
नेपाली कांग्रेस अग्रगमन र प्रतिगमनको दोसांधमा छ र अग्रगमनको लागि संघर्ष गरिरहेको छ । संस्थापन पक्ष कांग्रेसलाई पुनः जीवन दिन प्रयास गरिरहेको छ र इतर पक्ष कांग्रेसको बदनाम र बार्गेनिगमा लागि रहेको छ । पुराना भ्रष्ट र बेइमान तथा कुर्ची छोड्न नचाहानेहरूले कांग्रेसको तेजोबध गर्न खोजिरहेका छन् । अहिले पार्टी संगठन सुदृढिकरण र माहाधिवेशनको तयारीमा लाग्न पर्नेमा देउवाहरूको चित्त बुझाउन पर्ने अवस्थाको शृजना भएको छ । आउंदो चुनाव लडेर केन्द्रीय समितिमा आउन कसैले कसैलाई रोक्न सक्दैन । त्यो भन्दा पहिला नै केन्द्रीय समितिमा भागवण्डा चाहिनु पर्ने इतर पक्षको दाबीमा कुनै सकारात्मक कारण छैन । विभिन्न तरिकाले केन्द्रीय समितिमा रहने र वडाबाट जनप्रिय मत पाउन नपर्ने व्यवस्थाको अन्त्य आफैमा राम्रो हो । यो नियम सबैलाई लाग्छ । देउवाहरू मात्र होइन गगनहरूलाई पनि लाग्छ । तर यो पक्षको पनि इतर पक्षले बिरोध गरिरहेको छ । यसरी जनतामा कुनै हैसियत नभएकाहरूले पार्टी कब्जा गर्ने परिपाटीले पार्टीलाई कमजोर बनाउंछ ।
सय जना भन्दा ज्यादा केन्द्रीय समितिमा आफूहरूको प्रतिनिधित्व हुन पर्ने माग इतर पक्षले संस्थापन पक्षसंग राखेको छ । यसको एउटा मात्र लक्ष्य भनेको कसै गरेर केन्द्रीय समितिमा ४० प्रतिशत संख्या प्राप्त गरेर पार्टी फोडेर राष्ट्यि मान्यताप्राप्त पार्टी बनाउने मात्र हो । यसमा संस्थापन पक्ष सजग हुनै पर्छ । सके पार्टी कब्जा गर्ने र नसके पार्टी फोर्ने कार्यको हद नै कांग्रेस पार्टीलाई बदनाम गर्ने काम भइ रहेको छ । विपी जयन्तीको दिनमा जयन्ती मनाउन भेला हुंदा देउवा समुहका नेताहरूले सबै जसो समय संस्थापन पक्ष र गगन थापा तथा विश्वप्रकास शर्मालाई दोषी देखाउन र गाली गर्न नै खर्चेका थिए । सभापती नभएको भए पार्टीको धेरै सिट आउंथ्यो समेत उनीहरूले भने । यो कसैले पनि विश्वास गर्न नसक्ने भनाइ हो । सायद गगनहरूले विशेष अधिवेशन गरेर अगाडि नबढेको भए कांग्रेसले १० सिट पनि जित्न नसक्ने संभावना थियो ।
चुनावमा इतरपक्षका नेताहरूले कांग्रेसका उम्मेदवारहरूलाई संस्थागत रुपमा कतै सहयोग गरेनन् । देउवा समुहको नजिक भएकाहरूलाई पनि उनीहरूले सहयोग गरेनन् । नैनसिंह महर देउवाका साह्रै नजिक रहेका उम्मेदवार हुन् । उनले हारे । उनलाई पनि देउवाले सहयोग गरेनन् । सहयोग गरेर पनि हारेका हुन् भन्ने हो भने पनि देउवाको हैसियत झनै प्रष्ट भयो ।
