लमजुङका तीन दूध पोखरी, ऋषिमुनीको तपोभूमि र पर्यटन

लमजुङका तीन दूध पोखरी, ऋषिमुनीको तपोभूमि र पर्यटन

के. वि. मसाल

@antaranganews

२०८३ भदौ ३ गते बिहिबार ०६:१७

लमजुङका दूधपोखरीहरू केवल स्नान गर्ने कुण्ड मात्र होइनन, आस्था, हिमाली सभ्यता र प्राकृतिक सम्पदालाई एकै ठाउँमा जोडने पवित्र संग्रहालय हुन । लमजुङ गोरखा सिमानामा रहेको दूधपोखरी समुद्री सतहबाट करिब ४,३०० मिटर उचाइमा, हिमालको काखमा पर्दछ । यही कुण्डको नामबाट दूधपोखरी गाउँपालिकाको नामकरण भएको हो ।

दूधपोखरीको वास्तविक महत्व उच्च हिमाली पोखरीमा सीमित छैन । दूधपोखरीले जलसम्पदा, धार्मिक आस्था, स्थानीय संस्कृति, लोकस्मृति र पर्यटनलाई एउटै सूत्रमा बाँधेको छ । दूधपोखरी प्रकृति, पुराण, इतिहास र संस्कृतिको संगम, ऋषिमुनिको तपोभूमिसँग जोडिएको पवित्र स्थलमा प्रत्येक जनैपूर्णिमाको दिन धार्मिक मेला समेत लाग्दछ ।

लमजुङमा तीन ठाउँमा दूधपोखरी छन । लमजुङ– गोरखा सीमामा पर्ने चेपे नदीको मुहानको दूधपोखरी, दोर्दी खोलाको शिरमा मेमे पोखरीभन्दा माथिको दूधपोखरी र क्व्होलासोँथर गाउँपालिका– ३ को उत्तरकन्या ठुर्चुको दूधपोखरी । दूधपोखरी नाम अन्य जिल्लामा पनि छन । तर, लमजुङका दूधपोखरीको महत्व छुट्टै छ । जनैपूर्णिमामा सबै यी दूधपोखरीहरूमा ठूलो मेला लाग्छ । दूधपोखरीमा स्नान गरे पाप नष्ट हुने र पितृऋणबाट मुक्ति मिल्ने विश्वास गरिन्छ ।
चेपे नदीको उदगमस्थलको दूधपोखरीलाई च्यवन ऋषिको तपोभूमि र दोर्दी शिरको दूधपोखरीलाई दुर्वासा ऋषिको तपोभूमि मानिन्छ । दोर्दी नाम दुर्वासाबाटै रहन गएको जनविश्वास छ । उत्तरकन्या ठुर्चुको दूधपोखरी भने गुरुङ जातिको घाँटु नाचसँग जोडिएको छ । घाँटु नाच राजा पर्शुराम र रानी यम्फावतीको विवाह, प्रेम, गृहस्थी, राजकाज र वानप्रस्थानको कथामा आधारित छ । लिखित प्रमाण नभए पनि गुरुङ समुदायले सदियौंदेखि यसलाई आफ्नो संस्कृतिको धरोहरका रुपमा जोगाउँदै आएका छन । दूधपोखरीको वास्तविक महत्व उच्च हिमाली पोखरीमा सीमित छैन । दूधपोखरीले जलसम्पदा, धार्मिक आस्था, स्थानीय संस्कृति, लोकस्मृति र पर्यटनलाई एउटै सूत्रमा बाँधेको छ । दूधपोखरी प्रकृति, पुराण, इतिहास र संस्कृतिको संगम, ऋषिमुनिको तपोभूमिसँग जोडिएको पवित्र स्थलमा प्रत्येक जनैपूर्णिमाको दिन धार्मिक मेला समेत लाग्दछ ।
