
काठमाडौं– नेपाल बाल साहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित हुनु भएको छ । काठमाडौंको बागबजारमा सो निर्वाचन गत चैत्र ९ गते भएको हो ।
घोषित मत परिणाम अनुसार आचार्यले ४२ मत पाउँदै निर्वाचित भएको निर्वाचन संयोजक डा. शैलेन्दुप्रकाश नेपालले बताउनु भयो । उहाँका अनुसार उहाँका प्रतिद्वन्दी डा शशि थापा पण्डितले २७ मत पाउनुभयो । 
नयाँ कार्यसमितिमा महासचिव विष्णुकुमार खत्री (विष्णु केसी), सचिव भानु भट्टराई, प्रकाशकतर्फ केशव पराजुली, शिक्षकतर्फ अनिरुद्र अर्याल, चित्रकारतर्फ अर्पिता शाक्य र महिलातर्फ यशोदा अधिकारीको मात्र उम्मेदवारी परेको हुँदा उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको थियो ।
अघिल्लो दिन भएको निर्वाचनमा उपाध्यक्षतर्फ लमजुङे साहित्यकार विजयराज न्यौपाने ४० मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी डा. यादेवी ढकालले २८ मत पाउनु भएको थियो । कोषाध्यक्षमा डा. सीता सुवेदी पन्थीले ४० मत ल्याएर विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्दी राजेन्द्रभक्त जोशीले २९ मत प्राप्त गरेको जानकारीमा आएको छ ।
त्यस्तै, खुला सदस्यमा क्रान्ति पाण्डे र समन श्रेष्ठ निर्वाचित हुनु भएको छ । समनले ४१ मत पाउँदा क्रान्तिले ३७ मत पाउनु भयो । यता सन्जोगले ३० मत पाउँदा सुशीलाले भने २२ मत मात्र प्राप्त गर्नु भएको थियो ।
निर्वाचित भएसँगै आचार्यले समाजलाई बाल साहित्यकारको साझा संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । निर्वाचित अध्यक्ष आचार्यले भन्नुभयो, ‘सम्पूर्ण बालसाहित्यकारहरूको एउटा साझा संस्थाको रूपमा विकास गर्दै लैजान र सातै प्रदेशको समितिलाई मजबुत ढङ्गले अगाडि बढाउने छु ।’
नयाँ कार्यसमिति ०८२–८३ को कार्यकालका लागि चयन गरिएको नेपाल बालसाहित्य समाज गण्डकी प्रदेश उपाध्यक्ष एवम् केन्द्रीय प्रतिनिधि रमेशचन्द्र घिमिरेले अन्तरङ्ग न्युजलाई जानकारी दिनु भएको छ । उहाँका अनुसार कुल ७० मतदाता रहेको समाजको निर्वाचनमा ६९ जनाले निर्वाचनमा मतदान गरेका थिए ।
प्रकाशित मिति २०८१ चैत्र ११, सोमबार १८:०८ गते