तरुण दलको अधिवेशनमा खुकुरी हान्ने चार जनामध्ये एक पक्राउ, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

तरुण दलको अधिवेशनमा खुकुरी हान्ने चार जनामध्ये एक पक्राउ, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ १६ गते शुक्रबार १०:२९

सो घट्नामा घाइते भएका नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदिप अधिकारी १० औं दिनमा मात्र अस्पतालबाट डिस्चार्ज भएको उहाँको परिवारस्रोतले जनाएको छ ।

सो घटनामा चार जनाका विरुद्धमा किटानी जाहेरी परेको छ । पक्राउ परेका विरुद्ध जिल्ला अदालतबाट सात दिनको म्याद थप भई अनुसन्धान थालिएको प्रहरी भनाइ छ ।

बेसीशहर– लमजुङमा काँग्रेसको भातृ संगठन तरुण दलको पाँचौं अधिवेशनको उदघाटन सत्रमा खुकुरी प्रहार गरी फरार रहेकामध्ये एक व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । घटनाको १३ औं दिन जेठ १४ गते उनलाई पक्राउ गरेको प्रहरीले बताएको हो ।
तरुणदलको जिल्ला अधिवेशनमा प्रतिनिधि छनौटका विषयमा विदाद लम्बिएर अधिवेशन स्थागन हुने स्थिति उत्पन्न हुँदै गर्दा अधिवेशन अघि बढाउन खोज्दा विवाद चर्किएको थियो । सो विवादमा एक पक्षले अर्को पक्षमाथि खुकुरी प्रहार गर्दा चार जना घाइते भएका थिए । सो घट्ना जेठ ३ गते भएको हो ।
प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति लमजुङको मध्य नेपाल नगरपालिका– ६ का ४२ वर्षीय किरण गुरुङलाई भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले बताउनु भयो । उहाँका अनुसार प्रहरीले नियन्त्रणमा लिएका उनलाई सोही दिन जिल्ला अदालत पेस गरेर ७ दिन म्याद थप लिई ज्यान मार्ने उद्योग सम्बन्धी कसुर मुद्दामा अनुसन्धान सुरु भएको छ ।
पीडितपक्षबाट चार जनाका विरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले खोजी गरेको हो । अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक तेलीले जानकारी दिनुभयो । उहाँका अनुसार बेसीशहर नगरपालिका– ८ स्थित प्रगतिटोल तमु सामुदायिक छोंज धिं.को कम्पाउण्ड बाहिर भएको उक्त घटनामा संलग्न अन्यको खोजतलास भइरहेको छ ।
घटना भएको तेस्रो दिनपछि जिल्ला प्रहरी कार्यालयले बल्लतल्ल जेठ ५ गते जाहेरी दर्ता गरेको प्रहरीले राजनीतिक दबाबमा पक्रने जाँगर देखाए भन्ने आरोप खेपिरहेको बोलमा एकलाई पक्राउ गरेको हो ।
पीडितकातर्फबाट मध्यनेपाल नगरपालिका– ७ का किरण गुरुङ, सोही वडाका धनबहादुर तामाङ, राइनास नगरपालिका– ६ का गणेश गुरुङ र मस्र्याङ्दी गाउँपालिका– ५ का भूपेश गुरुङलाई ज्यान मार्ने उद्योग अन्तर्गत प्रहरीमा जाहेरी दिइएको हो ।
सो घट्नामा घाइते भएका नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदिप अधिकारी १० औं दिनमा मात्र अस्पतालबाट डिस्चार्ज भएको उहाँको परिवारस्रोतले जनाएको छ ।
त्यस समयमा घाइते हुनेमा सुदिप अधिकारी बाहेक बेसीशहर नगरपालिका– ९ का वडाध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, कांग्रेसका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, र नेपाल तरुण दलका सदस्य धन घले रहेको घाइते किशोरजङ्ग बस्नेतले बताउनु भयो ।
यसैबीच, उक्त खुकुरी काण्डको घट्ना पछि जेठ १० गतेसम्मका लागि स्थगन भएको तरुण दलको निर्वाचन अनिश्चितकालका लागि स्थगन भएको सूचना निर्वाचन अधिकृत एवम् अधिवक्ता विजयप्रकाश अधिकारीले नेपाली काँग्रेसको जिल्ला समितिको कार्यालयमा जेठ ९ गते टाँस गरेर जानकारी दिएका छन् ।

प्रकाशित मिति २०८२ जेष्ठ १६, शुक्रबार १०:२९ गते
हजुरको प्रतिक्रिया