विवादित आमसञ्चार विधेयक पुनः प्रदेशसभामा, एक लाखसम्म जरिवाना

विवादित आमसञ्चार विधेयक पुनः प्रदेशसभामा, एक लाखसम्म जरिवाना

एजेन्सी

@antaranganews

२०८० भदौ ३१ गते आईतबार ०२:५२

प्रस्तुत विधेयक विद्यमान संविधानले बोलेको पूर्ण प्रेस स्वतन्त्रताको विरुद्धमा छ । त्यसमा पनि स्वतन्त्रता तथा प्रजातन्त्रको हिमायति दावी गर्ने नेपाली काँग्रेस नेतृत्वको सरकारका पालामा प्रजातन्त्रको भावना र मर्ममा चोट पुग्ने गरी विधेयक किन ल्याउन खोजिएको हो रहस्यपूर्ण र खोजीको विषय बनेको आम बुझाई छ ।

गण्डकीका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकै पालामा विधेयकको मस्यौदा तयार पारिएको हो ।

पोखरा– विवादित आमसञ्चार विधेयक, २०८० गण्डकी प्रदेशसभामा पुनः टेबुल गरिएको छ । प्रदेशसभाको बैठकमा गण्डकीका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले विधेयक भदौ ३० गते पेस गर्नु भएको हो ।
गण्डकीका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकै पालामा विधेयकको मस्यौदा तयार पारिएको हो । सरकारले मौजुदा विधेयकमा सामान्य भाषिक संशोधन गरेर प्रदेशसभामा पेस गरेको हो । अघिल्लो सरकारकै पालामा अगाडि बढाउन खोजिएको यो विधेयक विवादका कारण सम्भव भएको थिएन । प्रारम्भिक मस्यौदा बनाउने क्रममा ‘बाह्य प्रदेशका पत्रकारले गण्डकीमा पत्रकारिता गर्न नपाउने’ सम्मको व्यवस्था राख्ने तयारी थियो । तर, पत्रकारले त्यसलाई सिधै अस्वीकार गरेका थिए ।
त्यसपछि कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्नुभयो । उहाँले विधेयकलाई टुंगोमा पु¥याउने प्रयास गरे पनि प्रेस विरोधी तत्वले रोकेको थियो । उहाँले पटक पटक विभिन्न फोरममा प्रेस विरोधी वा संविधानको मर्म विपरित विधेयक कुनै पनि हालतमा आउँदैन भन्ने उदघोष र प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।
विधेयक प्रदेशसभामा पेस गरेर सामान्य छलफलपश्चात् तत्कालीन विधायन समितिमा पठाइएको थियो । समितिमा विभिन्न चरणमा छलफलपछि प्रतिवेदनसहित विधेयक सदनमा फिर्ता गर्ने तयारी थियो । तर, गण्डकी सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य ग¥यो । पछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भयो । टुंगोमा पुग्नै लागेको विधेयक निष्क्रिय बन्यो ।
यसअघि, विभिन्न चरणका छलफलका क्रममा पत्रकारका प्रतिनिधिले यो विधेयक फिर्ता लिन सुझाव दिएका थिए । विधेयक हुबहु पारित गरिए सडक आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका थिए ।
विधेयकको विरोध किन ?
०७६ मा नै तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उक्त विधेयकको पहिलो मस्यौदा तयार पारेको थियो । त्यति बेला विभागीय मन्त्री हरि चुमान हुनु्ुहुन्थ्यो ।
सो विधेयकमा विदेशी नागरिकले सञ्चारमाध्यममा २५ प्रतिशतसम्म लगानी गर्न पाउने अर्को विवादित व्यवस्था राखिएको थियो । त्यो व्यवस्था संघमा तयार गरिएको विधेयकको मस्यौदा विपरीत थियो । अतः लिखित रूपमा विधेयकको मस्यौदामा राखिएको त्यो बुँदा पनि पछि हटाइएको थियो ।
