वसन्त ऋतु सुरु भएको छ । वसन्त ऋतुमा न गर्मी न जाडो घुमफिरको लागि राम्रो मौसम हुन्छ । आजभोलि पहाडी जिल्लाहरूमा लालीगुराँस फूलले वनै भरी राताम्य भएका हुन्छन् । काफल र ऐसेलुले घुम्न जाने पर्यटकहरूलाई लोभ्याइ दिन्छ । यात्रामा आफ्नै हातले काफल र ऐसेलु टिपेर खादा त्यसको मज्जा छुट्टै हुन्छ । पर्यटनका लागि सुदूरपश्चिमको अछाम जिल्लामा प्रकृतिले सजिएको सुन्दर र मनै लोभ्याउने धेरै ठाउँहरू छन । तर पनि अछाममा घुम्न जादा खप्तड, विनायक, रामारोशन र बैजनाथ पुग्न सके राम्रो हुन्छ । अछाम पुग्ने धेरै पर्यटकहरू बाह्र बण्ड र अठार खण्डको नामले चर्चित रामारोशन पुग्ने इच्छा राख्दछन । बाह्र बण्ड, अठार खण्डका नामले चिनिने रामारोशन क्षेत्रमा बाह्रवटा ताल र अठारवटा ठूला घासे मैदान छन ।
सुदूरपश्चिमको अछाम जानको लागि अहिले कैलालीको अत्तरिया नपुगेर पनि जान सकिन्छ । सुर्खेत, दैलेख हुँदै कर्णाली नदीको राकमको पुल तरेर अछाम पुग्न सकिन्छ । यो बाटो जानको लागि दाङको तुलसीपुरबाट बोटेचौर सुर्खेत र बाकेको कोहलपुरबाट सुर्खेत भएर जानु पर्दछ । अछाम घुम्न जादा प्याकेज कार्यक्रम बनाउदा राम्रो हुन्छ । घुम्नको लागि एक्लै भन्दा पनि समूहमा जादा रमाइलो र खर्चमा समेत कमी हुन्छ । प्याकेज बनाउदा कहाँ कहाँ जाने ? अछाम जिल्लाको सबै पर्यटकीय स्थलमा पुग्ने कि ? त्यही अनुसारको यात्रा खर्च र समय बनाउदा राम्रो हुन्छ । अछाम जिल्लाको अधिकाशं ग्रामीण क्षेत्रमा मोटर मार्ग पुगेको छ । तर ग्रामीण क्षेत्रका प्राय सबै सडकहरू ग्राभेल र कच्ची नै छन । तर पनि हिउँदको समयमा अछाममा घुम्न जादा बलेरो र स्कारपियो जस्ता गाडीहरू भए राम्रो हुन्छ ।

सुर्खेत पुगेपछि सुदूरपश्चिमको अछाम जान राकम कर्णालीको पुल पुग्नको लागि दुइओटा बाटो छन् । पर्यटकहरू सुर्खेत उपत्यकाबाट बाङगे सिमल हुदै कर्णाली तिरैतिरको सुर्खेत जुम्ला सडकबाट राकमको पुलमा पुग्न सक्दछन भने अर्को बाटो हो सुर्खेतबाट गुरासेको लेक हुदै दैलेख जिल्ला भएर ढुङेश्वर हुदै राकम कर्णाली पुग्न सकिन्छ । पर्यटकहरूले घुम्ने समय बढाउन सके दैलेख जिल्लाको छामगाड खोला र पूर्वी भेग हुदै बग्ने लोहोरे खोलाको सगमस्थल चुप्रा, दुल्लु क्षेत्रमा रहेको पञ्चकोशी तीर्थस्थल मध्ये शिरिस्थान र नाभिस्थान भित्र नित्य प्रज्वलित ज्वाला, दुल्लु क्ष्ोत्रमा रहेका कृतिखम्बा, सातखम्म, पटङगेनी दरबार, जंग बहादुर राणाका पिता बाल नरसिंह कँुवरको समाधीको नामले चिनिने मासको पिठोको लिउन लगायर निर्माण गरिएको बालेश्वर मन्दिर, भुर्तीमा रहेका २२ वटा देवल, दैलेख बजारमा रहेको कोत गढी लगायत अनेकौ ऐतिहासिक शिलालेखहरू पर्यटकहरूले दैलेखमा अवलोकन गर्न सक्दछन् ।
