
बेसीशहर– लमजुङबाट अन्डर– १३ फुटवल खेलका लागि राष्ट्रिय टिममा छनौट भएका जिल्लाबासी दिपेश गुरुङलाई लमजुङ सेवा समिति हङकङले आर्थिक सहयोग गरेको छ । क्होलासोँथार गाउँपालिका– ३, फुल्म्रो गाउँमा स्थायी बसोबास भएका दिपेश गुरुङको थप शैक्षिक तथा तालिमका लागि समितिले आर्थिक सहयोग गरेको हो । रेडियो मर्स्याङ्दीको सभाकक्षमा आयोजित एक कार्यक्रमका विच गुरुङलाई ९० हजार रुपैयाँ चैत २४ गते हस्तान्तरण गरिएको हो ।
गुरुङलाई लमजुङ सेवा समिति हङकङबाट पठाएको ७० हजार र सोही समितिको जिल्लास्थित समन्वय समितिबाट थप २० हजार गरी ९० हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । लमजुङ सेवा समिति हङकङ अन्तर्गत खेलकुद समितिका संयोजक सन्तोश गुरुङ र समन्वय समिति लमजुङको अध्यक्ष मिना गुरुङले लाभग्राही अर्थात खेलाडी गुरुङ र उनकी आमा डिलकाशी गुरुङलाई सो रकम हस्तान्तरण गर्नु भएको हो । गुरुङ यसअघिनै फुटवल खेलका लागि सशस्त्र प्रहरीको अन्डर– १३ फुटवल टिममा छनौट भएका हुन् ।
राष्ट्रिय टिमका लागि एपिएफ क्लवमा आवद्ध गुरुङ केही वर्ष अघिदेखिनै काठमाडौस्थित सशस्त्र प्रहरीको विद्यालयमा अध्ययन गर्दै फुटवल तालिम गर्दै आएका छन् । हाल माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका गुरुङले एपिएफबाट अन्डर– १३ को थुप्रै राष्ट्रिय खेलहरूमा भाग लिएका छन् ।
सो अवसरमा लमजुङ सेवा समिति हङकङका सल्लाहकार रामबहादुर गुरुङ, समिति सदस्य रामकुमार गुरुङ, सदस्य विनोद गुरुङ, जिल्लास्थित समन्वय समितिका कोषाध्यक्ष मनमाया गुरुङ, सदस्य इन्द्र राना, पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल लगायतको विशेष उपस्थिति थियो ।
लमजुङ सेवा समिति हङकङले जिल्लाको स्वास्थ्य, विपद, खेलकुद र शिक्षाको क्षेत्रमा पनि यसअघि सहयोग गर्दै आएको छ । समितिले विभिन्न क्षेत्रमा सेवा तथा सहयोगका लागि ४४ लाखको अक्षयकोष स्थापना गरेको छ । सोही कोषमा रहेको रकमको व्याजबाट पनि समितिले समाजिक सेवामा कामहरू गर्दै आएको समन्वय समिति लमजुङको अध्यक्ष मिना गुरुङले बताउनु भयो । उहाँका अनुसार सो समितिले जिल्लामा विभिन्न क्षेत्रमा सहयोगका लागि स्थापित अक्षयकोषलाई निकट भविष्यमा एक करोेड पु¥याउने तयारी गरेको छ ।
प्रकाशित मिति २०८१ चैत्र २४, आईतवार २०:१८ गते