नियात्रा : दैलेख–सुर्खेत यात्रा, अविस्मरणीय अनुभवको तीन दिन

नियात्रा : दैलेख–सुर्खेत यात्रा, अविस्मरणीय अनुभवको तीन दिन

वंशीकुमार शर्मा

@antaranganews

२०८३ बैशाख १८ गते शनिवार ०६:४०

नेपालका धार्मिक तथा प्राकृतिक सम्पदाले पर्यटनको अपार सम्भावना बोकेको छ । यसले नेपालका धार्मिक पर्यटकीय स्थल र क्षेत्रको अन्तराष्ट्रिय प्रचार र सम्बन्ध जोड्ने प्रचुर सम्भावना देखिन्छ । नेपालका धार्मिक पर्यटकीय क्षेत्रमा आउने धार्मिक पर्यटकबाट नेपालका होटल, यातायात र स्थानीय हस्तकला, लोक संस्कृतिका क्षेत्रमा ठूलो योगदान पु्र्याउने निश्चित छ ।

तुलसीपुर आइपुग्दा तीन दिनको यात्रा जीवनको अविस्मरणीय पाना बनेर रह्यो ।

गत चैत २८ गते (२०८२ साल), बिहान दाङको तुलसीपुरमा मौसम असाध्यै रमाइलो थियो । हल्का घाम, न्यानो हावा र मनभित्रको उत्साहले हाम्रो यात्राको सुरुवातलाई विशेष बनाइरहेको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति दाङ र जुनियर रेडक्रसका शिक्षक नायकहरूसहित हामी दैलेखतर्फ प्रस्थान गरेका थियौँ । हाम्रो टोली ३७ जनाको थियो । हल्का घाम, न्यानो हावा र मनमा उत्साह— सबै कुरा हाम्रो यात्राको सुरुवातलाई विशेष बनाइरहेका थिए । नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति दाङका र नेपाल जुनिएर रेडक्रसका शिक्षक नायकहरू सहित हामी दैलखतर्फ लाग्यौँ । हाम्रो उद्देश्य थियो—दैलेख र सुर्खेतका धार्मिक, ऐतिहासिक तथा प्राकृतिकस्थलहरूको अवलोकन गर्नुका साथै त्यहाँका रेडक्रसकर्मीहरूसँग भेटघाट गर्नु र अनुभव साट्नु ।
दाङमै बस्दा पनि नजिकको तपोभूमि दैलेख पुग्न नपाएको अनुभूति मनमा थियो । त्यसैले आफ्नै देशको सुगन्ध खोज्ने उत्साहले यात्रा सुरु हुनुअघि नै मन प्रफुल्ल भइसकेको थियो । तुलसीपुरबाट बिहान ७ बजे यात्रा आरम्भ गरौ दाङको पश्चिम क्षेत्रको समथल भूभाग वजारोन्मुख हापुरे बजार हुँदै १० बजेतीर दाङको सिमाना कटाएर गाडी सल्यानको सिमानामा आइपुग्छ । किन किन म भित्र आत्मीयताको भाव झल्किन्छ । कारण, सल्यान मेरो गृह जिल्ला हो । जहाँ मेरो पुर्खा जन्मे हुर्के र यहाँसम्म आइपुगेँ । सल्यानको कालीमाटी प्रवेश गर्दा नै वातावरणले रोमाञ्चित बनायो ।
गंगामाला मन्दिर पुग्दा ढुङ्गाका सिँढी उक्लिँदै, भित्तामा कोरिएका चित्र हेर्दै र हावामा फर्फराइरहेका तोरणहरू बीच फोटो खिच्दै अघि बढ्यौँ । मन्दिरमा दर्शनपश्चात् साथीहरूले मादल बजाउँदै नेपाली भजनमा नाचगान गरे । शिक्षक नायक कृष्ण सरको गायन, वादन र नृत्यकला यात्राभरी मनोरञ्जनको प्रमुख स्रोत बन्यो ।
पाहाडी क्षेत्र हुँदै अघि बढ्दा बस्तीहरूको सरलता, संस्कृतिको झल्को दिने सजावट र जीवनशैलीले मन छोयो । सुर्खेतको भोटेचौर पुग्दा राउटे समुदायसँग भेट भयो । उनीहरूको जीवनशैली र सानो सहयोग माग्ने शैलीले मन छोयो । उनीहरूको आग्रह, उनीहरूको जीवन—सबैमा एकैचोटी कठोर यथार्थ र कोमल वेदना मिसिएको थियो । त्यो क्षणले मनमा गहिरो छाप छोड्यो ।
