
बेसीशहर– लमजुङको जिल्ला सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको साताव्यापी कार्यक्रमको समापन भएको छ । लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा सञ्चालित अभियानको असार १२ गते समापन गरिुएको हो ।
उक्त साताव्यापी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न विद्यालय तथा संघसंस्थाहरूमा लागूऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक प्रशिक्षण सञ्चालन गरिएको जानकारी दिइएको थियो । सोही सन्दर्भमा जिल्लाका विभिन्न नाकाहरूमा विशेष चेकजाँच, जनचेतनामूलक अभियान तथा प्रभातफेरी कार्यक्रमसमेत आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार चालु आवमा लागू औषधका आठवटा मुद्दा दर्ता गरिएको छ ।
उक्त कार्यक्रममार्फत लागूऔषध दुरुपयोग नियन्त्रणमा सबै पक्षको साझा जिम्मेवारी रहेको भन्दै समुदायस्तरमै सचेतना अभिवृद्धि गर्न यस्ता अभियानलाई निरन्तरता दिइने आयोजकको भनाइ छ ।
लागूऔषधविरुद्ध जनचेतनामूलक ब्यानर र प्लेकार्डसहित सहभागीहरू बेसीशहर नगरपालिका– ७ स्थित मनाङ्गे चौताराबाट सुरु भएको प्रभातफेरी पुरानो बैंक चोक, भीमसेन स्थान, नारयणस्थान हुँदै फूलबारीसम्म पुगेका थिए । फूलबारीमा आयोजित समापन कार्यक्रममार्फत सप्ताहव्यापी अभियानको औपचारिक समापन गरिएको थियो ।
लागूऔषध दुव्र्यसनबाट युवालाई टाढा राख्न खेलकुद प्रभावकारी माध्यम बन्न सक्ने सन्देश प्रवाह गर्ने उद्देश्यले महिला प्रहरी र महिला पत्रकार बीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता समेत आयोजना गरिएको थियो । सो खेलमा दुवैपक्षबाट बराबरी २/२ गोल गरेका थिए । सहभागीलाई प्रजिअ खनालले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
जिल्ला प्रशासन कार्यालय लमजुङको आयोजनामा असार ६ गतेदेखि सो अभियान सुरु भएको थियो । कार्यक्रमको समापन जिल्ला प्रहरी कार्यालय, लमजुङले गरेको हो । समापन कार्यक्रमको अवसरमा जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल, सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतम, प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेत, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म लमजुङका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी, विभिन्न सरकारी कार्यालयका कर्मचारी, संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
प्रकाशित मिति २०८३ असार १४, आईतवार ०७:२६ गते