अन्ततः कालिका साकोसका सञ्चालक विरुद्ध उजुरी गर्न प्रहरीले जारी गर्यो सार्बजनिक सूचना

अन्ततः कालिका साकोसका सञ्चालक विरुद्ध उजुरी गर्न प्रहरीले जारी गर्यो सार्बजनिक सूचना

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक १० गते शुक्रबार ०८:३४

कालिका साकोसका सञ्चालकहरूले कुल चार हजार ४१२ वटा बचत खातामा सदस्यलाई ब्याजदर प्रदान नगरिएको बचत रकम १४ लाख ७० हजार ७१३ रुपैयाँ ५० पैसा रहेको फेला परेको छ । गैर शेयर सदस्यहरूसँग गलत तवरले मुल्यांकन गरी बचतकर्ताहरूको हित विपरित रकमहरू वितरण गरी तरलता संकट निम्ताई एकीकरण गर्ने जस्ता कार्यहरूबाट शेयर सदस्य बाहेकका सर्वसाधारणहरूलाई समेत ठगी गर्ने मनसयका साथ कारोबार सञ्चालन गरेको देखिन आएकोले साबिकका तीनवटै सञ्चालक समितिका पदाधिकारीहरूको सम्पत्ती रोक्का गरी कारबाही चलाउनु पर्ने राय पेश गरेको प्रतिवेदनमा भनिएको छ ।

आउँदो मंसिर १० गतेसम्म उजुरी दिन सक्ने सूचनामा उल्लेख

लमजुङ– जिल्ला सदरमुकाम बेसीशहर नगरपालिका– ८ को सेराचोकमा मुख्य कार्यालय रहेको कालिका बचत तथा ऋण सहकारी संस्था लि(साकोस)का सञ्चालकहरूले शेयर सदस्य तथा बचत कर्ताहरू उपर गरेको ठगीका बारेमा उजुरी माग्न सार्बजनिक सूचना प्रहरीले जारी गरेको छ । बडादशैंको बिदा हुने अघिल्लो दिन अर्थात कार्तिक ३ गते सो सूचना जारी गरिएता पनि अन्तरङ्ग न्यूजडटकमलाई आज १० गते मात्र उक्त सूचना प्राप्त भएको हो ।
सो सूचना अनुसार कालिका साकोसका सञ्चालकहरूका विरुद्धमा आउँदो मंसिर १० गते भित्र उजुरी दिन सक्ने जिल्ला प्रहरी कार्यालयबाट जारी सूचनामा उल्लेख गरेको छ ।
सेराचोकमा पछिल्ला दिनमा सञ्चालनमा रहेको कालिका साकोस का सञ्चालकहरूले बदनियतका साथ त्यसअघि पृथक अस्तित्वमा रहेका कालिका, कर्पुरेश्वर र सम्पदालाई एकीकरण गरी कालिका साकोस बनाएका थिए । उक्त सहकारीलाई गण्डकी प्रदेशमै सबैभन्दा ठूलो, आकर्षक एवम् नमूना लायकको बनाउने भन्दै सञ्चालकहरूले शेयरधनीहरूको बुद्धि भुटेर एकीकारणको कार्य गरेका थिए । तर एकीकरणको एक बर्ष नबित्दैदेखि सेयरलाई बचत फिर्ता दिन नसक्ने स्थितिमा पुगेको हो । यतिबेला भने सो साकोस गण्डकी प्रदेशमा सुनामका लागि हैन बदनाम कमाउनमा भने अग्रणी एवम् नमूना बनिरहेको छ ।
पछिल्ला दिनमा सो सहकारीको एकीकरण मै सञ्चालकहरूको बदनियत रहेको खुल्न आएको छ । उनीहरूको बदनियतका बारेमा यसअघि पनि अन्तरङ्गले समाचार प्रकाशन गरिसकेको छ । एकीकरण मै सञ्चालकहरूको बदनियत रहेको भन्ने सहकारी गण्डकी प्रदेश निर्देशनालयबाट खटाइएको निरीक्षण तथा अनुगमन टोलीले दिएको प्रतिवेदनले कालिका साकोसको एकीकरण मै सञ्चालकहरूको बदनियत रहेको बग्रेल्ती प्रमाण उल्लेख गरेको छ ।

