बेसीशहर– यहाँ स्थित कालिका बचत तथा ऋण सहकारी संस्था लि.(साकोस)को ठगी काण्डमा पक्राउ परेका सञ्चालकहरूको विरुद्धमा लमजुङ जिल्ला अदालतमा चलेको मुद्दाको थुनछेकको बहस जारी रहेको छ । ४ गतेदेखि सुरु भएको थुनछेकको बहस २६ औं दिन मुद्दा हेर्दाहेर्दैमा रहेर आज पुस ५ गते पनि बहस जारी हुने भएको हो ।
यतिबेला सो सहकारीका सात जना सञ्चालकहरू प्रहरी कष्टडीमा रहेको मुद्दाको पुर्पक्ष गरिरहेका छन् । उनीहरूका विरुद्धमा सहकारी कसुर र गठी मुद्दा जिल्ला अदालतमा दर्ता भएको हो । हिजो सुरुभएको बहस जिल्ला न्यायाधिवक्ताको प्रारम्भिक बहस सकिएपछि प्रतिवादीकातर्फबाट कालिकाका सञ्चालकहरूका कानुन व्यवसायीको बहस सुरु भएको हो । तर बहस नसकिएको हुँदा सो मुद्दा हेर्दाहेर्दैमा आज पनि प्रतिवादीहरूका तर्फबाट दुई जना कानुन व्यवसायीहरूले बहसको तयारी गरिरहेको बुझिएको छ ।
उनीहरूका विरुद्ध प्रहरीले जिल्ला न्यायाधिवक्ताको कार्यालयमार्फत अदालतमा पुस २ गते मुद्दा दर्ता गरेको हो । पहिलो दिन कालिकाका अध्यक्ष शिवराम सिलवालसँग मात्र बयान लिइएको थियो । दोस्रो दिन बाँकी ६ जनाको बयान सकेर थुनछेक बहस थालिएको हो ।
पक्राउ पर्नेमा सो सहकारीका हर्ताकर्ताहरू उपाध्यक्ष श्रीकृष्ण लामिछाने, सचिव कृष्ण केसी, कोषाध्यक्ष मिलन शर्मा दनाई लगायत छन् । लामिछाने र दनाई एकीकरण अघिका क्रमशः सम्पदा कर्पुरेश्वर साकोसको अध्यक्ष थिए भने केसी निवर्तमान र वर्तमान दुवैकालका सचिव भएको बताइन्छ ।
यतिबेला प्रहरी हिरासतमा रहेका सात जनाको सुनुवाइ जारी रहेको हो । सहकारीका सञ्चालक, पूर्व सञ्चालकलगायत सहकारीमा आवद्ध ६ जनालाई प्रहरीले मंसिर १० गते पक्राउ गरेकोमा आज २६ औं दिन उनीहरूको थुनछेकको बहस किनारा लाग्ने र अदालतबाट आदेश आजै आउन सक्ने सम्भावना रहेको बताइएको छ ।
उनीहरू सबैसँग अदालतले धरौटी माग गर्न सक्ने स्थिति रहेको छ । फैसला हुँदाका बखतमा कैद ठेकिएमा हालको हिरासतका दिन कट्टा गरी बाँकी दिनमात्र ऐले त्यहाँ बस्नेहरूले जेल बस्नु पर्नेछ भने अन्यको हकमा कैद ठेकिएमा पुरै दिन कैद बस्नु पर्ने हुन्छ । ऐले पक्रिनु र नपक्रिनुको अन्तर यत्ति मात्र हो कानुन व्यवसायीहरू बताउँछन् ।
हल्ला र यथार्थता बीच आकाश जमिनको फरक ः
फरार रहेकै कारण तत्कालीन कालिका साकोसका अध्यक्ष मृगेन्द्र घिमिरे र उनकी श्रीमती विनिता घिमिरे फरार भएकै कारण उनीहरूमात्रै दोषि हुन् र पक्राउ परेका अन्य सबै चोखा हुन् भन्ने यतिबेला हौवा पिट्ने काम भएको छ । वास्तविकता भने त्यो भन्दा भिन्न भएको जानकारहरू बताउँछन् । किनकि, उक्त सहकारीमा ठगीको काम भएको छैन भन्ने दावी पक्राउ परेकाहरूबाट पनि भन्न सकेको अवस्था छैन । यसै कारण पनि मात्रामा धेर थोर भए पनि पक्राउ परी हिरासतमा रहेकाहरू पूर्ण निर्दोष सावित हुन सजिलो नभएको बताइन्छ । किनकि, बदनियतपूर्ण तवरले दोषि करार गरिएका फरार घिमिरे दम्पतीसँग मिलेर सहकार्य गर्ने उनीहरूको काममा सहयोग गर्ने, कुनै पनि अपराधका घट्नामा टुलुटुलु हेर्ने व्यक्ति पनि मतियार मानिन्छ । त्यस्तो व्यक्तिलाई पनि मुल कर्ताको तुलनामा मतियारहरूलाई आधा सजाय हुने कानुनी व्यवस्था छ । अर्कोतिर जस्को पालामा जे जति नोक्सान भएको हो ? सो रकम सम्बन्धित व्यक्तिले नै तिर्नु पर्छ जो कोही सञ्चालक समितिमा बस्दैमा सबैले तिर्नु पर्ने हुन्न भन्ने पनि हालै एक नजिर जारी भएको छ । भलै ३४ जनाका विरुद्ध मुद्दा दर्ता गराएर हाउगुजी बनाउने वा देखाउने गरिएको किन नहोस् ।