देउवाहरूको हैसियत इतिहास हेर्दा पनि प्रष्ट हुन्छ । उनले प्रधानमन्त्री बन्न विदेशीको नजिक बनेको र अमेरिकी राजदुत जुलिया चांगको सहयोग भएको र राजाले सहयोग गरेको र उनले पनि राजालाई सत्ता लिन जानेर नजानेर वा लोभमा परेर सहयोग गरेको देखिएको नै हो । राजाले पुनः प्रधानमन्त्री बनाउंदा न्याय पाएको भन्ने र प्रचण्डले प्रधानमन्त्री बनाई दिंदा उनलाई राजनेतासमेत भन्ने उनको बोलीको अर्थ पार्टी जे सुकै होस् उनलाई पद दिनेहरू महान हुन् भन्ने उनको भनाई लोकतन्त्रको मर्म भन्दा बिपरित भएकोमा कुनै विवाद छैन । पदको लागि नै दल फोर्ने, आफ्नो पदको लागि हिंजो सबैभन्दा ज्यादा कांग्रेसीलाई नै खोजी खोजी मार्ने, घरमा बस्न नदिने र अराजकता ल्याउने माओवादीसंग चुनाबमा तालमेल र सरकारमा पनि तालमेल गरेकोले कांग्रेसको साख र जनताको माया समेत घट्यो ।
भ्रष्टाचारले साह्रै गनाएका देउवाको सम्पत्ति नगदमा नै जेन्जी आन्दोलनमा देखियो । जेन्जी आन्दोलनमा प्रचण्ड, ओलीदेखि धेरै नेताहरु भाग्दा देउवा दम्पती घरमा नै नगद सम्पतीको लोभले बसेको समेत कारणले पिटाई खाएको भन्नेहरूको संख्या धेरै नै देखिन्छ । एउटा प्रधानमन्त्री भएको व्यक्तिले अवस्थाको मूल्यांकन नगरी पैसाको लोभमा नै ज्यानको जोखिमसमेत मोल्नु कुनै हालतमा पनि राजैतिक चरित्र होइन । जेन्जी आन्दोलनको मुख्य निसाना नै भ्रष्टाचारीहरू थिए । यद्यपि उनी उपर भएको आक्रमण अनुचित भएकोमा कुनै बिवाद छैन । अहिले उनी माथि भएको आक्रमणको आरोप पार्टीका साथीहरुलाई नै लगाउने प्रयास भएको छ । यसरी जोसंग मिलेर जाने कुरा पनि हुन्छ र गलत र नभएको आरोप पनि लाग्छ भने त्यो एकताको चाहाना होइन, बरु यो गलत लक्षको बार्गेनिङ मात्र हो भन्ने बुझ्न कठिनाई छैन । सरुवादेखि उम्मेदवार चयनमा पालिका तहदेखि संसद सम्म र अरु पद दिनको लागि पनि अहिलेको कांग्रेस इतर पक्षबाट पैसा लिने गरिएको चर्चा बारम्वार चलेको हो ।
भ्रष्टाचारको चरम अवस्था, कार्यकर्ताहरूमा पदको लागि पैसा दिन पर्ने समेत कारणले निरासा, आफ्ना कार्यकर्ताहरूलाई तहसनहस पार्ने माओवादीसंग मात्र पदको लागि सहकार्य, त्यसको लागि लोकतन्त्रको मर्मलाई पनि तिलान्जली दिने कार्य देउवाहरूबाट भएकै हो । विशेष अधिवेशनले प्रक्रिया पु¥याएर निर्वाचन गरे पछि पनि चुनाव तुरुन्तै आउदै गर्दा अझै टिके प्रथाको माध्यमद्वारा केन्द्रीय समितिमा भाग खोज्ने कि ? महाधिवेशनमा लागेर कार्यकर्ताको मन जितेर चुनाब जित्ने । त्यो समेत आशा र चाहान नहुनु भनेको पार्टीबाट भागवण्डा लिएर अलग पार्टी खोल्ने नै इतर पक्षको चाहाना हो ।
