारी दिनुभयो ।
बिपी, गणेशमान र कृष्णप्रसाद करिब ८ वर्ष सुन्दरीजल बसेर त्यसपछि भारत निर्वासनमा जानु भयो । २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएसँगै उनीहरू सुन्दरीजलमा फेरि एक वर्ष जेल बसेका थिए ।
पिएललाई गणेशमानले पनि जिम्मेवारी दिने गरेका थिए । २०४२ सालमा कांग्रेसले सत्याग्रह गर्दा र २०४६ सालमा आन्दोलन गर्दा पिएल नै प्रवक्ता थिए । गणेशमानसँग निकट रहेर काम गरेकोले पनि हुनुपर्छ, सरल स्वाभावका पिएललाई कांग्रेसले मेयरको उम्मेदवार बनाएको थियो । त्यो चुनाव सिंहले जित्नु भो र मेयर बन्नु भयो पनि ।
काठमाडौंलाई महानगरमा रूपान्तरण गरेपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले पिएललाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए । त्यसबेलाको घटना सम्झँदै प्रधानले भन्नुहुन्छ, ‘उहाँले मागेको पनि होइन, गिरिजाबाबुले केन्द्रीय सदस्य बनाइदिनुभयो, त्यसपछि उहाँले सबैलाई लड्डु खुवाएको मलाई अहिले पनि सम्झना आउँछ ।’
२०६२/६३ को जनआन्दोलन र अन्तरिम संविधानप्रति असन्तुष्टि :
पछिल्लो जनआन्दोलन र यसले ल्याएका परिणाममा भने पिएल केही असन्तुष्ट देखिन्थे । ‘मेरो काम २०४६ को परिवर्तनका उपलब्धि जोगाउनु हो भन्ने उहाँको धारणा थियो,’ प्रधान भन्नुहुन्छ, ‘उहाँ २०४६ सालको परिवर्तन र त्यसपछिको संविधानको हिमायती हुनुहुन्थ्यो । २०६२÷६३ को जनआन्दोलन र त्यसपछिको अन्तरिम संविधानमा उहाँका केही असन्तुष्टि रहेछन् । मैले उहाँलाई पुनस्थापित संसदमा जाऊँ भनेको थिएँ तर उहाँ मान्नु भएन ।’
२०५९ जेठ ८ मा विघटित प्रतिनिधिसभा जनआन्दोलनको बलमा २०६३ वैशाखमा पुनस्र्थापित भयो । तर, त्यो घटनालाई पीएल सिंहले फरक ढंगले असहमति राखे । उनको तर्क थियो, जनताबाट निर्वाचित प्रतिनिधि राजाबाट सिफारिसमा पुनःस्थापित संसद्मा जानु हुन्न ।
त्यही तर्कका आधारमा कृष्णप्रसाद भट्टराई पनि पुनःस्थापित संसद् फर्किएनन् । दुवै नेताले ‘राजाको निगाहबाट प्राप्त र निर्वाचन पद्धतिबाट आएका सहभागी हुने संसदमा नजाने’ निर्णय लिएको भिमसेनदास प्रधानले सुनाउनु भयो । उहाँको चाहना, चुनावमा भाग नलिएको र हिंसात्मक विद्रोहबाट आएको माओवादीलाई संसदमा लैजानु हुँदैन भन्ने थियो ।
स्मरणीय छ, २०६३ सालको आन्दोलनपछि राजनीतिक दलको दबाबमा राजाले पुनःस्थापित गरेको प्रतिनिधिसभाका २०५ सदस्यमध्ये कृष्णप्रसाद भट्टराई र पीएल सिंहले शपथ लिन अस्विकार गरेका थिए ।
कांग्रेसले पछिल्लो समय लिएको नीतिप्रति कृष्णप्रसाद भट्टराई जस्तै उनले पनि असहमति राख्दै आएका थिए ।
पिएलका अन्तिम दिनहरू :