तर, हाल प्रहरी कष्टडीमा रहेकाहरूले पनि सहकारी सिद्धान्त र ऐन कानुनले कल्पनासम्म नगरेको काम गरेको फेला परेको छ । उनीहरूले नक्कली प्रतिवेदनका आधारमा बोनस खुवाउने, बीचमा सेयर फिर्ता लग्नेहरूलाई सतप्रतिशत फिर्ता दिने तर हालसम्म पनि पर्खी बस्नेहरूलाई कथित बोनस खुवाएको रकम कट्टाको ‘नक्कली (बिना मितिको) सूचना’ मार्फत कट्टी गर्न चाजोपाजो मिलाउनु पनि ठगीको अर्को रुप हो भन्ने पीििडतहरू बताउँछन् । कालिकामा गाभिएका सकोसहरूको एकीकरण गर्दा नै तिनीहरूले प्रवाह गरेको भनिएको ऋण रकम ८० प्रतिशत खराब कर्जामा परिणत भइसकेको अवस्थामा एकीकरण गर्ने, एकीरकणको अघिल्लो दिनको मितिसम्मको हिसाव पारदर्शी हुनुपर्नेमा बितेको आवको लेखा परीक्षण प्रतिवेदनका आधारमा एकीकरण गरी पछिल्लो करिब एक आव अवधिमा गरिएको चलखेल(ठगी धन्दा)लाई आपसमा मिनाहा दिने÷लिने गर्ने, बजारको प्रचलित मूल्यभन्दा सुरुमै घडेरी खरिद गर्दा महंगोमा खरिद गरेको देखाउने । अनि, आर्थिक मन्दिले गाँजेको यस्तो बेलामा त्यही घडेरीलाई दोब्बर बढी मूल्य कायम गराएर एकीकरण गर्ने, आफू र आफ्ना मनपर्ने व्यक्तिलाई शून्य व्याजदर तथा बिना धितो पनि ऋण प्रवाह गर्ने, कतिसँग सहकारीको कानुन विपरित १७ र १८ प्रतिशत व्याज असुल्ने, कार्यालयको सजावटमा समेत वास्तविक खर्चभन्दा चार गुणाले बिल पेश गरी भाञ्सा गर्ने जस्ता कार्य केबल मृगेन्द्र घिमिरेबाट मात्र भएको होला ! भनेर पत्याउन सक्ने आधार नदेखिने स्वयम् पीडितहरूको बताउँछन् । त्यस्तै, एकीकरण पछि मृगेन्द्रको खासै भूमिका देखिदैन, तर एकीकरण अघिका उनले गरेको भनिएको ठगीलाई स्विकार गर्र्दै उनैसँग मिलेर सहकारी एकीकरण गर्नेहरू कसरी चोखा हुन सक्छन् ? यो प्रश्न पनि संगीतरुपमा उठेको छ ।
एकीकरण पछि सो सहकारीमा पाँच सयभन्दा बढी सेयर सदस्य रहेको भएता पनि हालको मुद्दाका लागि उजुरी गर्ने संख्या मात्र ७७ रहेको छ । झण्डै चारसय सदस्यहरूले अझै पनि विश्वास गरेको देखिन्छ । ७७ जना उजुरकर्ताहरूमार्फत दावी गरिएको विगो रकम एक करोड ८७ लाख रुपैया भन्दा बढी रहेको बताइएको छ । तर न्यायाधिवक्ताको कार्यालयबाट भने ठगी रकमको माग दावी भने झण्डै दश करोड रहेको बताइन्छ ।
त्यसो त आजका दिनमा पनि पीडा रहेर बिना उजुर बस्नेहरूको संख्या पनि उक्तिकै रहेको छ । यदि अबका कुनै पनि दिन हाल पक्राउ परेका सञ्चालकहरू आज धरौटीमा छुटेता पनि उनीहरूका विरुद्धमा हालका उजुरकर्ता बाहेक बाँकी रहेका सेयर सदस्य मध्ये एकदुई जनाले मात्र पनि उजुरी दिएमा उनीहरू फेरि पक्राउ पर्न सक्ने बाटो खुला रहेको समेत कानुन व्यवसायीहरू बताउँछन् । उनीहरूका अनुसार त्यस्तो सम्भावना एक जनामात्र पनि सहकारीको पीडित रहदासम्म रहिरहन्छ ।
स्मरणीय छ, नेपाल प्रहरी धेरै घटनामा आफै जाल रच्ने अर्थात रोगी बनाउने र आफै झाँक्री हुने गरेको विगतमा धेरै पटक पुष्टि हुँदै आएको छ । यो ठगी काण्डमा पनि फरार रहेका अधिकांशलाई प्रहरी आफैले सूचना दिएर त्यस्तो सुविधा उपलब्ध गराएको, अब प्रहरी आफैले तिनीहरूलाई बोलाउन सक्छ भन्ने परिचर्चा पनि बजारमा प्रशस्त सुनिदै आएको छ ।
प्रकाशित मिति २०८० पुष ५, बिहीबार १०:१९ गते