भोकले सताएपछि टोली प्रमुख भीम मरासिनी र कार्यालय प्रमुख विश्राम अधिकारीले खानाको व्यवस्था मिलाए । ३७ जनाको टोलीलाई दुई–तीन समूहमा विभाजन गरेर खाना खाइयो । त्यसपछि बजार अवलोकन गर्दै वोटेचौर बजार हेरौं । चारैतिर सडक सञ्जाल जोडिएको तीव्रगतिमा बजारीकरण भइरहेको रहेछ । म १० वर्ष पहिले सल्यानको कुपेण्डे दहको दर्शन गरी त्यहि बाटो आएको थिएँ, त्यसवेला सामान्य बजार अहिले विशाल भइसकेको रहेछ । भेरी नदीलाई नियाल्दै सुर्खेत बिरेन्द्रनगर ३ वजेतिर पुगियो । हामी सवैको सल्लाह अनुसार सरासर दैलेख जाने फर्कने वेला सुर्खेत बस्ने निधो भयो ।
नदीझैं सलल र प्लेन जस्तै नन स्टप गतिले गाडी अनेकौं घुम्ती र मोडहरू पार गर्दै स्वाभाविक गतिमा कुदिरहेको थियो । पर परसम्म देखिने पहाडहरूले आकाशसँग अंकमाल गरिरहेझैें लाग्थ्यो । झपक्क फुलेका गुराँस, थरीथरीका रंगीचंगी फुलहरूले इन्द्रेणीको सातै रङ्गले जस्तै गरी धर्तीनै चुमे जस्तो भयो । गाडी पहाडको माथि माथि पुग्दै जाँदा वनका दायाँबायाँ राताम्य गुराँसका फूल देखिन थाल्छन् । हरिया रुखहरूमा राता फूलहरू फूलेर कति सुहाएको ! प्यासी भँवरा आफ्नो सुस्त सुस्त भूँ …. भूँ आवाज निकाल्दै एक फूलबाट अर्को फूलमा आफ्नो प्यार बाँढेर उड्दै हुन्छन् ।
फूलहरू पनि त्यस प्यारमा डुबेर रोमाञ्चले पुलकित हुँदै हुन्छन् । चिसो पहाडी हावामा चङ्गाझैँ आकाशीदैँ गएको मन तिनै फूलका थुंगाहरूमा लठारिएर बस्यो । मलाई कताकता स्वर्गकै आनन्द पाएझैँ महशुस भयो । यस्तै रोमाञ्चकता बीच यात्राको दुरी छोटिँदै गर्दा हामी गुराँसेडाँडा पुग्यों । गृष्म ऋतुको तातो हावाले बाफिएका हामी गुराँसे डाँडाले चिसोपना ल्याइदियो । गुराँसे डाँडाबाट हिमाल पहाड तराई सवै आँखाले भ्याए सम्मका दृष्य हेर्यौं । गुराँसेडाँडा आफैमा अग्लो चुचुरो त्यसैमा भ्यूटावर हामी सबैले भ्यूटावरबाट अँखा नझिम्काएर चारैतिरका दृष्य नियाल्दै मनोरञ्जनका लागि राखिएका आधुनिक डोरी पिङ खेल्यौं । अहिलेको समय सामाजिक सञ्जालको जमाना कसैले टिक टिक बनाए कोही फेसवुकमा फोटा राख्न व्यस्त भए । टोली प्रमुखले तलको चिया नास्ताको व्यवस्था भएको जानकारी गराउनु भयो । तल चिया सेलरोटी खायौं । चिसोपानि भएर हो कि ? भोक लागेर साह्रै मिठा सेलरोटी रहेछन् ।
प्रकृतिको रमणीय दृश्यसँग लुकामारी खेल्दै हाम्रो यात्रा अघि बढ्दै जान्छ । बसभित्र यात्रुहरू सब आ–आफ्नै धुनमा हुन्छन् । म भने बस भन्दा बाहिर प्राकृतिक दृश्यहरूसँग लुकामारी खेल्दै, हाई, हेलो को सम्बोधनसहित मित्रताको साइनो गाँस्दै बसिरहेको हुन्छु ।
