पर्यटन शब्द अहिले सबैलाई प्यारो हुन्छ । कसैले पर्यटन सम्वन्धी कुराकानी निकाल्यो भने सबैका ध्यान तानिन्छ । कुनै नयाँ ठाउमा घुमफिर गरेर आएको मानिसको कुरा सुन्दा जस्लाई पनि जानपाए हुन्थो भने झैं लाग्छ । पहाड, हिमाल उपत्यका र प्रकृतिले सिंगार दिएका सम्पदा नदेखेकाहरूलाई पुग्न मन लाग्दछ । यो मानवीय स्वभाव हो । पर्यटक भनेको नयाँ कुरा बुझन, नयाँ ठाउ जान, अनि सकेसम्म वढी ज्ञान र अनुभवहरू प्राप्त गर्नु हो । अहिले नेपालमा घुम्ने संस्कृतिको विकास भएको छ । घुम्ने योजनामा हुनुहुन्छ ? भने भोजपुरमा रहेका प्राकृति ऐतिहासिक र पुरातात्विक स्थलहरूको बारेमा अध्यन अनुसन्धार गर्न सक्नुहुन्छ । पर्यटनको लागि भोजपुर इतिहास, संस्कृति, श्रम र पहिचानको जिउँदो दस्ताबेज पनि हो ।

पर्यटन भन्नासाथ कैला कपाल, गोरो अनुहार र अंग्रेजी बोल्ने विदेशीहरू मात्र हुन भन्ने मानसिकता परिवर्तनसँगै त्यो धारणा क्रमशः भत्किँदै गएको छ । नेपालीहरू पनि पर्यटनको लागि आफ्नै देशको भूगोल, संस्कृति, कृषि र उत्पादनप्रति जिज्ञासु हुन थालेका छन । पर्यटकहरू दुर जराजका गाउँमा पुगेर स्थानीय जीवनशैली बुझ्ने, खेत– बारी, बगैंचा र फर्म अवलोकन गर्ने, किसानसँग प्रत्यक्ष संवाद गर्ने प्रवृत्ति बढदो छ । भोजपुरमा घुम्न जाँदा धेरै पर्यटकहरूको ध्यान टयाम्के, सेल्मे, सुन्तले, दिङ्ला, मैयुङ डाँडा, सिलिचुङ, हतुवागढी, साल्पा पोखरी, हाँसपोखरी, घोडेटार आदि स्थानले तान्दछ । तर आजभोलि भोजपुरमा पुग्ने धेरै पर्यटकको पहिलो प्रश्न हुन्छ रुद्राक्ष खेती कहाँ हेर्न पाइन्छ ? भोजपुरका दक्षिणी भेग, अहिले रुद्राक्ष उत्पादनका लागि परिचित गाउँ भएका छन । आजभोलि पर्यटकहरू भोजपुरको रुद्राक्ष फर्म अवलोकन गर्नेहरुको सख्या बढदै गएको छ । भोजपुरमा पुगेपछि पर्यटकहरूले रुद्राक्ष फर्मको अवलोकन मात्र गर्दैनन ग्रामीण जीवनशैलीको अनुभव गर्दै रुद्राक्ष उत्पादन प्रक्रिया बुझछन र किसानसँग अन्तक्र्रिया गर्छन ।
रुद्राक्ष केवल धार्मिक आस्था मात्र होइन यो कृषि पर्यटन र अर्थतन्त्रसँग जोडिएको उत्पादन हो । भोजपुरमा किसानहरूले रुद्राक्षको फर्म विस्तार गर्दै निर्यात गर्न थालेका छन । पर्यटकहरू रुद्राक्षको बोट, प्रशोधन प्रक्रिया र विभिन्न मुखी रुद्राक्ष हेर्न गाउँमा पुग्छन । भोजपुरमा विशेषत किँरात र राई जातिहरूको वाहुल्यता रहेको छ । त्यसको अलवा व्राहमण, क्षेत्री, नेवार, तामाङ, र्शेपा लगायतका जातजातिको पनी वसोवास रहेको छ । रुद्राक्ष हेर्न गाउँमा पुग्दा किँरात र राई जातिहरूको संस्कृतिले पर्यटकहरूलाई नौलो अनुभूति हुन्छ । भोजपुरमा घुम्नको लागि कुनै असुबिधा छैन । आजभोलि ग्रामीण क्षेत्रमा