लमजुङ- लमजुङमा २५ औं भूकम्प सुरक्षा दिवस मनाइएको छ । १९९० सालमा भूकम्प गएको दिनको सम्झनामा त्यस सम्बन्धमा सचेतना जागृत गर्ने उद्देश्यले दिवस मनाइएको हो ।
दिवसको खास दिन माघ २ गते गरेको भएता पनि उक्त दिन राष्ट्रिय शोकको दिवस भएका कारण दुई दिनपछि उक्त दिवस मनाइएको आयोजकको भनाई छ । सिआरएस नेपाल नामक गैरसरकारी संस्थाले लमजुङको बेसीशहर नगरपालिका– १० को बाझाखेतमा सो दिवसको आयोजना गरेको हो । सो स्थल २०७८ साल जेठ ५ गते भूकम्प भएको समयमा लमजुङमा बसैभन्दा बढी क्षति बेहोर गर्ने वडा भएको आरसिडिसी लमजुङका कार्यकारी निर्देशक विश्वविनोद घिमिरेले बताउनु भयो । उहाँका अनुसार आफ्नो संस्थाले उक्त स्थानमा केही घर बनाउने सहयोग गर्ने योजना छ । उहाँले भन्नुभयो, ‘तर आजसम्म सरकारी कार्यविधि नबन्नाले घर निर्माणका लागि कति सहयोग गर्ने भन्ने प्रष्ट हुन सकेन र हामीले यो परियोजना अघि बढाउन समस्या भएको छ ।’ उहाँ भन्नुभयो, ‘हामी एउटा घर निर्माणका लागि सात लाखसम्म सहयोग गर्न सक्छौं तर सरकारले कार्यविधि के कति तोकिएर आउने हो ? सरकारकोभन्दा फरक हुँदा पनि विभेदका कुरा उठ्लान् ।’ त्यसैले अन्योल छ उनले थप भने ।
त्यो समयमा लमजुङमा करिब २५ सय घरले क्षति भएको प्रशासनमा तथ्यांक आएको थियो । तीमध्ये करिब २१ सय घरहरू पूर्ण क्षतिको सूचिमा परेका हुन् घिमिरेले भने । उनले भने, ‘त्यसमा पनि पाँच श्रेणी हुने रहेछ, ४ र ५ नंबरमा पर्नेलाई घर निर्माण खर्च दिने नीति रहेको छ, त्यस्तो संख्या जिल्लामा करिब सात सय रहेको छ ।’
त्यो बेलामा भूकम्पको तथ्यांक संकलनको कार्य सिआरएसले नै गरेको हो । त्यसले त्यो तथ्यांक सिधैं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बुझायो, जिल्ला प्रशासनलाई पनि त्यसकोप्रति नदिएको सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्रले जानकारी दिनुभयो । 
सोही वडाका अध्यक्ष गंगा थापाको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले आरसिडिसीले यो क्षेत्रमा लामो समयदेखि काम गरेको हुँदा त्यसको निरन्तरताका लागि अनुरोध गर्नुभयो । उनले वडास्तरमा विपत उत्थानशील अयोजना निर्माण गर्ने तयारी गरेको जानकारी दिनुभयो । भूकम्प पीडितका लागि छिटो कार्यविधि बनाउनेतर्फ सरकारको ध्यानाकर्षण गर्दछु उहाँले भन्नुभयो ।
उक्त अवसरमा डिआरआरका संयोजक कृष्णदेव जोशीले कार्यक्रममा सहजिकरण गर्दै विश्वका १९३ देशमध्ये भूकम्पीय जोखिमका हिसावले नेपाल ११ औं सूचिमा रहेको बताउनुभयो । उनले त्यसकारण घर निर्माण गर्दा भूकम्प प्रतिरोधी प्रविधि अनपाउनु पर्नेमा जोड दिनुभयो ।
यसैगरी, सोही संस्थाका सेल्टर इञ्जिनियर सुदीन प्रधानले भुकम्प प्रतिरोधी घर निर्माणका लागि अपनाउनु पर्ने प्रविधिका बारेमा जानकारी दिनुभएको थियो ।
यसैगरी, आरसिडिसीका कार्यकारी निर्देशक विश्वविनोद घिमिरेले अनुभवले पनि कहिलेकाही धोका दिने रहेछ त्यसैले नयाँ प्रविधि अपनाउनु बुद्धिमानी हुने सल्लाह दिनुभयो । उहाँले हामीले निर्माण गरेका घर कतै हाम्रो लागि मृत्युको पासो त बनिरहेका त छैनन् ?’ यसतर्फ सचेत भई विपत जोखिमबाट बच्चे उपायको अवलम्बन गरौं भन्ने आह्वान गर्नुभयो ।
सो अवसरमा सहभागी भएका भूकम्प पीडितहरूले आफूहरू कति दिन टहरोमा बास बस्नुपर्ने हो ? भन्ने प्रश्न गरेका थिए ।
सिआर एस का कृष्णदेव जोशीले कार्यक्रमको सञ्चलान गर्नुभएको थियो । कार्यक्रममा २६ जना भूकम्पबाट घर बिहीन बनेका पीडितहरूको समेत सहभागिता रहेको आयोजकको भनाई छ ।
प्रकाशित मिति २०७९ माघ ७, शनिबार २२:०९ गते