जब राकम कर्णालीको पुल तर्नु हुन्छ र बेलखेतबाट सुरु हुन्छ सुदूरपश्चिमको अछाम जिल्लाको यात्रा । राकम कर्णालीको पुलदेखि विनायक १५ र मंगलसेन बजार ४८ किलो मिटर पर्दछ । यो सडक मध्यपहाडी लोकमार्गमा पर्दछ । पाँचथरको चियाभन्ज्याङबाट शुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला भएर सुदूरपश्चिमको नेपाल–भारत सीमाना बैतडीको झुलाघाटसम्ममा लोकमार्गको लम्बाई एक हजार सात सय ६५ किलोमिटर रहेको छ । मध्यपहाडी राजमार्गलाई पुष्पलाल लोकमार्ग पनि भनिन्छ । लोकमार्गले १९ जिल्लाका सदरमुकाम र कतै छेउछाउ भएर सडक निर्माण भएको छ । सुदूरपश्चिम प्रदेशमा मध्यपहाडी राजमार्ग अछाम जिल्लाको बेलखेतबाट सुरु भएर विनायक, मंगलसेन, सांफेबगर, सिलगढी, डडेलधुरा, पाटन, सतबाँझ, बैतडी र झुलाघाट सम्म जोडिन्छ । सुदूरपश्चिम प्रदेशमा मध्यपहाडी राजमार्गको जिल्लागत सडकको दुरी लिने हो भने अछाममा ५९ डोटीमा ८३ डडेलधुरामा ४६ र बैतडीमा ७८ किलो मिटर पर्दछ ।

बेलखेतबाट उकालो लागेपछि देखिन्छ नागबेली आकारको कर्णाली नदी र दैलेख र पूर्वी अछाम जिल्लाका रमणिय गाउँघर । विनायक बजार नपुग्दासम्म पर्यटकहरूले आफ्नो क्यामेरामा फोटो लिनकोलाई भ्याइ नभ्याइ हुन्छ । अछामको पूर्वी भेगमा पर्ने कर्णालीको पश्चिमी तटवर्ती क्षेत्रलाई विनायक भनिन्छ । विनायकमा प्राचीनकालका भगवान गणेशको मन्दिर थियो । गणेशको अनेकौं नामहरू मध्ये विनायक पनि भएकोले ठाउँको नाम विनायक रहन गएको हो भन्ने भनाइ छ । अहिले गणेशको प्राचिन मन्दिर भने पर्यटकहरूले देख्न भने सक्दैनन् । गणेश मन्दिर भएको स्थानमा अवशेषको रुपमा एउटा ढिस्को मात्र बाँकी रहेको छ । अछाम प्रवेशद्वारको रुपमा रहेको विनायक क्षेत्रमा प्राचीन सभ्यताका पञ्चदेवल रहेको छ । तत्कालीन राजकुमार अक्षय मल्लद्वारा निर्मित विनायकका पञ्च देवलहरूमध्ये वि.सं.१८७० मा वीचको देवल भत्किन गई हाल चारवटा देवलहरूमात्र रहेका छन् । पुरातात्विक एवं ऐतिहासिक महत्वका यी देवलहरू प्राचिन कलाको नमुनाको रुपमा रहेका छन् ।
विनायकबाट अगाडी लागेपछि केही बेरमा पुगिन्छ ठूलासेनको लोभै लाग्ने जगंल । जगंल भित्रका लालिगुराँसका फूल, काफल र ऐसेलुले पर्यटकहरू रमाउछन् । कोही काफलको बोटमा चढेर काफल टिप्दै फोटो खिचाउछन् भने कोही लालिगुराँसको बोट देखिने गरी सेल्फी खिच्दछन् । जगंलमा चराउन ल्याएका नौमुठे गाईले पर्यटकहरूको ध्यान खिच्दछ । नौमुठे गाई विश्वकै सबैभन्दा सानो प्रजातिको गाई मानिन्छ । नौमुठे गाईको अगाडिको खुट्टाको खुरबाट मुठ्ठीले नाप्दै जाँदा