‘रास्वपा कार्यकर्ता हिन्दुवादी अभियन्ता हुन पाउँछन् : मनिष झा, रास्वपा नेता

‘रास्वपा कार्यकर्ता हिन्दुवादी अभियन्ता हुन पाउँछन् : मनिष झा, रास्वपा नेता

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन १७ गते सोमबार ०५:२६

रास्वपाका भ्रातृ संगठनहरू छैनन्, तर धर्मप्रतिको आस्था हाम्रा पार्टीका सदस्यहरूले पनि राख्न पाउनुहुन्छ । उहाँहरू धर्म–आस्थाको अभियन्ताका रूपमा हामीसँगै वार्ताको टेबलमा पनि आउनुपर्छ र आउन पाउनुहुन्छ नेता झाको प्रष्टोक्ति थियो ।

‘यो कुरा कस्तो हो भने, हाम्रा १५ जना कार्यकर्तामध्ये एक जना वार्तामा हुनुहुन्थ्यो । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य हो, तर उहाँ हिन्दुवादी अभियन्ता पनि हो । त्यो उहाँको व्यक्तिगत स्वतन्त्रता हो । हिन्दुवादी अभियन्ता हाम्रो पार्टीको सदस्य पनि हुन पाउनुहुन्छ ।’ नेता झा

काठमाडौं– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् सांसद मनिष झाले आफ्नो पार्टीका कार्यकर्ताहरू हिन्दुवादी अभियन्ता हुने छुट रहेको बताउनु भएको छ । गृहनगर जनकपुरमा आउनु भएका नेता झाले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले हिन्दुवादी अभियानमा लाग्न पाउनु कार्यकर्ताहरूको व्यक्तिगत स्वतन्त्रता भएको साउन १७ गते उल्लेख गर्नु भएको हो ।
नेता झाले यस विषयलाई लिएर अतिरञ्जित गर्न आवश्यक नरहेको बताउनु भयो । उहाँका अनुसार पार्टीको सदस्य र धार्मिक आस्थाका आधारमा अभियानमा सहभागी हुनु दुवै व्यक्तिगत स्वतन्त्रताको विषय भएको हो । उहाँले भन्नुभयो, ‘वार्तामा सहभागी भएकै आधारमा विवाद सिर्जना गर्नु उचित होइन ।’
सुनसरी घटनापछि जनकपुर लगायत तराईका विभिन्न जिल्लामा हिन्दुवादी संगठनहरूले प्रदर्शन गर्दै आएका थिए । त्यसै क्रममा जनकपुरमा भएको प्रदर्शन साम्य पार्न सरकारले ’हिन्दु सम्राट सेना’ नामको संगठनसँग वार्ता गरेको थियो । उक्त वार्तामा हिन्दु सम्राट सेनाका तर्फबाट सहभागी एक व्यक्ति रास्वपा सदस्य भएको खुलेपछि त्यसबारे जबाफ दिँदै रास्वपा नेता झाले हिन्दुवादी अभियन्ता हुन पाउने स्वतन्त्रता आफ्ना सदस्यहरूलाई रहेको बताउनु भएको हो ।
झाले भन्नुभयो, ‘यो कुरा कस्तो हो भने, हाम्रा १५ जना कार्यकर्तामध्ये एक जना वार्तामा हुनुहुन्थ्यो । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य हो, तर उहाँ हिन्दुवादी अभियन्ता पनि हो । त्यो उहाँको व्यक्तिगत स्वतन्त्रता हो । हिन्दुवादी अभियन्ता हाम्रो पार्टीको सदस्य पनि हुन पाउनुहुन्छ ।’ उहाँका अनुसार रास्वपाका भ्रातृ संगठनहरू छैनन्, तर धर्मप्रतिको आस्था हाम्रा पार्टीका सदस्यहरूले पनि राख्न पाउनुहुन्छ । उहाँहरू धर्म–आस्थाको अभियन्ताका रूपमा हामीसँगै वार्ताको टेबलमा पनि आउनुपर्छ र आउन पाउनुहुन्छ ।
त्यसबारेमा थप प्रष्ट्याउँदै नेता झाले भन्नुभयो, ‘उहाँले नै यो आन्दोलनमा तोडफोड, आगजनी र हत्या–हिंसामा जानुको सट्टा ‘होइन वार्ता गरौं’ भनेर सबैलाई वार्ताको टेबलमा ल्याउनुभयो । कुनै पार्टीको सदस्यले सरकारसँग वार्ता गर्न पाउँदैन र ? आन्दोलनमै जानुपर्ने, तोडफोड नै गर्नुपर्ने र हत्या–हिंसामै सीमित हुनुपर्ने ? कस्तो तर्क हो सञ्चार माध्यमको ?
पार्टीको कुनै पनि कार्यकर्ता कुनै धर्मप्रति आस्था राख्ने व्यक्ति हुन पाउने र परिवारको सदस्य हुन पाउने समेत उहाँले प्रष्ट्याउनु भयो । उहाँका अनुसार एक जना पार्टीको सदस्य कुनै धर्मप्रति आस्था राख्ने व्यक्ति हुन सक्छ; ऊ बुबा, आमा, श्रीमती वा श्रीमान् हुन सक्छ । जे पनि हुन सक्छ नि ! तिमी रास्वपा हौ, त्यसैले छोरा हुन पाउँदैनौ, भाइ हुन पाउँदैनौ भन्नु कहाँको तर्क हुन्छ ? उहाँले भन्नुभयो, ‘रास्वपाको सदस्यको जीवनको अर्को अंश पनि हुन्छ। उहाँहरू त्यहाँबाट वार्ताको टेबलमा पनि आउन पाउनुहुन्छ । आउनुभयो, उहाँहरूको माग हामीले बुझ्यौं, ग्रहण गर्यौं र सम्भावना भएका मागहरूप्रति त्यसरी नै अघि बढ्नेछौं ।’
रास्वपाका पार्टी सदस्य भएको कारणले नै आन्दोलनलाई हिंसात्मक बाटोमा नभई वार्तामार्फत समाधान खोज्न सफल भएको दाबी उनले गरे । हिन्दू सम्राट सेनाका सम्भावित र उचित मागमाथि थप छलफल गरेर सरकार अगाडी बढ्ने छ मmाले भन्नुभयो । आन्दोलनकारीका मागहरू संवैधानिक, व्यावहारिक र सामाजिक दृष्टिले सम्भव हुने गरी परिमार्जन गर्न लामो समय छलफल गरिएको उहाँको कथन छ ।
सरकारले हिन्दू सम्राट सेनाका प्रतिनिधिसँग साढे नौ घण्टा वार्ता गरेको थियो ।

प्रकाशित मिति २०८३ श्रावण १८, सोमबार १७:२६ गते
हजुरको प्रतिक्रिया