उस्ता(लमजुङ)– यहाँको एक परिवारले तीन पुस्तासम्म एकै परिवारमा बेहुला बेहुलीबीच विहेबारी भएको खुल्न आएको छ । राजनीतिक एवम् सामाजिक व्यक्तित्व जमिन्द्रमान घले र उहाँको परिवारबाट त्यस्तो नाता कायम गरिएको हो । एकपरिवारतर्फ दुलाहा र अर्कोपरिवारतर्फबाट दुलहीमात्र भएर त्यस्तो शुभविवाह गरिएको हो ।
मस्र्याङदी नदी वारी घनपोखरा र सो नदी पारी उस्ता गाउँमा बस्ने दुई परिवारका बीचमा त्यस्तो नाता कायम भएको हो । यतिबेला ती परिवार क्रमशः मस्र्याङदी गाउँपालिका वडानं– २ र ७ मा बसोबास गर्दछन् । यसप्रकार एकै परिवारमा बेहुला र बेहुली भएर विवाह गरेको सम्भवतः जिल्लामै यो पहिलो घटन हो ।
गुरुङ धमर्, संस्कार, संस्कृति एवम् परम्परा अनुसार मामा चेला, फुपू चेलाका बीचमा बिहेवारी चल्ने गरी आएको हुँदा यसरी तीन पुस्ताका बीचमा बिहेवारी सम्भव भएको जमिन्द्रमान घलेले बताउनु भयो । उहाँका बुबा स्व. कर्णबहादुर घले र आमा स्व. इन्द्रकुमारी घलेका बीचमा विसं २०१६ साल ताका विवाह भएको थियो । ती दम्पत्तीबाट तीन भाइ छोरा र दुई छोरी जन्मिए । जसमा जमिन्द्रमान घले जेठो छोराका रुपमा जन्मिनु भएको हो । जमिन्द्रले उहाँकी आमा इन्द्रकुमारी घलेकी भदैनी कमला घलेका साथमा शुभ विवाह गर्नु भएको हो । उहाँले आफ्नो शुभविवाह २०४५ सालमा भएको जानकारी दिनु भयो ।
एकप्रकार नजिकको नातामा विवाह गर्न हुन्न भन्ने सिद्धान्त विज्ञानले प्रतिपादन गरेको भएता पनि चिनेजानेको परिवारमा पनि नाताभित्रै बिहेबारी हुँदा अपरिचितबाट हुनसक्ने दुर्घटनाजन्य परिस्थितिको सामना गर्नु नपर्ने जमिन्द्रमान बताउनु हुन्छ । यो विवाह प्रेमको हो कि मागी ? भन्ने जिज्ञासामा मागी विवाह नै हो उहाँले सुनाउनु भयो ।
नेकपा एमालेको केन्द्रीय सदस्य रहनु भएका जमिन्द्रमान संविधानसभाको सदस्य हुनुहुन्छ । दलगत राजनीतिको विगविगी भएको बेलामा पनि दलीय संकीर्ण घेराभन्दा माथि उठेर सामाजिक काम गर्ने व्यक्तित्वका रुपमा आफ्नो चिनारी बनाउन सफल व्यक्तित्व हो जमिन्द्रमान घले । उहाँले यसअघि गाविसको अध्यक्ष हुँदै जिल्ला विकास समितिको सभापति समेत अनुभव हासिल गर्नु भएको छ ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको समेत सल्लाहकार रहनु भएका घलेले साहित्यको श्रीबृद्धिमा समेत योगदान गर्र्ने व्यक्तित्व भएको प्रतिष्ठानका अध्यक्ष एवम् वरिष्ठ पत्रकार नवराज पहाडीले बताउनु भएको छ । संविधानसभाको सदस्य हुँदा साहित्यकारका कृतिहरू किनी दिएर लेखकहरूलाई प्रोत्साहन गर्नु हुने घले जिल्लाको पहिलो जनप्रतिनिधि हुनुभएको समेत पत्रकार पहाडीले जानकारी दिनुभयो ।
जमिन्द्रमान दम्पत्तीका तीन सन्तान छन् । तीमध्ये हिजो पुस ७ गते उस्ता गाउँमा सामुहिक विहे भोजको प्रवन्ध जेठो छोरा अविषेक घलेको सन्दर्भमा आयोजना भएको हो । उनीहरूको विवाह गत मंसिर २९ गतेका दिन काठमाडौंमा भएको उहाँले जानकारी दिनु्भयो ।
अभिषेकका साथमा विवाह गर्ने माया घले उहाँकी आमा कमलाकी भदिनी हुनुहुन्छ । जमिन्द्रकी एक मात्र छोरीको विवाह भइसकेको छ भने कान्छो छोरा किरणको विवाह हुन बाँकी छ ।
प्रकाशित मिति २०८० पुष ८, आईतवार १८:२० गते