जनैपूर्णिमाको दिन तीर्थमा गएर स्नान गर्ने प्रचलन केवल घुम्न जाने मात्र होइन, यसको पछाडि गहिरो धार्मिक, पौराणिक र प्राकृतिक दर्शन जोडिएको छ । जनैपूर्णिमामा किन स्नान गरिन्छ ? जनैपूर्णिमालाई रक्षाबन्धन, ऋषितर्पणी र श्रावणी पूर्णिमा पनि भनिन्छ । शास्त्र अनुसार तागाधारीहरूले साउन भर व्रत बसेर पूर्णिमाको दिन बिहानै पोखरी, ताल, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्नुपर्छ । यसलाई श्रावणी स्नान भनिन्छ । यसले वर्षभरि लागेका पाप, अशुद्धता पखालिन्छ र नयाँ जनै धारण गर्न शरीर शुद्ध हुन्छ भन्ने विश्वास छ । जनैपूर्णिमाको दिन सप्तऋषिको पूजा र तर्पण गरिन्छ । आफ्ना पितृ र ऋषिहरूको ऋण तिर्न जल तर्पण दिन तीर्थको जल नै सबैभन्दा पवित्र मानिन्छ । ब्राह्मण पुरोहितले मन्त्रेर बाँधिदिने डोरो अर्थात रक्षाबन्धन मानव रक्षाका लागि हो । त्यो रक्षा सूत्र बाँध्नु अघि तीर्थ स्नान गरेर आत्मा शुद्ध पार्नुपर्छ भन्ने मान्यता छ ।
लमजुङलाई कागजमा हिमाली जिल्ला भनिँदैन । तर लमजुङमा दर्जनौँ हिमपोखरी लुकेर बसेका छन । कतिको त अझै नाम समेत राखिएको छैन । भौगोलिक रुपमा लमजुङ  पूर्वमा चेपे र पश्चिममा रुदीखोला–मादीको बीचमा पर्दछ । भाद्र लागेपछि ती पोखरी वरपर भेडीगोठहरू सर्छन । उत्तरतिर हेर्ने हो भने लमजुङ हिमाल, अन्नपूर्ण, अनि गोरखासँग सिमाना जोडने मनास्लु, हिमालचुली, ङादीचुली र बुद्ध हिमालको लामै लस्कर देखिन्छ ।  लमजुङको भूगोलमा आधाभन्दा बढी भाग हिमताल, तलैया र गाईभैंसी, भेडाबाख्रा चर्ने हरिया खर्कहरू मात्र छन । लेकैलेक भएको हुनाले मानव बस्ती छैन । जनैपूर्णिमाको दिन दुधपोखरीहरूमा जनै धारण गर्ने र रक्षाबन्धन को लागि धेरै धार्मिक पर्यटकहरू पुग्दछन । अर्कोतर्फ हिमालको काखमा लुकेको अपूर्व सुन्दरता हेर्न प्रकृति प्रेमी, हिमाली जैविक विविधता र भौगोलिक बनोट बुझ्न चाहने शोधार्थी विद्यार्थी र सबै जातजातिका आन्तरिक पर्यटकहरूको पनि पुग्दछन ।
लमजुङका दूधपोखरीहरू केवल स्नान गर्ने कुण्ड मात्र होइनन, आस्था, हिमाली सभ्यता र प्राकृतिक सम्पदालाई एकै ठाउँमा जोड्ने पवित्र संग्रहालय हुन । दूधपोखरी गाउँपालिकाको दूधपोखरी लमजुङ गोरखा सिमानामा रहेको दूधपोखरी समुद्री सतहबाट करिब ४,३०० मिटर उचाइमा, हिमालको काखमा पर्दछ । यही कुण्डको नामबाट दूधपोखरी गाउँपालिकाको नामकरण भएको हो । यसैबाट चेपे नदीको उदगम हुन्छ, जसले गोरखा र लमजुङको प्राकृतिक र ऐतिहासिक सिमानाको काम गर्दै आएको छ । जनविश्वास अनुसार यो महर्षि च्यवनको तपोभूमि हो । राजा शर्यातिकी छोरी सुकन्याबाट तपस्या भंग भएपछि अश्विनी कुमारहरुको सहयोगमा यही पोखरीमा स्नान गरेपछि ऋषिको दृष्टि फर्किएको र वृद्धावस्थाबाट युवावस्था प्राप्त भएको पौराणिक कथा छ ।