पनि मोटर मार्ग निर्माण भएको । घुम्न जाने पर्यटकहरूसंग आफ्नै साना सवारी साधन भयो भने घुम्ने समय छिटो र धेरै ठाउँमा पुग्न सकिन्छ । भोजपुरमा खान बस्नको लागि ग्रामीण क्षेत्रमा पनि होटल र होमस्टेको सुविधा समेत छ । भोजपुरमा रुद्राक्ष मात्र होइन पर्यटन प्रवद्र्धन गर्नका लागि पर्यटकीय क्षेत्रमा योजनाबद्ध रुपमा चिया खेती विस्तार भएको छ । भोजपुर हिमाली जिल्ला त होइन तर पर्यटकहरूले यात्रामा सगरमाथा, मकालु, कञ्चनजगा र गौरीशंकर लगायत हिमश्रृखलाहरूको अवलोकन गर्न सक्दछन ।

कुनै समय भोजपुर भन्ने बित्तिकै नेपाली जनमानसमा खुकुरीको चमक सँगै वीरताको कथा झल्किन्थ्यो । पूर्वी पहाडको त्यो पहिचान केवल भौगोलिक सीमाभित्र सीमित थिएन । राष्ट्रिय अस्मिता र शिल्पकौशलसँग जोडिएको थियो । आज पनि जब हामी भोजपुर भन्छौं, त्यो नामसँगै परम्परा, तपस्या, विद्रोह र अध्यात्मका अनेक तहहरु खुल्छन । तर समयको प्रवाहसँगै भोजपुरको पर्यटन प्राथमिकता बदलिएको छ । खुकुरीको स्मृतिलाई पछाडि पार्दै रुद्राक्ष खेतीको फर्म पर्यटनका लागि आकर्षण बनेका छन । भोजपुरे खुकुरी केवल घरेलु औजार थिएन । स्थानीय कारीगरको अद्वितीय शिल्पकला थियो । भोजपुर बजार वरिपरिका कालीगढहरूले बनाउने खुकुरीको धार, बनोट र सन्तुलनले खुकुरीलाई देश–विदेशसम्म प्रसिद्ध बनायो । बि.सं १८७२ नेपाल सरकारको पैसा काट्ने टक्सारनै भोजपुरमा थियो । यो काम भोजपुरको तत्कालीन खिका माछा अर्थात बाँडा गाउँ हालको टक्सार बजारमा टकमरी गर्ने काम हुन्थ्यो । त्यस स्थानको नाम अहिले टक्सारले प्रचलित छ । टक्सारको उद्योगबाट कृषि औजार र अन्य भाँडाकुडा बनाउने काम पनि हुन्थ्यो । जसबाट भोजपुरको करुवा, खुकुरीले प्रसिद्धि कमाएको थियो । तर आजभोलि तत्कालीन प्रचलनमा आएका अधिकांश उद्योग बन्द भएका छन् । भोजपुरमा निर्माण हुने विशेष प्रकारको खुकुरीलाइ सिरुपाते खुकुरी भनिन्छ ।

प्राकृतिक रुपमा रुद्राक्ष उत्पादनका लागि भोजपुरको हावापानी र माटो निकै उपयुक्त मानिन्छ । विशेषगरी षडानन्द नगरपालिका, साल्पासिलिछो, रामप्रसाद राई र टेम्केमैयुङ गाउँपालिकाका विभिन्न वडाहरूमा रुद्राक्षका ठूला फर्महरू विस्तार भएका छन । पहिले जङ्गलमा प्राकृतिक रुपमा मात्र पाइने रुद्राक्षलाई अहिले किसानहरूले व्यावसायिक रुपमा खेती गर्न थालेका छन । जसले स्थानीयको आर्थिक जीवनस्तरमा ठूलो परिवर्तन ल्याएको छ । षडानन्द नगरपालिकालाई रुद्राक्षको राजधानीका रुपमा चिनिन थालेको छ । भोजपुरको हावापानी र माटो रुद्राक्ष उत्पादनका लागि उपयुक्त भएकोले फराकिलो क्षेत्रफलमा रुद्राक्षको फर्ममा विकसित गरिएका छन । रुद्राक्ष केवल कृषि उत्पादन मात्र