जिल्लास्तरीय चौथो तार्कुकोट मिनीम्याराथुनको उपाधि बस्नेत र तामाङले चुमे

जिल्लास्तरीय चौथो तार्कुकोट मिनीम्याराथुनको उपाधि बस्नेत र तामाङले चुमे

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज २० गते आईतबार ०७:१६

तार्कुकोटमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने उद्देश्यका साथ सिर्जनशील सिकाई केन्द्र भोटेओडारले शुरु गरेको मिनी म्याराथुन प्रतियोगितालाई दोस्रो वर्षदेखि भोटेओडार युथ सोसाईटीले प्रत्येक बर्ष गर्दै आईरहेको छ ।

उक्त दौड प्रतियोगिता यो वर्षदेखि महिलाका लागि पनि गरिएको यो प्रतियोगितालाई आउँदा वर्षमा पनि निरन्तरता दिइने छ ।

भोटेओडार(लमजुङ)– लमजुङको सुन्दरबजारमा जिल्लास्तरीय चौथो तार्कुकोट मिनी म्याराथुन (महिला र पुरुष दौड) प्रतियोगिताको उपाधि बस्नेत र तामाङले चुमेका छन् । लमजुङको सुन्दरबजार नगरपालिका– ८ स्थित अकला युथ सोसाईटी, भोटेओडारले स्थानीय पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि सो प्रतियोगिता असोज १९ गते सञ्चालन गरिएको हो ।
सो मिनी म्याराथुन प्रतियोगिताको सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले उदाटन गर्नु भएको थियो । पुरुषका लागि ६ कि.मी. दुरीको भोटेओडारमा रहेको डिडिसि ग्राउण्डदेखि तार्कुकोटसम्म रहेको कच्ची सडकलाई दौडको रुट निर्धारण गरिएको आयोजक अकला युथ सोसाईटीका अध्यक्ष अभिषेक ढकालले बताउनु भयो । उहाँका अनुसार यसैगरी, महिलाहरूका लागि ३.१ कि.मि. दुरीको भोटेओडारमा रहेको डिडिसि ग्राउण्डदेखि कालिका शिक्षा मन्दिर योगीडाँडाको विद्यालयसम्म कच्ची सडकलाई रुट निर्धारण गरिएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ ३० जना र महिला तर्फ ९ जना गरी ३९ जना धावकहरूले भाग लिएका थिए । पुरुषतर्फको सो प्रतियोगितामा बेसीशहर नगरपालिका– ११ का रामजी बस्नेत निर्धारीत दुरी ३४ मिनेट ३८ सेकेण्डमा पार गरी आफ्नो २९ जना प्रतिस्पर्धीलाई उछिन्दै उपाधि चुम्ने अवसरमा प्राप्त गर्नु भएको हो । त्यस्तै सो प्रतियोगितामा मरस्याङ्दी गाउँपालिका– ७ का आयुष बि.क.ले निर्धारित दुरी ३५ मिनेट ५६ सेकेण्डमा पार गर्दै उपबिजेता बन्नु भयो । प्रतियोगितामा पुरुषतर्फ बिजेता र उप–बिजेतालाई क्रमशः नगद १५ हजार, १० हजार नगद रुपैयाको साथ मेडल र प्रमान पत्र प्रादन गरिएको आयोजक संस्था भोटेओडार युथ सोसाईटीका अध्यक्ष अभिषेक ढकालले जानकारी दिनु भयो ।
यसैगरी, महिलातर्फको सो प्रतियोगितामा दोर्दी गाउँपालिका– ३ की सर्मिला तामाङले निर्धारीत दुरी २९ मिनेट ३० सेकेण्डमा पार गरी आफ्ना अन्य आठजनालाई पछि पार्दै उपाधि चुम्न सफल हुनु भएको हो । राइनास नगरपालिका– ३ की सोममाया परियार निर्धारित दुरी ३० मिनेट २० सेकेण्डमा पार गरी उप–बिजेता बनेको आयोजक संस्था भोटेओडार युथ सोसाईटीका अध्यक्ष ढकालले जानकारी दिनु भयो । उहाँका अनुसार प्रतियोगितामा महिलातर्फ बिजेता र उप–बिजेतालाई क्रमशः नगद १० हजार, ५ हजार नगद रुपैयाको साथ मेडल र प्रमान पत्र प्रादन गरिएको छ । उहाँले भन्नुभयो, ‘महिलातर्फको सो प्रतियोगितामा सहभागी सुन्दरबजार नगरपालिका– ८ की अस्मिता बराललाई प्रोत्साहन स्वरुप नगद १ हजार रुपैया सहितको पुरस्कार प्रदान गरियो ।’
गत वर्षसम्म पुरुषका लागि मात्र सञ्चालन गर्ने गरिएको उक्त दौड प्रतियोगिता यो वर्षदेखि महिलाका लागि पनि गरिएको जानकारी आयोजक सोसाइटीका संस्थापक संरक्षक सेयरसिंह कार्कीले बताउनु भयो । उहाँका अनुसार यो प्रतियोगितालाई आउँदा वर्षमा पनि निरन्तरता दिइने छ ।
प्रतियोगिताको समापनका अवसरमा विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवम् सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला, सोसाईटीका संस्थापक संरक्षक सेयरसिंह कार्की र आयोजक संस्थाका अध्यक्ष अभिषेक ढकालको संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
सो कार्यक्रमको अध्यक्षता आयोजक संस्थाका अध्यक्ष अभिषेक ढकालको अध्यक्षतामा भएको थियो ।
दौडको इतिहास केलाउँदा नेपाल एकीकरण अघिका बाइसे चौबीसे राज्य मध्ये लिगलिगकोटमा दौडेर पहिलो हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो । पहिले दौड प्रतियोगिता जितेर राजा हुने परम्पराबाट दौड सुरु भएको भए पनि आजकल भने विभिन्न कोटहरूमा इतिहास र परम्पराको झल्को दिने गरी मिनी म्याराथुन प्रतियोगिताहरू सञ्चालन गरिआएका छन् । यो पनि त्यही परम्परा एवम् संस्कृति बचाउने तथा स्थानीय क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने प्रयासको एक कदम भएको आयोजकको भनाइ छ ।
तार्कुकोटमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने उद्देश्यका साथ सिर्जनशील सिकाई केन्द्र भोटेओडारले शुरु गरेको मिनी म्याराथुन प्रतियोगितालाई दोस्रो वर्षदेखि भोटेओडार युथ सोसाईटीले प्रत्येक बर्ष गर्दै आईरहेको सोसाईटीका संस्थापक संरक्षक सेयरसिंह कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार भोटेओडारदेखि तार्कुकोटसम्म सञ्चालन हुने मिनी म्याराथुन प्रतियोगिताको यो वर्ष चौथो संस्करण सम्पन्न भएको छ ।
दौड हेर्न तथा आयोजक एवम् सहभागीहरूलाई उत्पे्ररित गर्नका लागि सो अवसरमा विभिन्न क्षेत्रका पदाधिकारीहरू तथा लब्धप्रतिष्ठित व्यक्तित्वदेखि सर्वसाधारणको व्यापक उपस्थिति थियो ।

प्रकाशित मिति २०८१ आश्विन २०, आईतवार ०७:१६ गते
हजुरको प्रतिक्रिया