अनुसन्धान प्रतिवेदन अपूर्ण :
सहकारी डिभिजन कार्यालयबाट अनुगमन निरीक्षण गराई तयार गरिएको सो प्रतिवेदन आफैमा अपूर्ण रहेको त्यो सार्वजनिक भएकै दिनदेखि पीडितहरूले भन्दै आएका छन् भने तत्कालीन तीन सहकारीका सञ्चालकमध्ये एकले त्यसमा पूर्ण असहमति व्यक्त गरेका छन् । पीडितहरू भन्छन्, ‘कतिपय कारोबारको मिति प्रष्ट उल्लेख नगरिनु कसैको भने रकम निकालेको घडी, पला समेत उल्लेख गर्नु, बचतकर्ताको सम्पत्ती शुद्धिकरणको प्रश्न नियतबस (सञ्चालकहरूको भनसुनका आधारमा) उल्लेख गरिनु, त्यसबारेमा ती बचतकर्तासँग त्यसबारेमा सोध्न आवश्यक नठान्नु तर सञ्चालकहरू जो कुनै दिन बेसीशहरमा चप्पलका भरमा आएर आज कारसहितको आलिसान महलमा बस्न सक्ने दमौली, चितवन लगायतका विभिन्न स्थानमा घडेरीका घडेरीहरू जोड्ने हैसियत के कसरी प्राप्त भयो ? भन्नेतर्फ ध्यान नदिई, ती सञ्चालकहरूको सम्पत्ती शुद्धिकरणका बारेमा प्रश्न नउठाई उन्मुक्ति दिने दुष्प्रयास समेत गरेको देखिदा सो प्रतिवेदन अपुरो, अधुरो, पूर्वाग्रही, एकपक्षीय र पीडित मैत्री छैन ।’
सहकारी गण्डकी प्रदेश रजिष्टार कार्यालयका तत्कालीन रजिष्टार सहितलाई अनुसन्धानको दायरामा ल्याउनु पर्ने :
यसैगरी, खराब अवस्थामा पुगिसकेको तीन सहकारीलाई एकीकारणको अनुमति दिने सहकारी गण्डकी प्रदेश रजिष्टार कार्यालयका तत्कालीन प्रमुख सहितका कर्मचारीहरूको समेत यस कार्यमा मिलेमतो र बदनियत रहेको देखिन्छ पीडितहरूले बताउँदै आएका छन् । उनीहरूले अन्तिम स्विकृत दिने समयमा कुनियत नराखी सबै हिसाव राम्रोसँग हेरिदिएको भए या त यी संस्थाहरू एकीकारण नै हुन्थेनन् या त आज खुलेको पोल त्यो बेलानै छताछुल्ल हुन्थ्यो, यसैले एकीकरणका लागि स्वीकृतिको राय दिने र अन्तिम स्वकृति दिने तत्कालीन रजिष्टार र सिफारिसकर्ता कर्मचारीको नियत खराब देखिएकोले उनीहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउनु पर्ने पीडितहरूको माग छ ।
सो प्रतिवेदन अनुसार कालिका साकोसका सञ्चालकहरूको ती सहकारी संस्था बीचको एकीकरण र सञ्चालनमा बदनियत रहेको पुष्टि गर्ने आधारहरूमा–
१) अपादर्शी एकीकरण : सामान्य धारणा अनुसारमा पनि एकीकरण गर्दाको अघिल्लो दिनसम्मको तीन वटै सहकारीहरूको सबै हिसाब (आय व्यय) प्रष्ट, पारदर्शी हुनुपर्नेमा सो नगरी एकीकरण गर्नु भन्दा एक आव अघिको लेखा परीक्षण प्रतिवेदनका आधारमा एकीकरण गरिनु ।
२) गलत मनसायका साथ ऋण प्रवाह :