जुरोसम्म नौ मुठ्ठी उचाइ हुने भएकाले यो प्रजातीको गाईलाई नौ मुठे गाई नामाकरण गरिएको हो । सुदूरपश्चिमका जिल्लाहरूमा मात्र पाइने नौ मुठे गाई हेर्दा सुन्दर र दूध पनि बढी दिने भएकाले यो गाईको महत्व धेरै छ । अछाम घुमफिर गर्दा ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थल र प्राकृतिक सम्पदाहरूले पर्यटकहरूलाई आकर्षण गराउछ । प्रमुख सांस्कृतिक पर्व र कुनै मेला उत्सवमा पुग्नु भयो भने पर्यटकहरुरूले भुवा, न्याउले, पुतला, देउडा र हुडकेली नाच एवं गीत अछाममा सुन्न र देख्न सक्दछन् । अछामीहरू आफनै रीतिरिवाज र सांस्कृतिक परम्पराहरूमा रमाउने मात्र होइन बोल्दा खेरी अछामी भाषाको प्रयोग गर्दछन । पहिलो पटक अछाम पुगेका पर्यटक एकैछिन स्थानीय भाषा नबुझ्नाले अलमलिन सक्दछ । तर सुन्दै र बोल्दै जाँदा अछामीहरूको स्थानीय भाषा पनि बुझिन्छ ।

अछामको मंगलसेन पुगेपछि पर्यटकहरू ऐतिहासिक दरबारमा पुग्दछन । इतिहासमा रुचि राख्ने पर्यटकहरूले अछामको इतिहास खोज्दछन । सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला अछाम ऐतिहासिक एवं सांस्कृतिक दृष्टिकोणले पर्यटनका लागि महत्वपूर्ण मानिन्छ । प्राचीन कालमा हालको अछामलाई नौखुवाको नामले चिनिन्थ्यो । नौखुवाको अर्थ नौ वटा खण्डहरू भन्ने वुझिन्छ । त्यस समयमा अछामलाई विभिन्न नौ वटा खण्डहरूमा विभाजन गरी स–साना राज्यहरू सञ्चालनमा रहेका थिए । नेपालको एकिकरणको समयमा अछाम बाईसी राज्य समुहको एउटा एकाई सदस्यको रुपमा रहेको थियो । कर्णाली प्रदेशमा नागराजवंशीय मल्लहरूले शासन गर्नुपूर्व अछाममा पालहरूले शासन गरेका थिए । त्यसपछि मल्लहरूको शासनकालमा अछाममा सभ्यताको विकास भयो । तत् पश्चात कर्णाली र गण्डकी प्रदेशमा स–साना राज्यहरूको उदय हुने क्रममा अछाम पनि स्वतन्त्र राज्यको रुपमा स्थापना भएको थियो । अछाम क्षेत्र मध्यकालमा विकसित भएको खस सभ्यताको उदगम स्थलको रुपमा रहेको थियो । राणाकालमा अछामको कैलाश नदी पूर्वको भू–भाग दैलेख जिल्ला र पश्चिम तिरको भू–भाग डोटी जिल्लामा पर्दथ्यो ।

मंगलसेन दरबार अछाम जिल्लाको ऐतिहासिक धरोहर हो । सशस्त्र द्वन्द्वको समयमा २०५८ फागुन ४ गते मंगलसेनमा तत्कालीन माओवादीले भीषण आक्रमण गर्दा प्रमुख जिल्ला अधिकारी, सेना प्रमुखलगायत एक सय २५ जनाले ज्यान गुमाएका थिए । ऐतिहासिक दरबार पनि जलेर खरानी भएको थियो । मंगलसेन दरबार तत्कालीन अछामी राजा दलबहादुर शाहको पालामा वि.