कोइराला परिवारको परिवारवादबाट वाक्क दिक्क भएका कांंग्रेसका कार्यकर्ताहरू देउवा दम्पतीको धनवाद, पदको बाद र आसेपासेवाट बाक्क दिक्क भएका हुन् । अन्यथा उनीहरूका नजिकका इमान्दार नेताहरूले गगनहरूलाई साथ दिने थिएनन् । गगनहरूले बिना पूर्वाग्रह हामी एक हौं भनेर चुनावमा उचित सम्मान दिएबाट गगनहरूको राजनैतिक सुझबुझ पनि देखिइरहेको छ । कांग्रेसमा बृद्ध नेताहरूलाई स्वभाविक रुपमा नमिलाई अनावश्यक महत्व दिने हो भने त्यो भालुको कञ्चट हुने छ । भ्रष्टहरूले भ्रटाचारको बचाव गर्न दवाव दिने छन् । जे भए पनि मर्ने बेलासम्म पद नछोड्ने रोग लागेकोले उनीहरूलाई पद दिन पर्ने छ ।, चुनावमा आफ्नो क्षेत्रमा जे जसो गरेर जिते नै भने पनि अन्य क्षेत्रमा त्यसले गलत सन्देश नै दिने छ । मुलत ती पुराना गनाएका भ्रष्ट नेताहरुलाई पदमा राख्दा कांग्रेसको भ्रष्टाचार बिरुद्धको अभियान नै कमजोर हुने छ र जनतामा पुन निरासा छाउने छ । गिरिजाप्रसादलाई पार्टी फोरेर दुःख दिने देउवाहरूको पक्षमा उभिने शेखर कोइराला र सशांक कोइरालाले पनि कोइराला परिवारलाई बदनाम बाहेक केही गरेनन् । सुखद खवर भनेको विपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण नीधिसंग अनुहार मिल्ने बाहेक अरु केही पनि नमिल्ने त्यागका प्रतीकहरूका सन्तानहरूले गरेको पदको लागि तमासाले गर्दा परिवार भए पनि व्यवहार गलत भएपछि पार्टीको सम्मानबाट बाहिरिन पर्छ भन्ने सन्देश दिन सक्ने छ । अब ती परमआदरणीय नेताहरूको बिचारको संरक्षणको कार्य गर्न सजिलो पनि हुने छ । अनुहार र बिचार फरक भएको अहिलेको नेता पुत्रहरूको व्यवहारले देखाएकोछ ।
बास्तवमा नै चुनावमा नलड्ने र लडेमा हार्नेहरूले आफ्नो सेफलेण्डिग खोज्छन् र जनतामा राम्रो छबि नहुनेले दललाई नै बदनाम गर्छन भन्ने राजनीतीमा बुझ्न जरुरी पनि छ । संस्थापन पक्षले पार्टीको विधान भन्दा बाहिर नगई समाधान चाहनेहरूसंग मात्र स्वभाविक रुपमा समाधान खोज्नु पर्छ । उनीहरूलाई अर्को दल नै खोल्न इच्छा भए रोक्न सक्ने कुरा पनि भएन, त्यसको लागि शुभकामना दिनेसम्म हो तर जातावरण प्राविधिक रुपमासमेत सजिलो बनाउने भने होइन ।