म आफ्नै संसारमा एक्लएक्लै रम्दै हुन्छु । जब जब बसले आफ्नो गन्तव्य छोट्याउँदै जान्थ्यो, तब त प्रकृतिले पनि आफ्नो नौलो नौलो प्रस्तुति देखाउँदै हुन्थ्यो । उत्तर तिरका ती राष्ट्रका सच्चा पहरेदारे हिमशृङखलाहरूको दृश्यले मलाई झनै आकर्षित गर्दछ । म एकटकले बसको शिशाबाट हेरिरहन्छु ।
देलेख सदरमुकाम पुगेपछि बिहानदेखिको भोक र रफ्तारलाई विश्राम दियौं । प्रकाश श्रीबन्द, भिम, विश्रामहरूले बस्ने व्यवस्थाको चाचोपाजो मिलाएका रहेछन् । हाम्रो यात्रामा महिलाहरू पनि हुनुहुन्थ्यो सवैलाई सुविधा हुने गरि तीनवटा होटलमा व्यवस्था मिलाएरका रहेछन । त्यस क्षेत्रकै सवैभन्दा ठूलो होटल पार्किङ रहेछ । त्यसमा हरिहर पौड्याल र मदन धिताल एउटा कोठामा । म र शिक्षक नायक नारायण शर्मा गौतम अर्काे कोठामा वस्यौं । जिल्ला सदस्य सिमा न्यौपाने, सुष्मा भण्डारी, पुष्पा यादव र शिक्षक नायकहरू सरला पौड्याल गौतम, शिवा थापा, गोमा बुढाथोकी, आनन्दा के.सी, जिल्ला सदस्य प्रमोद पौड्याल, थानेश्वर गेह्रे, बागर उपशाखाका अध्यक्ष गीरिराज न्यौपाने अर्को होटलमा भिम मसारसिनी विश्राम अधिकारी, रक्तसञ्चार सेवाका कार्यलय प्रमुख दिलिप न्यौपान, रक्तसञ्चार सेवाका वरिष्ठ प्राविधिक ठाकुर पौड्याल, शिक्षक नायकहरू अमृत घर्ती मगर, गोपाल गौतम, बिष्णु न्यौपाने, बुद्धिराम शर्मा, दामोदर गौतम, श्रीधर अधिकारी, तुल्सीराम पोख्रेल, निमबहादुर न्यौपाने, बिष्णु बहादुर थापा, मधु नेपाली, सुभाष वली, राम बहादुर केसी, मधुसुदन गौतम, हुम बहादुर राना बस्नु भयो ।
जो जुन होटलमा वस्यो खाना खाने व्यवस्था पनि त्यही होटलमा मिलाएका रहेछन् । कोठामा व्याग थन्क्याएर एक छिन दैलेख बजार हेर्ने म र नारायण दाइ निस्क्यौं । चिसो ठाउँमा मिठो चियाको सुर्की मार्दै चिया पसलमा भेटिएका साथीहरूसंग त्यहाँको वस्तुस्थितिको बारेमा बुझ्यौ । मैले मोवाइल चार्जर किने । दुर्गम क्षेत्र भए पनि खासै महङ्गो रहेनछ । साँझ स्वादिलो खाना खाएर विश्राम गरियो । होटलको सवै भन्दा मथिल्लो तलामा हाम्रो कोठा थियो । भोलिपल्ट बिहान पल्लो पहाडको डाँडाबाट बहदै गरेको चिसो हावामा सूर्यको तातो किरणले अनुपम ऊर्जाको सञ्चार गरिरहेझैं लाग्यो । त्यहाँबाट देखिने दुल्लुबजार, खोला, अनगिन्ती पहाडी श्रृंखलाको अवलोकन गर्दै यात्राका निरन्तर क्रमलाई फेरि सञ्चालन गर्यौं । भोलिपल्ट बिहान शिरस्थान दर्शनका लागि निस्कियौँ । दैलेखको धार्मिक महत्त्व अत्यन्तै गहिरो रहेछ । शिरस्थान, नाभीस्थान र पादुकास्थानमा निरन्तर बलिरहने ज्वाला अद्भुत लाग्यो । वैज्ञानिकहरूले यहाँ पेट्रोलियम ग्यासको भण्डार रहेको बताएका छन् भने धार्मिक मान्यताअनुसार यो शिवज्वालाको प्रतीक हो । दैलेखको ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाले यो जिल्ला वास्तवमै तपोभूमि भएको पुष्टि गर्छ । यहाँ रहेका पञ्चकोशी क्षेत्र, गुफा, झरना, नदी, खनिज पदार्थ र सांस्कृतिक सम्पदाहरू अत्यन्तै महत्वपूर्ण छन् ।
