
खुदी(लमजुङ)– लमजुङको मर्स्याङदी गाउँपालिका एकपछि अर्को कीर्तिमानी काम गर्न सफल बन्दै आएको छ । पालिकाका उपज, खेलकुदको क्षेत्रमा राष्ट्रिय अन्तराष्ट्रियस्तरमा नाम फैलाई जिल्लालाई चिनाउन सफल खेलाडी सावित्री भण्डारी ‘साम्बा’को सम्मानमा ‘साम्बा चोक’ नामाकरण गर्दै स्तम्भ अनावरण गरेसँगै त्यस्तो खुलासा भएको हो । मर्स्यङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा सो कार्य भएको हो ।
मर्स्यङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पालिकाद्वारा नामाकरण गरिएको ‘साम्बा चोक’मा निर्मित साम्बा तस्विर अंकित स्तम्भको आफैले जेठ ५ गते उद्घाटन गर्दैै अर्को ऐतिहासिक काम गर्न उहाँ नेतृत्वको सो पालिका सफल भएको हो । आफ्नो उदघाटन मन्तव्यमा अध्यक्ष गुरुङले खेलका माध्यमले अन्तराष्ट्रियस्तरमा समेत देश, प्रदेश, जिल्ला र गाउँपालिकालाई चम्काउन सफल खेलाडीको सम्मानका गाउँपालिकाले यो कार्य गरेको बताउनु भयो । उहाँले हाम्रो परम्परा, संस्कार, प्रचलन समाजमा योगदान गर्ने व्यक्तित्वलाई मरणोपरान्त मात्र सम्मान गर्ने छ । तर त्यस्ता व्यक्तित्वको जिवित छदै सम्मान गर्दा उचित सम्मान हुन सक्छ भन्ने हो, यसकार्यले साम्बाको सही सम्मान हुनुका साथै अन्य युवाहरूलाई कुनै एक विधामा दक्षता हासिल गर्न उचित हुने समेत प्रेरणा दिने गर्दछ भन्ने लाग्छ अध्यक्ष गुरुङले भन्नुभयो ।
यो चोकको नामाकरण हुनु नै ठूलो हो, पछिल्ला दिनमा स्तम्भ तलमाथि हुन सक्छ उहाँले उल्लेख गर्नु भयो । साम्बाको प्रगतिको कामना गर्दै साम्बाजस्तो छोराछोरी जन्माउनु पर्छ भन्ने प्रेरणा अन्य बा–आमालाई पनि प्राप्त होस् भन्नका लागि साम्बाको बा–आमालाई सम्मान गरिएको छ उहाँले भन्नुभयो । उहाँले सो क्रममा पालिकाका अन्य गहनाहरू राष्ट्रकवि, डा. हर्क गुरुङलगायत सम्मानमा पनि पालिकाको सम्मनको योजना रहेको उल्लेख गर्नु भयो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले साम्बाजस्तो व्यक्तित्वको नाउँमा चोकको नामाकरण भएकोमा उहाँको योगदानको कदर हुनुका साथै जिल्लाबासीका लागि पनि गौरवको विषय भएको उल्लेख गर्नु भयो । उहाँले यो कार्यमा सशस्त्र प्रहरीले पनि केही भूमिका रहेको स्मरण गर्नुभयो ।
सो अवसरमा फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) का बुबा बमबहादुर भण्डारी र आमा मुना भण्डारीलाई गाउँपालिकाद्वारा सम्मान गरिएको थियो । आफ्नी छोरीको नाममा चोकको नामाकरण गरेर उनकै नामले सम्मानसमेत लिन पाउँदा अत्यन्तै खुशी लागेको उहाँका बाबुआमाले बताउनुभयो ।
साम्बा चोक उद्घाटन कार्यक्रम मस्र्याङदी गाउँपालिका– ९ का वडाध्यक्ष हरिश्चन्द्र थापाको अध्यक्षतामा भएको थियो । उहाँले साम्बा हाम्रो गाउँकी चेली भएको हुँदा उनको सम्मान गरिएको हो भन्नुभयो । सो अवसरमा मस्र्याङदी गाउँपालिका– ३ का वडाध्यक्ष दूधमान तामाङले स्वागत गर्नु भएको थियो ।
यो कार्यले गर्व महसुस गरेको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् । यसअघि गाउँकार्यपालिका बैठकले सो स्थललाई साम्बा चोक नामाकरण गर्ने निर्णय गरेको थियो ।
मस्र्याङ्दी गाउँपालिका– ९ सिम्पानीको पामचोक गाउँमा जन्मिएर महिला राष्ट्रिय फुटबल टोलीकी स्टार फरवार्ड सावित्राको तस्विरसहितको स्तम्भ निर्माण गरेर ‘साम्बा चोक’ नामाकरण गरिएको छ । अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत मनाङ जाने सडकमा मर्स्याङ्दीको चर्चित खुदीबजार प्रवेशस्थलतर्फ साम्बाको जन्मवडाको चोकलाई ‘साम्बा चोक’ नामाकरण गरी स्तम्भ निर्माणका साथ उदघाटन गरिएको हो ।
सोही गाउँपालिका– ९ कोे सिम्पानीको पामचोक गाउँमा वि.सं. २०५४ जेठ १० गते जन्मिएकी सावित्रा भण्डारी नेपाली फुटबलमा ‘साम्बा’का नामले परिचित छन् । सशस्त्र प्रहरीको हवल्दार समेत रहेकी साम्बाले सन् २०१४ देखि सशस्त्र प्रहरी बल क्लबबाट आफ्नो व्यावसायिक फुटबल यात्रा सुरु गरेकी हुन् । साम्बाले हाल फ्रान्सेली लिग एन क्लब ‘एभान्ट ग्वेङगाम्प’बाट व्यवसायिक फुटबल खेलमा आवद्ध छिन् । उनले ५३ औं अन्तर्राष्ट्रिय खेलमा ५७ गोल गर्दै नेपाली महिला फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान कायम गर्न सफल भएकी थिइन् ।
उक्त स्तम्भ अनावरण कार्यक्रममा सो गाउँपालिकाका उपाध्यक्ष जुनामाया थापा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रमेश बोहोरा, सशस्त्र प्रहरी आश्रित गुल्मका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक पुरी, अनुसन्धान कार्यालयका प्रमुख विष्णुहरि पण्डित, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईं लगायतको सहभागिता थियो ।
प्रकाशित मिति २०८२ जेष्ठ ७, बुधबार ०८:२७ गते