दोर्दी गाउँपालिकाको शिरमा रहेको दूधपोखरी यो दोर्दी गाउँपालिकाको पश्चिम उत्तरमा पर्दछ । यो पोखरीमा दुर्वासा ऋषिले तपस्या गरेको मानिन्छ । यही पोखरीको पानीबाट दोर्दी खोलाको नाम रहेको हो । यहाँको सबैभन्दा ठूलो विशेषता एउटै यात्रामा धेरै पोखरीको दर्शन गर्न सकिनु हो । यहाँ बाह्रपोखरी अर्थात बराहपोखरी, मेमेपोखरी, नार्सिङ, धर्मपोखरी गरी चार मुख्य र खोले, तरबार, ढाल र स्वर्गको आभास दिने बैकुण्ठ पोखरी समेत छन । मेमेपोखरी यस क्षेत्रकै सबैभन्दा ठूलो पोखरी समुद्री सतहबाट ४,३५० मिटर उचाइमा, हिमालचुली र बौद्ध हिमालको काखमा पर्दछ । पहिलो पटक हेर्दा टाउको रिंगाएकोले गुरुङ भाषामा मेमे भनिएको भन्ने एक भनाइ छ, अर्को भनाइमा तामाङ भाषामा मेमे को अर्थ सबैभन्दा ठूलो भन्ने हुन्छ । गुरुङ समुदायले यसलाई आफ्नो इष्टदेवताको रुपमा मान्छन । बाह्रपोखरी मस्र्याङदी र दोर्दी गाउँपालिकाको सीमामा पर्दछ । खुला चौरबाट मनास्लु हिमश्रृखलाका हर्कजुङ, हिमालचुली र मनास्लु हिमालको दृश्य देखिन्छ । लालीगुराँसको याममा यो अत्यन्तै मनमोहक हुन्छ । यी पोखरीहरूमा पुग्न बेसीशहर– भुस्मे– छिनखोला अथवा चिति, माझगाउँ– पुरानो दूहार हुँदै बाह्रपोखरी वा सिधै मेमे जाने भए ताजे गाउँबाट दोर्दी खोला तरेर श्यायुडाँडा, जोरङ्गाडाँडा र छविगौंडा हुँदै पुग्न सकिन्छ । यस क्षेत्रमा स्थायी बस्ने संरचना नभएकाले टेन्ट, त्रिपालको व्यवस्था आफै गर्नुपर्छ ।
क्व्होलासोथार गाउँपालिका– ३ उत्तरकन्या ठुर्चुको दूधपोखरी लमजुङ, कास्की र मनाङ जिल्लाको सिमा क्षेत्रमा पर्दछ । मान्यता अन्य दुईमा जस्तो ऋषिको तपस्याको कथा यहाँ पाइँदैन । भुजुङ, घलेगाउँका बूढापाकाको मौखिक इतिहास अनुसार ठुर्चुलाई गुरुङ समुदायमा दूधको स्रोत र पशुधनको रक्षा गर्ने नागदेवताको बास मानिन्छ । गोठालाहरूले गाईभैंसीको दूध बढोस र खर्कमा अनिष्ट नपरो भनेर पोखरीमा दूध चढाउने गर्छन । क्व्होलासोथारका गुरुङ, घले, लामा समुदायले जनैपूर्णिमाको अघिल्लो दिन खर्कबाट फूल, दूध, घिउ लिएर दूधपोखरीमा स्नान गरी पितृ तर्पण र पशुधनको लागि प्रार्थना गर्छन । गुरुङ संस्कृतिको सबैभन्दा पुरानो गीति नाटक घाँटु नाच राजा पर्शुराम र रानी यम्फावतीको कथामा आधारित छ । उक्त लोककथाको सम्बन्ध ठुर्चुको दूधपोखरीसँग जोडिएको छ । उत्तरकन्याबाट सैंचीखर्क, मैदुखर्क, खेखु, नैसिमा, क्युबारा, तमखो, खुदिचे, सारङ्गी पाखा हुँदै करिब तीन दिनको पैदल हिँडेपछि दूधपोखरी पुग्न सकिन्छ ।
लमजुङको पूर्वमा पर्ने दूधपोखरीदेखि पश्चिममा क्व्होलासोथार अर्थात चेपे नदी र रुदीखोलाको बीचको हिमाली काखमा धेरै हिम पोखरी र कुण्डहरू छन । दोर्दी र मस्र्याङदी गाउँपालिकाभित्र पर्ने दोर्दी खोलादेखि ङादी खोलाको शिर र मनाङ जाने बाटोमा देखिने बुङ छहराको शिरमा समेत हिम पोखरीहरू छन । तर, सबैको खोज अनुसन्धान हुन सकेको छैन । लमजुङको हिमाली काख यति सुन्दर छ कि