होइन, हिन्दू धर्म–संस्कृतिसँग गाँसिएको पवित्र प्रतीक पनि हो । विशेषतः भगवान शिवसँग यसको गहिरो सम्बन्ध मानिन्छ । भोजपुरमा अहिले रुद्राक्ष फर्महरू अवलोकन गर्न विद्यार्थी, अनुसन्धानकर्ता, धार्मिक आस्थावान व्यक्ति र नयाँ ठाउमा घुम्न रुचाउने पर्यटकहरू समेत भोजपुरमा पुगेर रुद्राक्षको बिरुवा कसरी रोपिन्छ भनेर हेर्छन । फल टिप्ने र प्रशोधन प्रक्रिया बुझछन । असली–नक्कली छुटयाउने तरिका सिक्छन । स्थानीय किसानसँग अनुभव साटासाट गर्छन । पर्यटकहरूले गर्दा रुद्राक्ष फर्म अवलोकनसँगै स्थानीय होटल, यातायात, हस्तकला र धार्मिक सामग्रीको व्यापार पनि बढेको छ ।

रुद्राक्ष उत्पत्तिका विभिन्न कथा पुराणहरूमा वर्णित छन । रुद्र भगवान शिवकै एक नाम तथा आक्षको अर्थ आँसु हो । रुद्राक्षलाई कतै भगवान शिवको आँसु तथा कतै पसिना जमिनमा खस्दा त्यसैबाट उत्पन्न भएको बताइएको छ । रुद्राक्ष दानामा हुने प्राकृतिक घेरालाई मुख भनिन्छ । हालसम्म भोजपुरमा एक मुखेदेखि एक्काईस मुखे रुद्राक्षका दाना फेला परेका छन । एकमुखे रुद्राक्षलाई साक्षात शिवस्वरुप मानिने भएकाले यो अमूल्य हुन्छ । रुद्राक्ष भगवान शिवसंग सम्बन्धित भएकाले यसलाई धागोमा उनेर वा मालाका रुपमा धारण गर्दा सकारात्मक उर्जा प्राप्त हुनुका साथै धार्मिक एवं शारीरिक लाभ हुने विश्वास छ । रुद्राक्ष धारण गर्ने व्यक्तिले त्यसबाट समुचित लाभ प्राप्त गर्न मद्य, मांस, लसुन, प्याजजस्ता तामसी भोजन गर्न नहुने मान्यता छ । रुद्राक्षका विषयमा वैज्ञानिक अध्ययन समेत भएका छन भने थप शोध अनुसन्धान जारी छ । रुद्राक्षलाई नीलो संगमरमर पनि भनिन्छ । वनस्पतिशास्त्रमा रुद्राक्षलाई इलियोकार्पस गेनिट्रस भनिन्छ । गोलो, खस्रो, कठोर एवं लामो समयसम्म नबिग्रने रुद्राक्ष वास्तवमा एक प्रकारको बीज हो । पांचमुखी रुद्राक्ष बढी संख्यामा पाइन्छ भने एक र चौधमुखी रुद्राक्ष दुर्लभ हुन्छ । भगवान शिवको प्रतीक मानिने रुद्राक्षलाई भोग तथा मोक्षदायक मानिन्छ । रुद्राक्षका आकार, प्रकार, रङ, रुप, मुख अर्थात पाटारधर्सा आदिका आधारमा उत्कृष्ट, मध्यम र सामान्य मानिन्छ । नेपाल, भारत, श्रीलङ्का, थाइल्यान्ड, इन्डोनेसिया, अस्टे«लिया आदि देशमा रुद्राक्ष पाइए पनि नेपालको रुद्राक्ष सर्वाधिक महत्वपूर्ण मानिएको छ ।

इतिहासमा भोजपुरमा रुद्राक्ष विसं १९३२ भन्दा पहिले भारतको काशीबाट ल्याएर बालागुरु षडानन्द अधिकारीले दिङलामा रोपेको जनश्रुति छ । विश्वभरमा रुद्राक्ष १२३ प्रजाति पाइए पनि नेपालको रुद्राक्ष विभिन्न प्रकारको रोगमा समेत प्रयोग हुने गर्दछ । रुद्राक्ष समुद्री सतहदेखी एक हजार चार सय मिटरसम्मको उचाइमा खेती गर्न सकिने विज्ञहरुको भनाइ छ । रुद्राक्ष धार्मिक सँगसँगै सजावट र श्रृङ्गारका लागि पनि प्रयोग हुँदै आएको छ । भोजपुरमा उत्पादित रुद्राक्षबाट माला, ब्रासलेट, कन्ठी, झुम्का, औँठी, पूजा सामग्री लगायतका वस्तुहरू बनाउने गरिन्छ । हाल भोजपुरमा उत्पादन भएका रुद्राक्ष तथा सामग्रीहरू नेपालकै काठमाडौँ, धरान, विराटनगर लगायतका क्षेत्रका साथै भारत र चीनमा समेत निर्यात हुने गरेको छ । रुद्राक्षलाई प्राचीन ग्रन्थहरूमा चमत्कारिक तथा दिव्यशक्ति स्वरुप भनिएको छ । रुद्राक्ष धारण गर्नाले मुटुसम्बन्धी समस्या, रक्तचाप एवम् घबराहट आदिबाट मुक्ति मिल्छ । रुद्राक्षका विषयमा बताइएका चमत्कारिक गुण वास्तविक हुन वा होइनन भन्ने कुरा पत्ता लगाउने उद्देश्यले गरिएका आजसम्मका शोध कार्यबाट कतिपय गुणहरूको पुष्टि भएको छ ।

भोजपुरको षडानन्द नगरपालिका र सदरमुकाम आसपासमा रहेका बजार तथा गाउँमा कार्तिक मङसिर महिनामा चीनबाट आएका रुद्राक्ष व्यापारी देखिन्छन । गाउँघरमा रुद्राक्षलाई दाना भनेर चिन्ने गरिन्छ । भारतीय बजारमा निर्यात हुँदै आएको रुद्राक्ष केही वर्षयतादेखि चीनमा समेत रुद्राक्षको व्यापार हुन थालेको छ । चिनियाँ रुद्राक्ष व्यापारी गाउँ घरसम्म पुगेर किसानसँगै रुद्राक्ष कारोबार गर्न थालेका छन । चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेपछि त्यहाँका व्यापारी किसानको बोटसम्मै पुगेर रुद्राक्ष खरिद गर्न थालेका छन । चिनियाँ व्यापारीहरूले रुद्राक्षको स्वरुप परिवर्तन गर्दछन । चिनियाँ व्यापारीले रुद्राक्षलाई आवश्यकता अनुसार क्लिप प्रयोग गरेर थेप्चे, कण्ठे, चिल्लो, मदाने र आकारका दानाहरू उत्पादन गरिरहेका छन । चीनमा सजावट र शृंगारिक गहनाका रुपमा रुद्राक्ष प्रयोग गर्ने गरिएको छ । प्राय गरी चिनिया व्यापारीले किसानको बोटबाट नै मोलमोलाई गर्ने गर्दछन । अहिले भोजपुर उत्पादनमुखी धार्मिक–आर्थिक केन्द्रका रुपमा पनि चिनिन थालेको छ । विशेषगरी रुद्राक्ष खेती र प्रशोधनले यहाँको स्थानीय अर्थतन्त्रमा नयाँ उर्जा भरेको छ । रुद्राक्षलाई धेरैले केवल धार्मिक आस्थासँग जोडिएको माला वा पूजा सामग्रीका रुपमा मात्र बुझने गर्छन । तर जब पर्यटकले फर्ममा गएर रुद्राक्षको बोट, फल, बीउ, वर्गीकरण, प्रशोधन र बजारसम्मको यात्रा प्रत्यक्ष देख्छन, तब पर्यटकहरू उत्पादनको वैज्ञानिक र आर्थिक पक्षसँग परिचित हुन्छन ।