विधेयकमा रहेको सोही प्रावधानका कारण विरोध गरिएको हो । यसलाई सच्याउनु पर्ने पत्रकारको माग छ ।
फिर्ता लिन भनिएको र सञ्चारकर्मीले आन्दोलन गर्ने चेतावनी दिनुको कारण विधेयकमा समावेश पत्रकारमाथि कारबाहीको व्यवस्थाले गर्दा हो । विधेयकको दफा ४७ का उपदफामा पत्रकार विरुद्ध पाँच हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । विधेयकमा यसअघि एक वर्ष कैदको पनि व्यवस्था समेत थियो । पछिल्लो पटक उक्त सजाय भने हटाइएको छ ।
०७७ साल चैतमा पहिलोपटक यो विधेयक प्रदेशसभामा दर्ता गरिएको थियो । त्यतिबेला नेपाल पत्रकार महासंघको चुनावी चहलपहल थियो । पत्रकार महासंघको निर्वाचनको सम्मुखमा प्रदेशसभामा दर्ता गरिएको विधेयकविरुद्ध चौतर्फी विरोध भयो । त्यसपछि त्यसलाई परिमार्जन गर्ने भनियो ।
प्रेस रजिस्ट्रारको तह बढाइयो :
विधेयकको दफा ६ मा प्रेस रजिस्टारको व्यवस्था छ । आमसञ्चार क्षेत्र नियमनका लागि स्थापना गरिने प्रेस रजिस्ट्रारको कार्यालयलाई अधिकारसम्पन्न र जिम्मेवार बनाउने प्रावधान विधेयकमा छन् । प्रदेश सरकारको ११औँ तहका कर्मचारी अर्थात् प्रदेश सचिवसरह प्रेस रजिस्ट्रारको प्रस्ताव गरिएको छ ।
दफा ३८ मा मिडियाका सामग्रीले मर्का परे र खण्डनमा चित्त नबुझे १५ दिनभित्र उजुरी दिन सकिने व्यवस्था छ । निषेधित प्रकृतिका विज्ञापन गरे कसुरको मात्रा हेरी पाँच हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्तावित ऐनमा छ ।
सञ्चारमाध्यम अभिलेखीकरण, अनुगमन, वर्गीकरण, विज्ञापनको नियमनलगायत प्रावधान विधेयकमा राखिएको छ । प्रेस रजिस्ट्रारलाई सुरुआती कारबाही र किनाराको अधिकार दिन प्रस्ताव गरिएको छ ।
रजिस्ट्रारको कार्यकाल चार वर्षको हुनेछ । रजिस्ट्रार नियुक्त नहुँदासम्म सम्बन्धित महाशाखा प्रमुखले यो जिम्मेवारी निर्वाह गर्ने विधेयकमा व्यवस्था छ । ३५ वर्ष पुगेको र ६० ननाघेको, स्नातकोत्तर उत्तीर्ण र कम्तीमा १० वर्ष पत्रकारिता गरेको व्यक्तिलाई छनोट समितिले रजिस्ट्रारमा सिफारिस गर्न सक्ने प्रावधान राखिएको छ ।
अघिल्ला दुई विधेयकमा प्रेस रजिस्ट्रार नवौँ तहका कर्मचारीसरह हुने र मिडियालाई कारबाही गर्ने अधिकार मन्त्रालयका सचिवलाई दिइने उल्लेख थियो । अहिले प्रदेश सरकारको ११औँ तहको कर्मचारीसरह सेवा सुविधा प्रस्ताव गरिएको छ ।
प्रस्तुत विधेयक विद्यमान संविधानले बोलेको पूर्ण प्रेस स्वतन्त्रताको विरुद्धमा छ । त्यसमा पनि स्वतन्त्रता तथा प्रजातन्त्रको हिमायति दावी गर्ने नेपाली काँग्रेस नेतृत्वको सरकार त्यसमा पनि महेन्द्रध्वज जिसी जस्तो प्रजातन्त्रका लागि पटक पठक लडेको व्यक्तित्वका पालामा प्रजातन्त्रको भावना र मर्ममा चोट पुग्ने गरी विधेयक किन ल्याउन खोजिएको हो रहस्यपूर्ण र खोजीको विषय बनेको आम बुझाई छ ।

प्रकाशित मिति २०८० भाद्र ३१, आईतवार १४:५२ गते
हजुरको प्रतिक्रिया