भैरवी गाउँपालिका– १ जलजलेमा प्राकृतिक ग्यासको सम्भावित भण्डार रहेको क्षेत्रको हाम्रो टोलीले अवलोकन गर्र्यौँ । यदि यसको व्यावसायिक उत्खनन सफल भए, देशको आर्थिक विकासमा ठूलो योगदान पुग्ने देखिन्छ ।
त्यसपछि विलासपुर भैरव मन्दिरमा पूजा अर्चना गरियो । स्थानीयको विश्वासअनुसार यहाँ श्रद्धापूर्वक पूजा गर्दा मनोकामना पूरा हुन्छ । रेडक्रस दैलेखले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भई शुभकामना आदानप्रदान गरियो ।
दैलेख जिल्लाको परिचय :
नेपालको मानचित्रमा दैलेख जिल्ला अक्षांश २८/३५’ देखि २९०८’ उत्तर र देशान्तर ८१/२५’ देखि ८१/५३’ पूर्वसम्म फैलिएको छ । समुद्री सतहदेखि यसको उचाइ न्यूनतम ५४४ मिटरदेखि अधिकतम चार हजार १६८ मिटरसम्म पुगेको छ । कुल क्षेत्रफल एक हजार ५०५ वर्ग किलोमिटर (एक लाख ५० हजार ५१ हेक्टर) रहेको यस जिल्लामा करिब ८० प्रतिशत पहाडी क्षेत्र र २० प्रतिशत उच्च पहाडी भू–भाग समेटिएको छ । भौगोलिक विविधतासँगै दैलेखको हावापानी पनि बहुआयामिक छ । यहाँ साँघुरा उपत्यकादेखि भिरालो पहाडी श्रृंखलासम्म उष्ण–उपोष्ण, समशीतोष्ण र शीतोष्ण जलवायु पाइन्छ, जसमा समशीतोष्ण जलवायुको प्रधानता देखिन्छ । जाडोयाममा उच्च भू–भागमा हिमपात हुने र चिसो अत्यधिक हुने गर्दछ भने गर्मीयाममा मध्यम तापक्रम अनुभव हुन्छ ।
प्रशासनिक हिसाबले दैलेख पहिले मध्यपश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत भेरी अञ्चलमा पथ्र्यो भने हाल कर्णाली प्रदेश अन्तर्गतको एक महत्वपूर्ण पहाडी जिल्ला हो । यसको नामकरणबारे विभिन्न किंवदन्तीहरू प्रचलित छन् । एक मतअनुसार महर्षि दधिचिको तपस्यास्थल भएकाले ‘दधिचि’ शब्द अपभ्रंश हुँदै ‘दैलेख’ बनेको हो भनिन्छ । अर्को जनश्रुतिअनुसार यो क्षेत्र देवताहरूको बासस्थान भएकाले ‘देवलोक’बाट ‘दैलेख’ भएको मानिन्छ ।
ऐतिहासिक रूपमा दैलेख प्राचीनकालमा दुल्लु र बेलासपुर दुई राज्यमा विभाजित थियो । सन् १७८९ मा बहादुर शाहले यी राज्यहरूलाई एकीकरण गरेका थिए । जिल्लाको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर (सुर्खेत)बाट करिब ६८ किलोमिटर र संघीय राजधानी काठमाडौंबाट करिब ६५० किलोमिटर दूरीमा अवस्थित छ । यसको पूर्वमा जाजरकोट, पश्चिममा अछाम, उत्तरमा कालिकोट र दक्षिणमा सुर्खेत जिल्ला पर्दछन् ।
आर्थिक रूपमा कमजोर देखिए पनि प्राकृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक दृष्टिले दैलेख अत्यन्त समृद्ध मानिन्छ ।
धार्मिक तथा ऐतिहासिक सम्पदा :