केही वर्षअघि चाक्सीबारीबाट निस्किएका उनी बिरामी परेपछि गणेशमानकी बुहारी सिर्जना सिंहले उनलाई फेरि चाक्सीबारीमै ल्याएर राख्नु भएको थियो । गणेशमान सिंहको सेवक बन्दा बन्दै विवाह गर्न सकेम बिर्सनु भएका पिएलका अन्तिम दिन ताका अल्सर बिग्रिएर आन्द्रामा समस्या आएपछि गतवर्ष मात्र उनको मेडिसिटी अस्पतालमा अप्रेसन गरिएको थियो । खानामा अरुचि भएपछि अस्पताल लैजाँदा रगतमा होमोग्लोबिनको मात्रा कम भएको रिपोर्ट आयो । मेडिसिटीको आईसीयूमा उपचार हुँदै गर्दा सिंहलाई रगतसहित लगातार ‘भमिट भयो’ । आकस्मिक इन्डोस्कोपी गर्दा अल्सरले आन्द्रामा ठूलै असर पु¥याएको पत्ता लागेको थियो । त्यसपछि आकस्मिक शल्यक्रिया गरियो ।
सिंह होसमा फर्किएर डिस्चार्ज हुँदै गर्दा गणेशमानकी बुहारी सिर्जना सिंहले पीएललाई चाक्सीबारीमै रहन प्रस्ताव गर्नुभयो, पीएलले प्रस्ताव स्वीकार गरे । त्यसयता सिंह चाक्सीबारीमा बस्दै आएका थिए ।
प्रधान भन्नुहुन्छ, ‘गणेशमानजी र मंगलाजीको निधनपछि पीएल दाइ चाक्सीबारीबाट बाहिर बस्न थाल्नुभयो । तर, उहाँको अन्तिम इच्छा चाक्सीबारीमै बस्ने थियो, गतवर्ष दाइ गम्भीर बिरामी परेर अस्पताल भर्ना हनुभयो । उहाँलाई अस्पतालबाट डिस्चार्ज भएपछि भने चाक्सीबारीमै राखिएको थियो ।’
प्रधान भन्नुहुन्छ, ‘किशोरावस्थादेखि नै पिएल दाइ चाक्सीबारीमै बस्नुभयो । केही वर्षअघि उहाँ त्यहाँबाट निस्कनुभएको थियो । गणेशमानजीकी बुहारी सिर्जनाजीले बिरामी भएको भन्ने सुनेपछि उहाँलाई फेरि चाक्सीबारीमै ल्याउनुभएको थियो, पिएल दाइको अन्तिम इच्छा नै गणेशमानजीले प्रजातन्त्रका लागि त्याग र तपस्या गरेको चाक्सीबारीमा जीवन बिताउनु थियो । चाक्सीबारीकै घरमा बस्ने इच्छा थियो । त्यही घरमा आज उहाँले जीवन त्याग्नुभयो ।’
तीन दिन आधा झण्डा झुकाउने : १३ औं दिन शोकसभा
यसैबीच, नेपाली कांग्रेसले पीएल सिंहको निधनमा शोक प्रस्ताव पारित गरेको छ । पार्टी कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उनको निधनमा आज शोक प्रस्ताव पारित गरेको हो ।
बैठकले सिंहको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै स्व. सिंहप्रति श्रद्धाञ्जलीका साथै परिवारमा गहिरो शोक व्यक्त गरेको छ । दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनु भयो । उहाँका अनुसार सिंहप्रति सम्मान प्रकट गर्दै बैठकले आज, भोलि र पर्सी तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको छ । पौडेलले भन्नुभयो, ‘भोलि केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोकपुस्तिका राख्ने र १३औँ दिनमा काठमाडौंमा शोकसभा आयोजना गर्ने निर्णयसमेत गरिएको छ ।’
विसं २०५६ मा उनी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य भए । सिंहले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ ।
यसैगरी, काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधनमा काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिइएको छ । सिंह काठमाडौं महानगरपालिकका संस्थापक मेयर समेत हुन् ।
केही दिन अघि उनलाई महानगरपालिकाले विशेष सम्मान गरेको थियो ।
प्रकाशित मिति २०८१ पुष १, सोमबार १९:१७ गते