
बलुचिस्तान(पाकिस्तान)– बलोचलाई २०२५ को ‘नोबेल शान्ति पुरस्कार’ मनोनयन गरिएको थियो, तर अहिले कारावासको फैसला भएको छ । मानवअधिकार अभियन्ता महरंग बलोचलाई २०२४ मा भएको एक प्रदर्शनका क्रममा अर्धसैनिक बलका जवानको हत्या प्रकरणमा आजीवन कारावासको सजाय असार १० गते सुनाइएको हो । उनीसँगै अर्का अभियुक्त सिब्घतुल्लाह साहलाई पनि समान सजाय दिइएको छ ।
पेसाले मेडिकल डाक्टर बलोच पाकिस्तानको बलुचिस्तान प्रान्तमा बेपत्ता पारिएका व्यक्तिहरूको पक्षमा अभियान चलाउँदै आएकी छिन् । मानवअधिकारवादीहरूले महरंग बलोचको आजीवन कारावासको फैसलालाई राजनीतिक दमनको रूपमा लिँदै चर्को विरोध व्यक्त गरेका छन् । बलुचिस्तानमा बेपत्ता पारिएका व्यक्तिहरूको पक्षमा सक्रिय भएकी महरंगलाई हत्या र आतंकवादमा दोषी ठहर गरिएको छ । तर उनको संस्था र मानवअधिकारवादीहरूले उक्त आरोप राजनीतिक पूर्वाग्रह र दमन भएको भन्दै फैसलाको चर्को विरोध गरेका छन् ।
सन् २००६ देखि उनी बलुच अधिकारका लागि सक्रिय छिन् । उनका बुबा र भाइलाई पनि सुरक्षाकर्मीहरूले बेपत्ता बनाएका थिए । पछि उनका बुबाको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो ।
बलुचिस्तान युनिटी कमिटी (बीवाईसी)की नेतृ महरंग बलोच र अर्का अभियन्ता सिब्घतुल्लाहलाई हत्या तथा आतंकवादसम्बन्धी अभियोगमा दोषी ठहर गरिएको हो । अभियोजन पक्षले उनीहरूले ग्वादरमा भएको प्रदर्शनका क्रममा भीडलाई उक्साएर जवान शब्बिर अहमदको हत्या गराएको आरोप लगाएको थियो ।
महरंग बलोचले आरोप अस्वीकार गर्दै आएकी छन् । मानवअधिकारकर्मीहरू र उनका कानुनी प्रतिनिधिहरूले अदालतको फैसला निष्पक्ष नभएको दाबी गरेका छन् ।
अदालतले दुवैलाई आतंकवाद, राजद्रोह तथा हत्या सम्बन्धी अभियोगमा दोषी ठहर गर्दै आजीवन जेल सजाय सुनाएको जनाएको छ । यद्यपि अभियुक्त पक्षले सबै आरोप अस्वीकार गर्दै उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको छ ।
बलोच समुदायको हकहित र मानवअधिकारका लागि गरेको संघर्षका कारण उनी अन्तर्राष्ट्रियस्तरमा पनि चर्चित छिन् । उनलाई २०२५ को ‘नोबेल शान्ति पुरस्कार’ का लागि पनि मनोनयन गरिएको थियो ।
पाकिस्तान मानवअधिकार आयोगले पनि उक्त निर्णयको पुनरावलोकन गर्न माग गरेको छ । बलोच बीबीसीको ‘१०० महिला २०२४’ सूचीमा समेत परेकी थिइन् ।
प्रकाशित मिति २०८३ असार १३, शनिबार ०६:५६ गते