स. १९३० मा निर्माण भएको थियो । डेढ सय वर्षअघि उनका पिता राजा टीकाभुक शाहको पालामा यसको निर्माण कार्य सुरु भएको थियो । २०२९ सालमा दरबार अछामी राजाका सन्ततिले नेपाल सरकारलाई ९० हजार रुपैयाँमा बेचेका थिए । परम्परागत शैलीमा निर्माण गरिएको तीन तले दरबारमा ३० कोठा थिए । तत्कालीन समय जिल्ला प्रशासन कार्यालय रहेको मंगलसेन दरबारलाई अछामको पुरानो ऐतिहासिक सम्पदाका रुपमा लिइन्छ । अहिले दरबार पुनः निर्माण भएको छ । अछाम जाने पर्यटकहरूले ऐतिहासिक दरबार अवलोकन गर्न खोज्दछन । मगंलसेनको दरबार परिशर प्राकृतिक भ्युटावर जस्तै छ । परिशरबाट कुकूरकाटे गाउँ, वली गाउँ, सोगाली, सल्यान, काँडाकोट, नेटाकोट, घुगुरकोट, ठूलासेनी, साफे बगर क्षेत्रमा बग्ने बुढीगगा, रामारोशनबाट आउने कैलाश नदी अवलोकन एकै ठाउँमा बसेर अवलोकन गर्न सकिन्छ ।

अछाम जाँदा पर्यटकहरूले रामारोशन पुग्नै पर्ने हुन्छ । अछामको पूर्वीउत्तरमा पर्ने रामारोशन मगंलसेन बजारदेखि करिव ४० किलोमिटरको दुरीमा पर्दछ । मंगलसेन बजारबाट ओली गाउँ, जुपु, काला गाउँ र गजड बजार पार गरेर कैलास खोलाको किनारै किनार रामारोशन गाउँपालिका केन्द्र मुजाबगर र अलिक अगाडि बढेपछि सैनीबजार पुगिन्छ । कैलास खोला छोडेर उकालो बाटो केही माथि पुगेपछि नेटाकोटको सानो बस्तीमा पुगिन्छ । त्यहाँबाट उत्तरतिर देखिने भाटाकाटिया गाउँ र दक्षिणतर्फ देखिने बाटुलासेन गाउँको सुन्दर दृष्यले पर्यटकहरूको मनै लोभ्याउछ । रामारोशनमा साना ठूला गरी १२ वटा ताल अर्थात बाह्र वण्ड र १८ वटा रमणीय मैदान अठार खण्ड रहेका छन । यसलाई स्थानीय भाषामा बाह्र वण्ड अठार खण्ड पनि भन्ने चलन छ । रामारोसन नामका गोठालाले आफ्ना पशु चराउँदै जाँदा यो ठाउँ भेटाएका रसु नामकी आफ्नी प्रेयसीसँग यो ठाउँमा लामो समयसम्म विचरण गरेकाले यी दुवैको नाममा यो ठाउँको नाम रामारसुन रहेको र बोल्ने क्रममा रामारोशन भएको मानिन्छ । रामारोशन क्षेत्रको बाह्रवटा तालहरूमा सबैभन्दा ठूलो ताल जिगाले ताल हो । जसको आकार अंग्रेजी अक्षर जि जस्तो देखिन्छ । जुन ताल बाटुले ताल भन्दा अली माथी पर्दछ । रामारोशनको सानो तालमा ताउने ताल हो । जिगाले ताल भन्दा माथी पनि धेरै तालहरू छन । यो ताल भन्दा केही परपट्टी ठूलाठूला घासे मैदान पर्दछ । जुन अठार खण्डका नामले प्रख्यात छ । यस्ता घासे मैदान मध्येमा किनेमिने मैदान सबैभन्दा ठूलो मानिन्छ । जसको बिच भएर कैलाश खोला बग्दछ । यो सम्भवत अछामकै ठूलो घासे मैदान हो । यसको केही माथी पट्टी रोशन मैदान छ । यो पनि धेरैनै ठूलो मानिन्छ ।