भोजपुरमा जादा बालागुरु षडानन्द अधिकारीले स्थापना गरेको पहिलो संस्कृत पाठशाला दिङ्ला र योगमायाले जल समाधि लिएको क्षेत्र मझुवाबेँसी धेरै पर्यटकहरू पुग्दछन । आजभन्दा १५२ वर्ष अगाडि विसं १९२४ भोजपुरमा जन्मिएकी योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता हुन । तत्कालीन अस्वथामा समाजको कठोर शासनप्रति विद्रोहको चरम स्वर उराल्ने क्रममा उनले बि.स १९९८ असार २२ गते शनिवार आफ्ना अनन्य भक्तहरू समेतलाई समेटेर जलसमाधि लिएकी थिइन । त्योभन्दा ३ वर्ष अगाडि विसं १९९५ मा आफू लगाएर २४० जनाले सामूहिक अग्नि समाधि लिने घोषणा समेत गरेकी थिइन । राणाकालीन अवस्थ्यामा नारी मुक्तिका कुरा, सति प्रथा, बाल विवाह, उच निच जातजाति उन्मूलन, विधवाले पुनः बिहे गर्न पाउनु पर्छ भन्ने जस्ता अनेकौ क्रान्तिकारी माग राखी राणाहरूको विरुद्धमा आवाज उठाउने नारी हुन योगमाया । तत्कालीन शासन सत्ताको विरुद्धमा आवाज उठाउने क्रममा आफूसहीत ६८ जना एकै साथ अरुण नदीमा जलसमाधि लिने साहस पक्कै सानो थिएन । त्यो सिर्फ आत्महत्या मात्रै थिएन । ठूलो संघर्ष थियो । त्यो सरकारविरुद्घ निकै ठूलो विरोधको अभिव्यक्ति थियो ।

पर्यटनका लागि भोजपुर तपस्या, विद्रोह र उद्यमशीलताको संगम पनि हो । प्राकृतिक सौन्दर्यहरूको संगम, विविध हावापानी र मनोरम दृश्यावलोकन, डाँडाकाँडा, झरना, नदी, कुण्ड, बनस्पति, जंगली जनावर, चराचुरुङगी भोजपुरमा पर्यटकले देख्न सक्दछन । खुकुरीको धार, डिङलाको तपस्या, सतिघाटको बलिदान र रुद्राक्षको हरियाली यी सबै मिलेर भोजपुरको पहिचान भएको छ । पर्यटन केवल घुम्ने मात्र होइन इतिहास, संस्कृति र अर्थतन्त्रलाई एउटै सूत्रमा बाँध्ने माध्यम पनि हो । पर्यटनको दीगो विकासका लागि अब भोजपुरमा खुकुरी शिल्पलाई जीवित संग्रहालयका रुपमा विकास गर्ने, डिङलालाई शिक्षाको ज्योति छर्ने बालागुरु षडानन्द शैक्षिक–आध्यात्मिक अध्ययन केन्द्रका रुपमा प्रवद्र्धन गर्ने, ऐतिहासिक मझुवाबेसीलाई संरक्षण गर्ने र रुद्राक्ष खेतीलाई व्यवस्थित कृषि–पर्यटनमा रुपान्तरण गर्ने । यी चार आयामलाई भोजपुरमा पर्यटन सर्किटका रुपमा विकास गर्न सके पूर्वी नेपालमा नयाँ पर्यटन मानचित्र तयार हुन सक्छ ।
कसरी जाने ?
भोजपुर जानको लागि इटहरीदेखि धरान धनकुटा, मुलघाट हुदै लेगुवा बजार पुग्नु पर्दछ । मुलघाटमा तमोर नदी पर्दछ भने लेगुवामा अरुण नदी । हिलेदेखि लेगुवासम्म २६ किलोमिटर पर्दछ । लेगुवा बजारदेखि अरुण नदीको पुल तरेपछि भोजपुर सुरुहुन्छ । लेगुवाको अरुण नदीको पुल, धनकुटा र भोजपुर जोडने पुल हो । काठमाडौदेखि मध्यपहाडी लोकमार्गबाट यात्रा गर्दा घुर्मी, जयरामघाट खोटाङ भएर पनि भोजपुर पुग्न सकिन्छ । अर्को बाटो हो चतरादेखि मोटरबोटबाट पनि भोजपुरको हतुवागढी पुग्न सकिन्छ । अर्कोतर्फ चतराबाट तमोर करिडोरबाट मोटरमा पनि मुलघाट हुदै लेगुवा बजार पुग्न सकिन्छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८२ फाल्गुन ९, शनिबार ०८:२४ गते