मर्स्याङ्दीका केही पसल दर्ता र नवीकरण बिना सञ्चालनमा

मर्स्याङ्दीका केही पसल दर्ता र नवीकरण बिना सञ्चालनमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असोज २६ गते आईतबार ०६:४९

ती दुवैथरी पसलका सञ्चालकलाई यथाशिघ्र प्रक्रिया पुरा गर्न आग्रह गरिएको गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले बताउनु भयो ।

‘खुशीको कुरा के छ भने यो बर्ष पहिलो पटक अनुगमनमा किराना तथा खाद्यान्न पसलमा म्याद गुज्रेका समान भेटिएन ।’ मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले बताउनु भयो । 

लमजुङ । लमजुङको उत्तरी क्षेत्रमा रहेको मर्स्याङ्दी गाउँपालिकाले आफ्नै नेतृत्वमा उपभोक्ताहरूका लागि स्थापित विभिन्न प्रयोजनका पसलहरूको अनुगमन थालेको छ । एकै दिन २५ पसलमा अनुगमन गरिएकामध्ये झण्डै आधा जसो पसलहरू दर्ता तथा नवीकरण बिना सञ्चालनमा रहेको असोज २४ गते पाइएको हो ।
मर्स्याङ्दी गाउँपालिकाको मुख्य बजार क्षेत्र रहेको वडानं– ३ को खुदी बजार क्षेत्रमा सञ्चालनमा रहेका फेन्सी, किराना, खाजा पसल, ग्यारेज लगायतका २५ पसलको गाउँपालिकाद्वारा अनुगमन गरिएको हो । अनुगमन कार्यको नेतृत्व गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङ आफैले गर्नु भएको थियो । उहाँका अनुसार पाँच छ वटा पसल दर्ता बिना सञ्चालनमा रहेको पाइएको छ । उहाँले भन्नुभयो, ‘त्योभन्दा अलिक बढी संख्यामा नवीकरण नभएको पाइयो ।’
ती दुवैथरी पसलका सञ्चालकलाई यथाशिघ्र प्रक्रिया पुरा गर्न आग्रह गरिएको गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले बताउनु भयो । उहाँका अनुसार विषेश गरी खाजा पसल र ग्यारेज क्षेत्रमा सरसफाइमा ध्यान दिनु पर्ने देखिएको छ । उहाँले भन्नुभयो, ‘अनुगमन टोलीले व्यवसायीहरूलाई कमी कमजोरी सुधार्न सुझाव दिएको छ ।’
अनुगमन टोलीले खुदी क्षेत्रका व्यवसायीहरूलाई आवश्यक मापदण्ड पुरा गरी व्यवसाय सञ्चालन गर्न र असल व्यवसायीको पहिचान कायम गर्न आग्रह गरेको प्रशासन शाखा प्रमुख अर्जुन चपाईंले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाको कार्य क्षेत्र रहेका व्यवसायीलाई अनिवार्यरूपमा पालिकामा सुचिकृत हुन अनुरोध गरिएको छ ।
पालिकाका अन्य वडामा रहेका बजार क्षेत्रमा पनि नियमित अनुगमन गरिने गाँउपालिका अध्यक्ष अर्जुन गुरूङले जानकारी दिनुभयो । उहाँका अनुसार यो कार्य पहिलो पटक सुरु गरिएको हो । उहाँले भन्नुभयो, ‘खुशीको कुरा के छ भने यो बर्ष पहिलो पटक अनुगमनमा किराना तथा खाद्यान्न पसलमा म्याद गुज्रेका समान भेटिएन ।’
यसरी सुधारात्मक कदम चाल्नका लागि र मर्यादित व्यापार तथा व्यवसाय सञ्चालन गर्नका लागि अनुरोध गरिएको असल व्यापारी तथा व्यवसायका पक्षमा सधैं पालिका रहेको अध्यक्ष गुरुङको भनाइ छ ।
मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको नेतृत्वमा भएको सो अनुगमनमा गाउँपालिकाका उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, प्रशासन शाखा प्रमुख अर्जुन चपाइँ, स्वास्थ्य शाखा प्रमुख लुल घले सहितको अनुगमन टोलीले अनुगमन गरेको हो ।
प्रकाशित मिति २०८२ आश्विन २६, आईतवार ०६:४९ गते
हजुरको प्रतिक्रिया