दैलेख धार्मिक आस्थाको केन्द्रका रूपमा पनि परिचित छ । यहाँका प्रमुख तीर्थस्थलहरू श्रीस्थान, नाभीस्थान, पादुकास्थान, धुलेश्वर र तल्लोडेश्वर कोटिला हुन्, जसलाई सामूहिक रूपमा ‘पञ्चकोशी’ भनिन्छ । विशेषतः श्रीस्थान, नाभीस्थान र पादुकास्थानमा परापूर्वकालदेखि प्राकृतिक ज्वाला बलिरहेकाले यी स्थलहरू अत्यन्त रहस्यमय र पवित्र मानिन्छन् ।
अन्य प्रमुख मन्दिरहरूमा नारायण, बेलासपुर भैरव, बज्रभैरव, गणेश, चामुण्डा, कालिका, भवानी, डुगेश्वर, विन्द्रासैनी, छडदेवी, मालिकादेवी, बुकिमाई र भैरवी आदि पर्दछन् ।
ऐतिहासिक तथा पुरातात्विक दृष्टिले पनि दैलेख धनी छ । महाबुगाथ, कोतगढी, पञ्चदेवल, कीर्तिखम्ब (नेपाली भाषाको प्राचीन शिलालेख), दुल्लु दरबार क्षेत्र, धाउखानी गुफा, लालीकाँडा गुफा, धौलापडा गुफा, सातखम्ब, भैरवकुण्ड, द्वारी झरना, घोडाताल, बिसल्ला मैदान ताल लगायतका स्थलहरू पर्यटकीय दृष्टिले महत्वपूर्ण छन् ।
प्राकृतिक स्रोत र सम्भावना :
दैलेखमा विविध भू–बनावटका कारण वनस्पति, जडीबुटी, पशुपन्छी, नदी–नाला, झरना, तालतलैया र गुफाहरू प्रशस्त पाइन्छन् । खनिज स्रोतका दृष्टिले पनि यो जिल्ला सम्भावनायुक्त छ । पादुकास्थान, श्रीस्थान र नाभीस्थान क्षेत्रमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको भण्डार रहेको अनुमान गरिएको छ ।
भैरवी गाउँपालिका– १ जलजले क्षेत्रमा करिब ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास भण्डारण रहेको तथ्य चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीको अध्ययनले देखाएको छ । यद्यपि यसको व्यावसायिक उत्खननका लागि थप परीक्षण आवश्यक छ । यस जिल्लामा कर्णाली नदी प्रमुख जलस्रोत हो, जसले पश्चिमी सीमाना निर्धारण गर्छ । छामगाड, रामगाड, लोहरे, ताराघाट, तामेद्वारी, पादुका लगायतका खोलाहरू कर्णालीमा मिसिन्छन् । यी जलस्रोतहरू सिँचाइ तथा जलविद्युत् विकासका दृष्टिले महत्वपूर्ण छन् ।
पञ्चकोशी क्षेत्र र धार्मिक महत्त्व :
पौराणिक कथाअनुसार भगवान् शिवको अग्निज्वालाबाट उत्पन्न भएका तीन प्रमुख स्थल— श्रीस्थान, नाभीस्थान र पादुकास्थान— दैलेखको धार्मिक पहिचान हुन्। यहाँ निरन्तर बलिरहने ज्वालालाई ‘वैश्वानर ज्वाला’ भनिन्छ, जसलाई वैज्ञानिक रूपमा पेट्रोलियम ग्यासको उत्सर्जन मानिए पनि धार्मिक रूपमा दैवी शक्ति मानिन्छ । वैश्वानर पुराण अनुसार यो क्षेत्र अत्यन्त पुण्यभूमि हो, जहाँ पूजा, जप, तप, श्राद्ध र दान गर्दा विशेष फल प्राप्त हुने विश्वास छ । पञ्चकोशी तीर्थयात्रा गर्दा धुलेश्वरबाट यात्रा सुरु गरी पुनः त्यहीँ फर्केर बास बस्ने परम्परा रहेको छ ।
यात्रा अनुभव र अवलोकन :