ऋण प्रवाहमा पनि उस्तै लापरवाही गरेको, कतिपय नक्कली ऋणी खडागरी ऋण प्रवाह गरेको देखाई सो ऋण रकम सञ्चालकहरूले भात भान्सा गरेको पाइएको छ ।
क) एकीकरण पूर्व नै शत प्रतिशत कर्जा भाखा नाघेको, झण्डै ९ करोड लगानी शंकास्पद :
कालिका साकोसका सञ्चालकहरूले १० लाख रुपैयाँ ऋण उठ्न बाँकी छ र हामी तपाईहरूको बचत तिर्छौं भन्दै बचतकर्ताहरू र शेयर सदस्यहरूलाई भुलाउँदै, छत्र्याउँदै आएकोमा सो सन्तुलन परीक्षणमा उल्लेख गरिएको कर्जा रकम १० करोड छ लाख ६१ हजार १८८ रुपैयाँ ७२ पैसा रहेकोमा शत प्रतिशत कर्जा नै भाखा नाघेको छ । जसमा आठ करोड, ७८ लाख ४२ हजार १९८ रुपैयाँ ७२ पैसा शंकास्पद र खराब बर्गमा रहेको प्रतिवेदनमा उल्लेख छ । ती सबै कर्जाहरू एकीकरण पूर्व नै भाखा नाघेको देखिन्छ सो प्रतिवेदनमा भनिएबाट सञ्चालकहरूको असली अनुहार छर्लङ्ग हुन आएको छ ।
ख) शेयर सदस्य नै नभएको व्यक्तिलाई कर्जा प्रवाह :
केही ऋणीहरू शेयर सदस्य नै नभएको अबस्थामा सेयर सदस्य र बचत कर्ताको रकम हिनामिना गर्ने मनासय राखी ऋण प्रदान गरेको भेटियो भन्दै त्यस्तो रकम ९५ जनामा लगानी गरेको कुल रकम ८५ लाख ९६ हजार ५८ रुपैयाँ गैर शेयर सदस्यलाई कर्जा प्रवाह गरेको भेटिएको छ । उपरोक्त कर्जाहरू साबिकका ३ वटा सहकारी संस्थाका सञ्चालक पदाधिकारीबाट उक्त कर्जा नीति विपरित गरिएका कार्यहरूको जिम्मेवारी साबिकका संस्थाहरूका सञ्चालकहरूबाट सो रकम असुल उपर गर्न सो प्रतिवेदनमा सिफरिस गरिएको छ ।
ग) फरक ब्याजदर र शून्य प्रतिशत व्याज दरमा पनि ऋण प्रवाह :
एक दिनका लागि भन्दै गरेको २२ लाख ४० हजार लगानी, ६१४ दिनमा पनि नफर्किएको प्रतिवेदनमा औंल्याइएको छ । व्याज मात्र छ लाख दुई हजार ८९८ रुपैंया ऋणीले नतिरे प्रमुख कार्यकारी तथा साविक सम्पदाले शुन्य प्रतिशतमा गरेको लगानी नउठेकोले साकोसका सञ्चालकहरू मार्फत असुल उपर गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
सो ऋण नानीमाया अर्याललाई शुन्य प्रतिशतमा एक दिनको लागि भनी २२ लाख ४० हजार रुपैयाँ कर्जा नियम विपरित प्रदान गरिएकोमा उक्त कर्जा लगानी ०७६ वैशाख ९ गतेदेखि ०७७ पुस १४ गतेसम्म शुन्य प्रतिशत मौज्दातमा लगानी देखाई बचत अपचलन गरिएकोले सो कारणबाट संस्थालाई हानी नोक्सानी पुर्याइएको रकम (६१४ दिनको, ब्याजदर १६ प्रतिशतको हिसाबले) छ लाख दुई हजार ८९८ रुपैंया निज ऋणीबाट असुल उपर गर्ने, उक्त रकम असुल उपर नभएमा प्रमुख कार्यकारी तथा साविक सम्पदा साकोसका संचालकहरू मार्फत असुल उपर गर्नुपर्ने प्रतिवेदनमा राय पेश गरिएको छ ।