त्यति भनिरहंदा लगभग ६५ बर्ष भन्दा कम उमेरका र राजनीतिमा भ्रष्टाचारको दाग नलागेकाहरूलाई संस्थापन पक्षले जतिबेला पनि आफूसरह सम्मान दिन र व्यवहार गर्न तयार हुन भने आवश्यक छ । उचित व्यवस्थापन र सहकार्य हुनै पर्छ । किनभने इतर समुह भविष्य नभएको जमात हो र त्यसमा रहेका लायक नेताहरूको सम्मान हुन आवश्यक छ र त्यो सम्मान पनि अर्को समूहमा भएको कुनै आग्रह नराखी हुन आवश्यक छ । जस्तै लोकेश ढकाल, बद्री पाण्डे, एनपी सावद, कान्छाराम तामाङ, रामहरी खतिवडा, मोहन बस्नेत, सुरेन्द्र भण्डारी, कुन्दन काफ्ले, नैनसिं महर, केदार कार्की र त्यस्तै अरु पनि केही नेताहरूलाई सम्झाउने र उचित स्थान दिने कार्य गर्ने महत्वपूर्ण हो । यद्यपि केही नेताहरूले मिल्नै नसक्ने गरी गलत सन्देश दिएका छन् । नैनसिं महरले हालै अन्तवार्ता दिंदा गुट भन्दा माथि गएर संस्थापन पक्षको औचित्य छ र यसले उचित निकास मात्र दिने हो भनेर आफ्ना भनाई राखेका छन् । यस्ता विचारहरूलाई सम्मान र आत्मसात गर्न सक्नु पर्छ । भ्रष्ट देखिएका पुरानाले निहुं खोज्दा खोज्दै सम्मान दिनु संस्थापन पक्षलाई घातक नै हुन्छ ।
त्यसैले केहीलाई बेवास्ता गर्नेतर्फ पनि ध्यान दिन पर्छ अन्यथा व्यवस्थापन गर्न कठिन, उनीहरूले भनेको अनुचित नै भएपनि मान्न पर्ने बाध्यता, सधैं घुर्की लगाउने, भ्रष्टहरूलाई कारवाही गर्न कठिन हुने, पुन देश भरी नै गुटको पुरानो रोगको शृजना हुने अवस्था छ । यिनीहरूले गगन, विश्वप्रकास समेतका नेतालाई पहिला पार्टीबाट हटाएका पनि हुन् । यसरी हटाउनेहरु असहिष्णु भएकोले तिनीहरूलाई अनावश्यक महत्व दिन नहुने कुनै कारण छैन । महत्व नदिने भनेको सम्मान नगर्ने पनि होइन केवल उनीहरूलाई अनावश्यक दवाव दिन नसक्ने बनाउने मात्र हो । सल्लाह भने लिने हो । तर प्रष्टै छ, केन्द्रीय समितिमा बहुमत हुनासाथ उनीहरूको एउटै लक्ष्य पार्टी फोर्ने र राष्ट्रिय मान्यता लिने हो । उनीहरूलाई थाहा छ कि ! पहिला नै राष्ट्रिय मान्यता प्राप्त दल नबनेमा चुनावमा राष्ट्रिय मान्यता प्राप्त पार्टी बन्न सकिंदैन । युवाहरूसंग बस्ने उनीहरूको मन नै छैन केवल राष्ट्रिय मान्यता प्राप्त पार्टी बन्ने र सकेसम्म अरु पार्टीसंग मिलेर केही सिट ल्याएर कांग्रेसलाई खुइल्याउन प्रयास गर्ने मात्र हो । गगनहरूले ठीक नै गर्ने छन् भन्ने पनि होइन, गल्ती गरेमा वा राम्रो गर्न नसकेमा गगनहरू पनि हट्नु पर्छ । व्यक्तिको कारणले पार्टी र देश मात्र नभइ जनाले दुःख पाउनु हुंदैन । तर उनीहरूलाई पनि काम गर्ने अवसर दिन आवश्यक छ ।
(लेखक : वरिष्ठ अधिवक्ता हुनुका साथै लमजुङको जेठो पत्रिका अन्तरङ्ग राष्ट्रिय साप्ताहिकको अतिथि सम्पादक हुनुहुन्छ । यो लेख सोही साप्ताहिकको साउन २१ गते प्रकाशित अंकबाट साभार गरिएको हो । – सं.)
प्रकाशित मिति २०८३ श्रावण २६, मंगलवार ०७:०७ गते