रामारोशनका तालसँगै हजारौं जीवजन्तुको बासस्थान, चराचुरुंगीको चिरबिर आवाज, लोभलाग्दो जंगल र घाँसे मैदान, अग्ला रहर लाग्दा पहाड, जगलको बीच बीचमा भेटिने गुफा, थरिथरिका लालिगुराँस लगायतको दृश्य, बहुमूल्य जडिबुटी र पवित्र कैलाश नदीको मुहानको समेत पर्यटकहरूले अवलोकन गर्न सक्दछन् । तालको अवलोकन गर्दै अगाडि बढ्दै जाँदा तालको अन्तिम विन्दुमा पुग्दा एउटा सानोसानो खोला बग्दै आएको देखिन्छ तर त्यो खोला तालमा मिसिएको देखिँदैन । बग्दाबग्दै त्यही अलप भएको जस्तो लाग्छ । सायद भित्रभित्रै तालमा मिसिन्छ होला । जिंगले ताल पुग्नुभन्दा अलिक अगाडि बाटुल्ला ताल छ । जिंगले तालको तुलनामा अलिक मधुर देखिएता पनि प्राकृतिक सौन्दर्यको दृष्टिले यो ताल पनि खुबै मनमोहक छ । अलिक लेउले ढाकिएको र वरिपरि विभन्न आकारका ढुङ्गाले आफैं घेरिएको छ । तालको बायाँतर्फ जिंगलेमा जस्तै पैदल मार्ग बनाइएको छ । यस तालको छेउमा माईदेवीको मन्दिर पनि रहेको छ । यस मन्दिरमा पूजा गर्न र बाटुल्ला तालमा पितृकर्म गर्ने पर्यटकहरू पुग्ने गर्दछन । रामारोशनमा अस्तु सेलाउँदा र पितृकर्म गर्दा मोक्ष प्राप्त हुन्छ भन्ने जनविश्वास छ । विशेष गरेर माघीको अवसरमा रामारोशनमा भारतबाट पनि तीर्थाटनका पर्यटकहरू पुग्ने गर्दछन । रामारोशनको जिंगले ताल पार गरेर जंगलको बाटो यात्रा पछि रोशन चउर अर्था घासे मैदान आउछ । रोशन चउरको केही तल किनीमिनी चउर पर्दछ । चउरहरू मध्येमा किनीमिनी चउर सबैभन्दा ठूलो चउर हो । जसको बीच भएर कैलाश खोला बग्दछ ।

रामारोशन ताल क्षेत्र हिमाली घाँसे मैदान, जैविक विविधता र लोकसंस्कृतिको संगम हो । रामारोशनमा पर्यटकहरू अध्ययन, अनुसन्धान, धार्मिक अनुभूति, जैविक अवलोकन र सांस्कृतिक अनुभवका लागि पनि पुग्ने गर्दछन । रामारोशनका तालहरू, हरिया डाँडाकाँडा, बादल, घाँसे मैदान र वरिपरि फैलिएका वन जगलले पर्यटकहरूलाई छुट्टै आनन्द हुन्छ । वर्षायाम र शरद ऋतुमा तालहरू अझ आकर्षक देखिन्छन । विशेष गरी सूर्योदय र सूर्यास्तको दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ । रामारोशन क्षेत्रका प्रत्येक तालसँग स्थानीय किंवदन्ती, धार्मिक विश्वास र सांस्कृतिक कथा जोडिएका छन । रामारोशनसँग जोडिएका धार्मिक तथा सांस्कृतिक कथाहरू निकै रोचक छन । पर्यटकहरू ती लोककथा सुन्न र स्थानीय जीवनशैली बुझन उत्सुक हुन्छन । कतिपय ताललाई देवी–देवताको वासस्थान मानिन्छ । यसले समाजमा प्रकृतिप्रतिको श्रद्धा, धार्मिक चेतना र लोकविश्वास कसरी विकसित भयो भन्ने अध्ययन गर्न सहयोग पु¥याउँछ । रामारोशनको यात्रा आफैँमा साहसिक अनुभव हुन्छ । उकालो–ओरालो बाटो, जंगल र खुला मैदान पार गर्दै यात्रा गर्दा पर्यटकले हिमाली ट्रेकिङको अनुभूति गर्छन । फोटोग्राफी, क्याम्पिङ, पदयात्रा तथा प्रकृति अवलोकन गर्नेहरूका लागि रमणीय यात्रा मानिन्छ । रामारोशनमा पानीको प्राकृतिक चक्र, जलस्रोत संरक्षण र जलवायु परिवर्तनको प्रभावबारे अध्ययन गर्न सकिन्छ । जलवायु परिवर्तनले हिमाली तालहरूमा कस्तो असर पारिरहेको छ भन्ने विषय अनुसन्धानकर्ताका लागि महत्वपूर्ण छ । रामारोशन जानको लागि वसन्त ऋतु अर्थात फागुनदेखि जेठको अन्तिमसम्म उपयुक्त समय मानिन्छ । रामारोशन जाने पर्यटकहरूका लागि पछिल्लो समय रामारोशनकै चौका, शैनीबजार र मुजाबगर बजारमा होटल सञ्चालनमा छन । दिनभरि रामारोशन घुमेर साँझ यी बजारमा रहेका होटेलमा बास बस्न सकिन्छ ।

अछाम जादा वैद्यनाथ मन्दिर पुग्नै पर्ने हुन्छ । साँफे बजारबाट करीब तीन किलोमिटरको दूरीमा वैद्यनाथ मन्दिर पर्दछ । साफे बगरको वुढी गंगाको तटमा रहेको वैद्यनाथ मन्दिर सुदूरपश्चिमकै प्रख्यात धार्मीकस्थल मानिन्छ । वैद्यनाथलाई रावणले तपस्या गरी शिवको बरदान पाएको ठाउँ भनेर चिनिन्छ । धार्मिक ग्रन्थअनुसार १० टाउका भएका रावणले आफ्नो उद्देश्य प्राप्तीको लागि आफ्नै टाउको काटदै हवन गर्दै गए । यसरी रावणले नौ टाउका काटेर होमकुण्डमा हालिसक्दा समेत शिवको दर्शन नपाएपछि शरीरनै हमन गर्ने सोचेर दशौं टाउको काटन लाग्दा शिवजीले वैद्यको रुपमा दर्शन दिए । वैद्य भएर रावणका सबै टाउकाहरू फेरि जोडेका कारण यस क्षेत्रको नाम वैद्यनाथ राखिएको भनाइ रहेको छ । वैद्यनाथमा भएको १२ वटा ज्योतिर्लिंगमध्ये एउटा वैद्यनाथधाममा रहेको छ । मन्दिर परिसरमा वैद्यनाथ संग्रहालय स्थापना गरिएको छ ।

अछामको यात्रा समय बढाउन सके पदयात्रामा रमाउन खोज्ने पर्यटकहरूले साफे बजारबाट खप्तड लेकको यात्रासमेत गर्न सकिन्छ । डोटी, अछाम, बाजुरा र बझाङ जिल्लाको साझा भूगोलमा २२५ वर्ग किलोमिटर क्षेत्र समेटेर खप्तड राष्ट्रिय निकुञ्ज रहेको छ । यातायातको सुविधाले धेरै पर्यटकहरू डोटी र बझाङबाट खप्तड जाने गरेपनि आजभोलि अछामको साफेवगरबाट पनि खप्तड जाने मार्ग बनेको छ । खप्तडमा कतै अग्ला डाँडा, कतै समथर पाटनमा फैलिएको रमणीय भूगोल पर्दछ । खप्तडमा पर्यटकहरूले हेर्नैपर्ने ठाउँ खप्तड बाबा आश्रम हो । त्यहा खप्तड बाबाको मूर्तिका साथै बाबाले प्रयोग गरेका केही सामान राखिएको छ । बाबाले खप्तडमा ५० बर्ष बिताउनु भएको थियो । खप्तड बाबाले धर्मविज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो कर्तव्य नारीधर्म र पुरुषधर्म, आत्म ज्ञान, योग विज्ञान, वेदान्त विज्ञान, आरोग्य विज्ञानलगायत पुस्तक लेख्नुभएको छ । आश्रम परिशरबाट पर्यटकहरूले अपी र शैपाल हिमश्रृखला अवलोकन गर्न सक्दछन् ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८३ बैशाख २३, बुधबार ०८:०८ गते