३) कृतिम रुपमा जग्गाको मूल्य कायम गराई शेयरमा वितरित स्थिर सम्पत्ती सम्बन्धमा :
सन्तुलन परीक्षणमा उल्लेख गरिएको स्थिर सम्पत्ती ७१ लाख ४३ हजार १६७ रुपैयाँको भौतिक परीक्षण प्रतिवेदन तयार नगरिएको पाइयो । उपरोक्त स्थिर सम्पत्तीको मुल्य मध्ये करपुरेश्वर सहकारीसँग रहेको जग्गाको मुल्य ५४ लाख रुपैयाँ मात्र मुल्यांकन गरी २६ लाख रुपौंयाँमा खरिद भएको जग्गालाई २८ लाख बृद्धी गरी सो रकम शेयर बापत भनि वितरण गरिएको पुष्टि हुन्छ । कृतिम रुपमा जग्गाको मुल्य कायम गराई शेयरमा वितरण गरिएको रकम फिर्ता गरी सो सम्पत्तीको मुल्य घटाउनु पर्ने, तोकिएको समय सीमा भित्र असुल हुन नसकेमा तत्कालीन करपुरेश्वर साकोसका सञ्चालक समितिबाट असुल उपर गर्न राय प्रतिवेदनमा पेश गरिएको छ ।
४) गैरकानुनी तवरले २५ लाख २९ हजार ५८३ लाभांस वितरण :
साबिकको सम्पदा साकोसले सेयर सदस्यहरूबाट गैर कानुनी तवरले रकम असुली (नियम भन्दा अधिक सेवा शुल्क लगायत अन्य तौरतारिकाबाट) २५ लाख २९ हजार ५८३ रुपैयाँ असुल गरि लाभांस नाम दिई सेयर सदस्यहरूलाई रकम बितरण गरेको भेटियो प्रतिवेदनमा भनिएको छ । आ.ब. २०७५/७६ को तीन वटै संस्थाको लेखापरीक्षणको प्रतिवेदन बमोजिम सम्पूर्ण सम्पत्ती मुल्यांकन गर्दा कालिका सहकारी र करपुरेश्वर सहकारीले आठ लाख ५० हजार रुपैयाँमात्र खर्च मिलान गर्ने गरी अन्तिम हिसाबमा ल्याउने भनी सहकारीबाट फर्जी खर्च देखाई १७ लाख रुपैयाँ मात्र बराबरको रकम निकासी गरि बचतकर्ताको बचत दुरुपयोग गरेको देखिन्छ ।
५) सेवा केन्द्रबाट मिलान गर्नु पर्ने तीन लाख ४२ हजार २९८ रुपैयाँको रकम असुल नगरी खर्च, कर तथा स्रोतमा करकट्टी गरिएको रकम समेत हिनामिना :
उक्त साकोसका सञ्चालकहरूले कर छली सहकारी संस्थाको बासलातमा रहेको १८ लाख ९३ हजार ११३ रुपौयाँ १६ पैसा बराबरको विभिन्न करकट्टी रकम बापतको दायित्व हालसम्म पनि भुक्तान नगरी नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने कर/करकट्टी रकमलाई अपचलन गरेको पुष्टि हुन आउँछ । ब्याज तथा हर्जना रकम भुक्तानी गराउन तीन वटै एकीकरण हुँदाका सञ्चालक पदाधिकारीहरूबाट समान तवरले असुल उपर गरि भुक्तानी गर्न राय पेश गरेको प्रतिवेदनमा उल्लेख छ ।
६) शेयर सदस्यको रकम बचत खातामा मात्र :
सन्तुलन परीक्षण प्रतिवेदनमा कायम रहेको बचत रकम सात करोड १० लाख ८५ हजार ९८४ रुपैयाँ सहकारीको व्यवस्थापन र सञ्चालक समितिबाट बचत खाता मात्र खोली संकलन गरिएको गैर शेयर सदस्यको बचत रकम कुल दुई करोड ५३ लाख ४४ हजार ८२८ रुपैयाँ ४९ पैसा रहेको देखिन्छ ।
