काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लोककल्याणकारी विज्ञापनवापत मिडियाले पाउने रकम कुनै हालतमा नरोकिने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिको ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले जुनसुकै हालतमा पनि लोककल्याणकारी विज्ञापनवापतको रकम उपलब्ध गराइने प्रतिवद्धता जेठ ९ गते व्यक्त गर्नु भएको हो ।
‘लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको मनसाय छैन,’ भन्दै उहाँले भन्नुभयो, ‘अहिले रकम कटौती गरेकोभन्दा पनि विनियोजित बजेटको रकम नपुगेको हो । हामीले जेठ १ गते नै अर्थ मन्त्रालयमा पत्र पठाएर अपुग रकम माग गरेका छौँ, अर्थबाट रकम आउने छ ।’ उहाँले थप भन्नुभयो, ‘यदि आएन भने पनि मन्त्रालयले आन्तरिक व्यवस्थापन गरेर रकम उपलब्ध गराउनेछ् ।’
मन्त्रालय सदैव नेपाली मिडियाको हक अधिकारको पक्षमा भएको स्मरण गराउँदै मन्त्री शर्माले भन्नुभयो, ‘तपाईँहरूलाई म यति विश्वास दिलाउँछु, यो रकम जसरी पनि उपलब्ध गराइने छ ।’
उहाँले आन्दोलनमा रहेका पत्रकार महासंघको उपत्यका प्रदेश समितिलाई आन्दोलन रोक्नसमेत मन्त्री शर्माले आग्रह गर्नु भएको थियो ।
प्रकाशित मिति २०८० जेष्ठ १०, बुधबार ०४:४९ गते