पर्यटकलाई रमाउन कुनै कृत्रिमताको आवश्यकता पर्दैन । यहाँ प्रकृतिप्रदत्त छटा, छहरा, छाँगा, झरना, हिमाल, पहाड, ताल, तलैया, पोखरी, दह, डाँडाकाँडा, अग्ला ढिस्का, वनजंगल, खहरे, खोल्सा, खोलानाला, नदी, खोँच, गल्छी, भीर, पहरा, ओढार र प्राचीन घरका भग्नावशेषहरू देख्न सकिन्छ । धेरै पोखरीहरू तीर्थस्थलका रुपमा प्रसिद्ध छन । यसले धार्मिक पर्यटकहरूलाई विशेष रुपमा तान्छ । साथै, हिमाल र तालका दृश्य अत्यन्तै फोटोजेनिक हुने भएकाले फोटो खिच्न र स्मृति सँगाल्न चाहनेहरू पनि उतै आकर्षित हुन्छन । समग्रमा भन्दा, हिमाल र तालले प्राकृतिक सौन्दर्य, शान्ति, साहसिकता र आध्यात्मिक अनुभूति एकै ठाउँमा प्रदान गर्ने भएकाले तिनीहरू पर्यटकका मुख्य आकर्षण बनेका छन ।
जनैपूर्णिमाको दिन लमजुङको हिमालको काखमा रहेको हिम पोखरीमा अर्थात दुधपोखरीमा स्नान गर्न जाँदा पर्यटकहरूमा अनेकांै कौतुहल उब्जिन्छ । यो पोखरी कसरी बने होला ? हिमालको पानीमा माटो हुँदैन, त्यसैले पानी नीलो, सेतो दूध जस्तो देखिन्छ । यही कारण पोखरीलाई दुधपोखरी पनि भनिएको हो । लमजुङमा धेरै हिमताल छन । कतिपय तालसम्म खोजकर्तासमेत पुग्न सकेका छैनन् । कति तालहरू सुकिसकेका छन भने कति सुक्ने अवस्थामा छन । संरक्षणका लागि स्रोतसाधनको अभाव छ भने स्थानीय समुदाय र राज्यले पनि यसको महत्वबारे पर्याप्त बुझाउन सकेका छैनन् । हिम ताल र पोखरीको इतिहासलाई हेर्ने हो भने हिमालय र हामी बस्ने भूभाग कुनै बेला तेथिस सागर थियो । इन्डियन र तिब्बतीयन टेक्टोनिक प्लेट एकआपसमा ठोक्किँदा हिमालको उत्पत्ति भएको मानिन्छ । त्यही भएर हिमाली क्षेत्र खुकुलो ढुङ्गा र माटोले बनेको हुन्छ र त्यहाँ समुद्रका सेडिमेन्टहरू पाइन्छन । ग्लेसियर अर्थात हिउँ र बरफको ठूलो थुप्रो बिस्तारै बग्ने क्रममा आफूसँगै धेरै वस्तु सोरेर लैजान्छ । बग्ने क्रममा खाली भएको ठाउँमा हिउँ पग्लिएर पानी भरिन्छ । त्यसरी खाली र होचो ठाउँमा पानी भरिएर कुण्ड, पोखरी र हिमताल बन्छन । सरल भाषामा भन्नुपर्दा, हिमालबाट पग्लिएको हिउँले नै हिम पोखरी र हिमताल निर्माण गर्छ ।
दूधपोखरीमा प्रत्येक वर्ष जनैपूर्णिमाका अवसरमा ठूलो धार्मिक मेला लाग्ने गर्दछ । यस अवसरमा विभिन्न स्थानबाट तीर्थयात्रीहरू कठिन पदयात्रा गर्दै दूधपोखरी पुग्ने, कुण्डमा स्नान गर्ने, पितृहरूको सम्झनामा तर्पण गर्ने तथा धार्मिक विधि पूरा गर्ने परम्परा छ । विशेषतः हिन्दू धर्मावलम्बीहरूका लागि जनैपूर्णिमाको स्नान, तर्पण र रक्षा–बन्धनसँग जोडिएको धार्मिक आस्था यहाँ बलियो छ । कुण्डमा स्नान गर्दा पापबाट मुक्ति, पुण्य प्राप्ति तथा पितृऋणबाट मुक्त हुने जनविश्वास रहँदै आएको छ । दूधपोखरी क्षेत्रको धार्मिक महत्वलाई हिन्दू परम्परामा मात्र सीमित गर्न मिल्दैन । हिमाली भूगोल, प्रकृति र स्थानीय संस्कृतिसँग जोडिएका विभिन्न आस्थाले यस क्षेत्रलाई बहुसांस्कृतिक धार्मिक सम्पदाका रुपमा समेत महत्वपूर्ण बनाएका छन । दूधपोखरीको धार्मिक महत्वसँगै यहाँ साहसिक तथा प्रकृति पर्यटनको पनि ठूलो सम्भावना छ । हिमालको काख, उच्च पहाडी भूगोल, हिमरेखा, चट्टानी भू–दृश्य, लालीगुराँसका वन, चरन क्षेत्र, झरना तथा आसपासका प्राकृतिक सम्पदाले पदयात्रा पर्यटनका लागि आकर्षक वातावरण सिर्जना गर्छन । विशेषतः जनैपूर्णिमा केन्द्रित धार्मिक पदयात्रालाई व्यवस्थित गर्न सके दूधपोखरीलाई धार्मिक ट्रेकिङ गन्तव्यका रुपमा विकास गर्न सकिन्छ । यसका लागि पदमार्ग सुधार, विश्रामस्थल, खानेपानी, सरसफाइ, सूचना केन्द्र, प्राथमिक उपचार, उद्धार प्रणाली र स्थानीय होमस्टे जस्ता पूर्वाधार आवश्यक हुन्छन । धार्मिक पर्यटकसँगै प्राकृतिक सौन्दर्य हेर्न चाहने पदयात्री, अनुसन्धानकर्ता, फोटोग्राफर, संस्कृतिविद र वातावरणप्रेमीहरूलाई समेत आकर्षित गर्न सकिने सम्भावना लमजुङको सबै दूधपोखरीमा छ ।
दूधपोखरीको पर्यटन केवल कुण्डमा पुगेर स्नान गर्ने विषयमा सीमित हुनु हुँदैन । यसको वरिपरि विकसित गुरुङ तथा अन्य स्थानीय समुदायको जीवनशैली, परम्परागत पशुपालन, गोठ संस्कृति, लोककथा, धार्मिक अनुष्ठान, स्थानीय खानपान र मौलिक संस्कृतिलाई पर्यटनसँग जोडन सकिन्छ । यसरी दूधपोखरी पुग्ने पर्यटकले एउटा पोखरीमात्र होइन, हिमाली गाउँको जीवन, स्थानीय संस्कृति र प्रकृतिसँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर पाउन सक्छन । यसबाट स्थानीय युवाका लागि रोजगारी सिर्जना हुनुका साथै गाउँमै आयआर्जनको वातावरण बन्न सक्छ । दूधपोखरीको धार्मिक र पर्यटकीय महत्व बढ्दै जाँदा यसको संरक्षण चुनौती पनि बढेको छ । पछिल्लो समय कुण्ड पुरिँदै गएको, संरक्षणको अभाव रहेको छ । अब प्राकृतिक र धार्मिक मौलिकता जोगाउँदै ‘दिगो पर्यटनको अवधारणामा विकास गर्न आवश्यक छ । प्लास्टिक तथा फोहोर व्यवस्थापन, पानीको स्रोत संरक्षण, पदमार्गको वैज्ञानिक व्यवस्थापन, चरन क्षेत्रको संरक्षण र स्थानीय समुदायको प्रत्यक्ष सहभागिता अनिवार्य हुन्छ ।
दूधपोखरीले जलसम्पदा, धार्मिक आस्था, स्थानीय संस्कृति, लोकस्मृति र पर्यटनलाई एउटै सूत्रमा बाँधेको छ । त्यसैले यसको संरक्षण र प्रवद्र्धन राज्यको मात्र जिम्मेवारी नभई स्थानीय समुदाय, धार्मिक संस्था, पर्यटन व्यवसायी, अनुसन्धानकर्ता र पर्यटक सबैको साझा दायित्व हो । दूधपोखरीलाई व्यवस्थित, वातावरणमैत्री र समुदायकेन्द्रित ढङ्गले विकास भयो भने