७) ब्याजदर प्रदान नगरिएको झण्डै १५ लाख सञ्चालकहरूबाट असुल्नु पर्ने :
बचत खातावाला सदस्यलाई ब्याजदर प्रदान नगरिएको झण्डै १५ लाख सञ्चालकहरूबाट असुल्नु पर्ने देखिएको छ । कालिका साकोसका सञ्चालकहरूले कुल चार हजार ४१२ वटा बचत खातामा शेयर सदस्यलाई ब्याजदर प्रदान नगरिएको बचत रकम १४ लाख ७० हजार ७१३ रुपैयाँ ५० पैसा रहेको फेला परेको छ । गैर शेयर सदस्यहरूसँग गलत तवरले मुल्यांकन गरी बचतकर्ताहरूको हित विपरित रकमहरू वितरण गरी तरलता संकट निम्ताई एकीकरण गर्ने जस्ता कार्यहरूबाट शेयर सदस्य बाहेकका सर्वसाधारणहरूलाई समेत ठगी गर्ने मनसयका साथ कारोबार सञ्चालन गरेको देखिन आएकोले साबिकका तीनवटै सञ्चालक समितिका पदाधिकारीहरूको सम्पत्ती रोक्का गरी कारबाही चलाउनुपर्ने राय पेश गरेको प्रतिवेदनमा भनिएको छ ।
८) दोर्दी सेवा केन्द्रको दुई लाख ६८ हजार २५० गायव :
समष्टिगत प्रतिवेदनमा उल्लेख गरिएको नगद मौज्दात अन्तर्गत सेवा केन्द्र दोर्दीमा रहेको नगद दुई लाख ६८ हजार २५० रहेको प्रमाण तथा विवरण छानबिनका क्रममा उपलब्ध नभएको सम्बन्धमा सेवा केन्द्रमा भएका कार्यको जिम्मेवारी कार्यकारी प्रमुखको हुनेमा सो जिम्मेवारी पुरा नभएकोले उक्त रकम तत्कालीन प्रमुख कार्यकारी अधिकृत मार्फत असुल उपर गरि लिन राय पेश गरेको प्रतिवेदनमा भनिएको छ ।

 

छापामार शैलीमा कार्यालय सारिएको :

तीन सहकारी एकीकृत भई कालिका साकोस बनेपछिको कार्यालय बेसीशहर नगरपालिका– ८ को कालिका चोकमा राखिएकोमा चार महिना नबित्दै त्यहाँबाट कार्यालय सेराचेकमा सार्दा घरबेटी नभएएको मौका छोरेर छापामार शैलीमा कार्यालय सारिएको, त्यसरी कार्यालय सार्दा व्याकअपसहितका सबै सामग्री लगिएकोमा व्याकअप त्यसै समयमा हराएको वा नियतबस लुकाईएको हुन सक्ने तत्कालीन कालिकाका सञ्चालक मृगेन्द्र घिमिरेले अघिपछि पनि भन्ने र सो अनुगमन टोलीले बयान लिदासमेत भनिएको विषयलाई नसमेटी एकतर्फी रुपमा कालिकाका तत्कालीक सञ्चालकलाई बढी दोषी देखाउन उद्दत तत्कलीन सम्पदा साकोसका सञ्चालकको कुरामात्र सुनेर सो प्रतिवेदन तयार गरिएको पूर्व कालिका साकोसका अध्यक्ष मृगेन्द्र घिमिरेको जिकिर रहेको छ । यसबाट पनि सो प्रतिवेदन एकतर्फी भएको प्रष्टिन्छ ।
कालिका साकोस एकीकरण गर्नु पूर्व कालिका साकोसमा मृगेन्द्र घिमिरे, सम्पदा साकोसमा श्रीकृष्ण लामिछाने र कर्पुरेश्वर साकोसमा मिलन शर्मा दनाई अध्यक्ष रहेको जानकारीमा आएको छ ।
प्रहरीको नियतमा आशंका कायमै :
