अर्को सहकारी ठगी प्रकरणमा चार सञ्चालक पक्राउ

अर्को सहकारी ठगी प्रकरणमा चार सञ्चालक पक्राउ

एजेन्सी

@antaranganews

२०८० मङ्सिर २८ गते बिहिबार ०८:२७

तीन शाखा रहेको उक्त सहकारीका तीन हजार ६७१ बचतकर्ताबाट ३१ करोड ९७ लाख तीन हजार ९५५ रुपैयाँ मात्र ठगी भएको निवेदन परेको प्रहरीको भनाइ छ ।

चारै जनालाई कञ्चनपुर ल्याइयो

महेन्द्रनगर(कञ्चनपुर)– यस जिल्लामा तीन शाखा सञ्चालन गरेको शिवशिखर बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा सो सहकारीका चारजना सञ्चालकहरू पक्राउ परेका छन् । उनीहरूलाई यहाँ ल्याएर थप अनुसन्धान थालिएको छ ।
शिवशिखर सहकारीको ठगी प्रकरणमा पक्राउ परेका सञ्चालकहरूलाई प्रहरीले यहाँ ल्याएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले बताउनु भयो । उहाँका अनुसार पक्राउ परेका सञ्चालकहरूमा गीता शर्मा, केदार शर्मा, पुष्कर मल्ल र अमिसराज भण्डारीलाई जिल्लामा ल्याइएको हो ।
उक्त सहकारीको भक्तपुरमा केन्द्रीय कार्यालय भई देशका विभिन्न जिल्लामा शाखा कार्यालय सञ्चालनमा रहेका थिए । प्रवक्ता डाँगीले दिनु भएको जानकारी अनुसार उक्त सहकारीको यस जिल्लाको महेन्द्रनगर, त्रिभुवनबस्ती, बेलौरीमा शाखा कार्यालयहरू सञ्चालनमा थिए । ती तीनवटे शाखा केही महिनादखि बन्द छन् । ती तीनवटै शाखाका बचतकर्ताबाट उजुरी आएका आधारमा ती चार जना सञ्चालकहरूलाई जिल्ला झिकाएर कारबाही प्रक्रिया अघि बढाइएको प्रवक्ता डाँगीले जानकारी दिनु भयो ।
प्रवक्ता डाँगीले भन्नुभयो, ‘ठगी प्रकरणमा यसअघि नै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ परेका सञ्चालकविरुद्धमा जिल्लामा समेत उजुरी परेपछि उनीहरूलाई झिकाएर अनुसन्धान अघि बढाएका छौँ, सञ्चालकविरुद्ध जिल्लामा समेत उजुरी परेपछि अनुसन्धान अघि बढाएका छौँ ।’
उक्त सहकारीबाट कञ्चनपुरमा मात्रै ३१ करोड ९७ लाख तीन हजार ९५५ रुपैयाँ हिनामिना गरेको भन्दै ठगी भएको दावी सहित प्रहरीमा उजुरी परेको छ । उक्त सहकारीको कञ्चनपुरमा मात्र तीन हजार ६७१ शेयर सदस्य तथा बचतकर्ताहरूले उजुरी दिएको प्रहरी भनाइ छ ।

प्रकाशित मिति २०८० मंसिर २८, बिहीबार ०८:२७ गते
हजुरको प्रतिक्रिया