धार्मिक–सांस्कृतिक पदयात्रा बन्न सक्छ । हिमालको काखमा रहेको यो पवित्र कुण्ड र यसबाट उदगक हुने नदी प्रणालीले भावी पुस्तालाई पनि हाम्रो प्राकृतिक सम्पदा, सांस्कृतिक स्मृति र धार्मिक परम्परासँग जोडिरहनेछन । दूधपोखरी, मेमे पोखरी, बराह पोखरी, इलम पोखरी, लिपे लेक, जस्ता पोखरी र लेक मनास्लु र हिमालचुलीको काखमा पर्छन । पर्यटनका लागि यी पोखरी धार्मिक र प्राकृतिक दुवै हिसाबले महत्वपूर्ण छन । तर अझै पनि धेरैजसो पोखरी कठिन ट्रेकिङ रुटमा पर्छन । लमजुङका पालिकाहरूले अहिले संयुक्त रुपमा ग्रेट लेक सर्किट ट्रेल जस्तो पदमार्ग सुधार र जोखिम व्यवस्थापनको योजना बनाइरहेका छन । यसलाई निरन्तरता दिन जरुरी छ ।
पर्यटकहरू हिमाल र तालप्रति किन आकर्षित हुन्छन ? पर्यटकहरू हिमाल र तालप्रति आकर्षित हुनुमा प्राकृतिक, मनोवैज्ञानिक र सांस्कृतिक गरी तीनवटै कारण जोडिएका हुन्छन । प्राकृतिक कारण हिमालहरूको अग्लोपन, हिउँले ढाकिएका टाकुरा र विशालताले मानिसलाई विस्मित बनाउँछ । त्यस्तै तालहरूको शान्त, स्वच्छ पानी र वरपरको हरियाली वातावरणले पर्यटकको मन लोभ्याउँछ । यस्ता दृश्यहरू दैनिक जीवनमा दुर्लभ हुने भएकाले मानिसहरू स्वभाविक रुपमानै आकर्षित हुन्छन । तालको किनार वा हिमाली क्षेत्रमा पाइने निस्तब्धता र शुद्ध हावाले मानसिक तनाव घटाउन सहयोग गर्छ । विशेष गरी सहरको कोलाहलबाट टाढा शान्ति खोज्नेहरूका लागि हिमाल र ताल उपयुक्त गन्तव्य हुन । साहसिक र सांस्कृतिक कारण हिमालसँग जोडिएका ट्रेकिङ, पर्वतारोहण जस्ता गतिविधिहरुले रोमाञ्चक अनुभव दिन्छन भने तालहरूमा गरिने क्याम्पिङ पनि आकर्षणको प्रमुख कारण हुन्छ ।
पदमार्गमा ढुङ्गाको सिँढी, फलामे पुल, रेलिङ, दिशा संकेत बोर्ड हुनु पर्दछ । टि–हाउस र होमस्टे र क्याम्पिङ साइट हरेक ५–६ घण्टाको दुरीमा स्थानीय परिकार दिने होमस्टे अर्थात गोठस्टे हुनु पर्दछ । लिपे लेक पदमार्गमा जस्तै खानेपानी र भेंडीगोठमा बस्ने र क्याम्पिङ गर्ने सुविधा विकास गर्नुपर्छ । पोखरी वरपर पक्की संरचना बनाउनु हुँदैन, तर बायो टवाइलेट र सोलार चार्जिङ स्टेशन आवश्यक हुन्छ । अब स्थानीय निकायले ठूला डोजर र कंक्रिट होइन बाटो, बास, सुरक्षा र सरसफाई यी ४ कुरामा सानो तर दिगो लगानी गर्ने हो भने हिमपोखरीहरू अन्नपूर्ण सर्किटको विकल्पको रुपमा अन्तर्राष्ट्रिय ट्रेकिङ नक्सामा जोडिन सक्छन् ।
(लेखक : लमजुङ जन्म थलो भई दाङलाई कर्मथलो रोज्नु भएका उहाँ लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भयो । पछिल्ला वर्षमा उहाँले नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८३ भाद्र ४, बिहीबार १८:१७ गते
हजुरको प्रतिक्रिया