श्रीस्थानमा पानीमाथि बलिरहेको ज्वालाको दृश्य अद्भुत लाग्छ । त्यसपछि भैरवी गाउँपालिका– १ जलजलेस्थित ग्यास उत्खनन क्षेत्रको अवलोकनले दैलेखको आर्थिक सम्भावनालाई झल्काउँछ । बेलासपुर भैरव मन्दिरमा दर्शन गर्दा स्थानीय धार्मिक परम्परा र आस्थाको गहिरो अनुभूति हुन्छ। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, ऐतिहासिक धरोहर र खनिज सम्भावनाले भरिपूर्ण दैलेख नेपालकै एक महत्वपूर्ण जिल्ला हो। यद्यपि पूर्वाधार विकास, संरक्षण र व्यवस्थापनमा ध्यान दिन सकिएमा यो जिल्ला प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सक्ने प्रबल सम्भावना बोकेको छ ।
स्थानीय समुदायको आतिथ्य, विशेषतः नेपाल रेडक्रस सोसाइटी दैलेखद्वारा गरिएको स्वागत, उल्लेखनीय रह्यो । त्यसपछि दैलेख बजार, गढी र ऐतिहासिक संरचनाहरू अवलोकन गर्दै हाम्रो यात्रा सुर्खेततर्फ अघि बढ्छ । बस एक तमासले गुड्दै पहाडका उकाली ओराली चढ्न थाल्छ । मोडहरू पार गर्दै हुन्छ, म बसको शिसाबाट पाहाडका हरियाली दृश्यावलोकन गर्न व्यस्त हुन्छु । दक्षिणको क्षितिजबाट आएको सूर्यको तेजिलो किरणले मलाई न्यानो स्पर्श दिन्छ । बसको घुम्तीहरूसँगै म पनि मेरा यी चञ्चल नजरहरू यता उता चारैतिर दौडाइरहन्छु । बसभित्र हामीहरू आ–आफ्नै ध्यानमा हुन्छन् । कोही गफमा व्यस्त त कोही निन्द्रादेवीसँग लुकामारी खेलिरहेका हुन्छन् । बसभित्र बज्ने गीत संगीतले यो मन झनै रोमाञ्चित बन्न पुग्छ । पहाडको उकालीसँगै चिसो चिसो हावाले शिशाको चियाँबाट भित्र पसेर चिमोठ्न थाल्छ । यो चिमोठाईमा पनि कति आनन्द आउँछ । गुरासेडाँडा हुँदै बस गुड्दै हुन्छ ।
अहो ! कस्तो डरलाग्दो भिर ? यहाँबाट खस्यो भने त, अहँ, यस्तो सोच्नै हुन्न । म झ्याल खोलेर राम्ररी नियाल्छु । सडकका किनारमा कतै कतै सानासाना विश्राम स्थल बनाइएका थिए । पहाडमा यात्रा गर्नुको मज्जै बेग्लै । हरिया डाँडाकाँडा बनैया चराचुरुङ्गीहरूको मिठो संगीतमय आवाजहरू । चिसो स्वच्छ हावा । जता हेरे पनि प्रकृतिका ती सुन्दर उपहारहरू । बनैया बोटवृक्षहरू नयाँ नयाँ बस्त्र आभुषण फेर्न सपिङ गर्न जाँदै आउँदै थिए ।
मानव हुँदो हो त वर्ष दिनमा दर्जनौँ वस्त्र फेरी हिँड्दो हो । तर यी त बनैया बोटवृक्ष थिए । तैपनि प्रकृतिले यिनीहरूलाई पटक्कै ठगेको भान हुँदैन । वर्षमा एक पटक भए पनि नयाँ बस्त्र पहिर्याइ दिन्छ । बोटवृक्षहरूमा जवानी चढेको आभाष हुन्छ । हावाको वेगसँगै बोटवृक्षहरू पनि एक अर्कासँग स्पर्श गर्न पुग्छन्, चुम्वन गर्न पुग्छन् । बसबाट म यी दृश्यहरू हेरिरहन्थे ।
विभिन्न घुम्तीहरूसँगै दैलेख भूमीबाट सुर्खेत प्रवेश गरिसकेका हुन्छौँ । घडीमा पाँच बजीसकेको हुन्छ क्यारे। नेपाल रेडक्रस सुर्खेत शाखाले पनि स्वागत गर्यो ।
कार्यक्रम सकिएपछि हामी काक्रे बिहार दर्शन गर्न गयौं । काँक्रेविहार वीरेन्द्रनगरको मंगलगढीचौकबाट तीन किलोमिटर दक्षिणतर्फ चारैतिर साल र सल्लाका रुखले घेरीएको ऐतिहासिकस्थल काँक्रेबिहार पुग्यौ । पुरातात्विक एवम् ऐतिहासिक महत्वको वस्तुहरू देख्न सकिन्छ । केही छिन नाचगान गरेर साझ बिरेन्द्रनगरको होटल बास बस्ने व्यवस्था साथीहरूले मिलाएका रहेछन त्यहि बस्यौं । भोलिपल्ट बिहान देउतीबज्यै मन्दिरको दर्शन गर्न गर्यौं ।वीरेन्द्रनगर बजारमा नै देउतीबज्यै मन्दिर रहेको छ ।