कालिका साकोसका पीडित सेयर सदस्य तथा बचतकर्ताहरूले आफ्नो रकम फिर्ता पाउन पछिल्लो दुई वर्षदेखि प्रयासरत छन् । उनीहरूले संघर्ष समिति नै गठन गरेर यो कार्यलाई आजको परिणाम हासिल गर्न सफल भएका हुन् । यतिबेला भने फल लाग्ने प्रष्ट देखिएको छ । तर पनि राजनीतिक संरक्षण पाइरहेका सञ्चालकहरूले तिक्डम गर्न छाडेका छैनन् भन्ने पीडितहरू बताउँछन् । उनीहरूका अनुसार जिल्लाका एक प्रतिष्ठित पार्टी नेताले नै पीडितको उजुरी नलेख्न भन्दै लेखनदासलाई थर्काएको समेत पीडितहरूले बताएका छन् । उनीहरूले भने, समय कम छ भन्दै छिटो उजुरी दिन पीडितहरूलाई असोजको अन्तिम सातामै अनुरोध गरेको प्रहरीले ऐले आएर उजुरीका लागि मंसिर १० गतेसम्मको लामो म्याद दिनुको अर्थ के हो ? यसैले उजुरीका लागि दिइएको यो लामो म्याद पनि पीडकलाई उन्मुक्ति दिने प्रपञ्चको एक पाटो त होइन ? पीडितहरूले आशंका व्यक्त गरेका छन् ।
प्रहरीको मुद्दा शाखाबाटै चुहिन्छ सूचना :
जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखा पीडित मैत्री नभएको गुनासो बारम्बार सुनिदै आएको छ । त्यहाँबाट गोप्य सूचना समेत बाहिरिने गरेको तथ्य उजागर भएको छ । प्रहरी जुनकुनै पनि उजुरी पीडितको भन्दा आफ्नो अनुकुलको खोज्छ, कतिपय अवस्थामा पीडितले किटानका साथ राखेका नाम समेत हटाउने काम गर्ने गरेको छ । प्रहरीको काम आशंकित व्यक्तिहरूलाई ल्याएर अनुसन्धान गर्ने र निर्दोष देखिए छाड्न(मुद्दा नचालउन) पनि सक्छ । तर कतिपय उजुरीमा ‘यो नाम राख वा त्यो नाम नराख’सम्मको काम पनि प्रहरीले गर्ने गरेको पाइएको छ । त्यसमा मुद्दा शाखाका जिम्मेवार व्यक्ति नै संलग्न हुने गरेका छन्– जो हिजो हवल्दार छदादेखि मुद्दा शाखा हेर्थे, आज उनी सई भइसकेको छन् तर पनि उनैलाई त्यो शाखामा राखिरहनु पर्ने के हो ? यस कार्यले जिल्ला प्रहरी कार्यालयको समग्र गतिविधिमा आशंका गर्ने प्रशस्त ठाउँ दिएको पीडितहरूले बताउँदै आएका छन् ।
केन्द्र र तीनवटै शाखाका सेयर सदस्यहरू तथा बचतकर्ताहरूले उजुर दिन सक्ने :
कालिका साकोसको रकम घोटाला सम्बन्धमा त्यसको केन्द्रीय कार्यालय बेसीशहर सेराका अतिरिक्त तीन शाखाहरू मध्यनेपाल, सुन्दरबजार र दोर्दीमा रहेको सेयर सदस्यहरू तथा बचतकर्ताहरूले उजुर दिन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शेयर सदस्यहरू तथा बचतकर्ताहरूले आफूलाई पायक पर्ने प्रहरी कार्यालय(इलाका वा चौकीमा) आउँदो मंसिर १० गतेका दिनसम्म उजुर दिन सक्ने प्रहरीको भनाइ छ ।

सो सहकारीमा कुल चार हजार ५०९ जना शेयर सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति २०८० कार्तिक १०, शुक्रबार २०:३४ गते
हजुरको प्रतिक्रिया