देउतीबज्यैले ‘मनको इच्छा पूरा गरिदिने’ जनविश्वास रही आएकाको छ । जसले गर्दा मन्दिरमा पूजाका लागि आउने भक्तजनहरूको घुइँचो नै लाग्ने गरेको छ । पछिल्लो समय देउतीबज्यै विकास गुरुयोजना बनाएर व्यवस्थित बनाउन थालिएको छ । त्यसपछि सुर्खेतको सबैभन्दा प्रख्यात पर्यटकीय स्थल बुलबुले ताल । यो ताललाई लिएर थुप्रै चर्चित गीतहरू पनि बनेका छन्, जुन निकै चर्चामा पनि रहने गरेका छन् ।
‘सुर्खेतमा बुलबुले ताल, लाइयो माया यो चिनो रुमाल’, ‘सुर्खेत बुलबुल ताल, माया मै सानु हुनाले छुट्यो मायाजाल’ लगायतका थुप्रै गीत चर्चित छन् । बुलबुले हेर्न र घुम्नका साथै पिक्निक खानका लागि पनि उपयुक्त स्थान रहेछ । यसलाई पनि गुरुयोजना अनुसार विकास गर्ने तयारी थालिएको उपसभापती अमृता सापकोटाले जानकारी दिइन । सुर्खेत जिल्लामा धेरै धार्मिक पर्यटकीय स्थल हुदा हुँदै पनि समयको अभावको कारण यात्रालाई छोटाउने निधो गर्दै शहीद पार्क हेर्न गयौं । निरन्तर रुपाले महिलाले पगरेको अम्खोराबाट पानी आउने आकृष्ण मुर्ति बनाएको रहेछ । त्यो सुन्दर भब्य पार्कमा एकछिन हामी अल्मलियौं ।
अन्तिम दिन भेरी नदी किनारको होमस्टेमा खाना खाएर हामी दाङ फर्कियौँ । बाटोभरि सल्यानका हरिया डाँडाकाँडा, गहुँका बाला र देवस्थलहरूले यात्रालाई अझै भावुक बनाइदिए । विभिन्न उकाली ओराली, अनि घुम्तीहरू पार गर्दै बस सल्यानको सडकमा गुडिरहेको हुन्छ । सडकको छेउछाउमा गहुँको बाला झुल्दै गरेको दृश्य निकै रमाइलो र लोभलाग्दो हुुन्छ । हामी यात्राको अन्त्यतिर आइसकेका हुन्छौं । कालीमाटी दाङको हापुरे हुँदै बस ५ वजे तुलसीपुराबजार आइपुग्छ ।
तुलसीपुर आइपुग्दा तीन दिनको यात्रा जीवनको अविस्मरणीय पाना बनेर रह्यो । नेपालका धार्मिक तथा प्राकृतिक सम्पदाले पर्यटनको अपार सम्भावना बोकेको छ । उचित संरक्षण र विकास भएमा यस्ता क्षेत्रले देशको समृद्धिमा ठूलो टेवा पुर्याउने निश्चित छ । नेपालका विभिन्न तपोभूमि वर्णितस्थानमा ऋषिमुनीका तपस्याले प्राप्त गरेका ज्ञान विश्वमा विज्ञानको रूपमा परिवर्तन भई प्रयोगमा ल्याइएका छन् ।
यसले नेपालका धार्मिक पर्यटकीय स्थल र क्षेत्रको अन्तराष्ट्रिय प्रचार र सम्बन्ध जोड्ने प्रचुर सम्भावना देखिन्छ । नेपालका धार्मिक पर्यटकीय क्षेत्रमा आउने धार्मिक पर्यटकबाट नेपालका होटल, यातायात र स्थानीय हस्तकला, लोक संस्कृतिका क्षेत्रमा ठूलो योगदान पुर्याउने निश्चित छ ।
(लेखक : दाङबाट प्रकाशित हुने सूचनापत्र साप्तिाहिकका सम्पादक/प्रकाशक हुनुहुन्छ । – सं.)

प्रकाशित मिति २०८३ बैशाख १९, शनिबार १८:४० गते
हजुरको प्रतिक्रिया